
काठमाडौं । अमेरिका र बेलायतले आज आयात कर घटाउने सम्झौता घोषणा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
बेलायती सरकारले गएको महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशमा आयात कर लगाएपछि यस्तो सम्झौताको खोजी गरिरहेको जनाएको थियो ।
ट्रम्पले बुधबार राति सामाजिक सञ्जालमा यस्तो सम्झौताको संकेत गरेका छन् । उनले लेखेका छन्, “भोलि ह्वाइट हाउसको ओभल अफिसमा बिहान १० बजे ठूलो पत्रकार सम्मेलन हुनेछ । यो एउटा ठूलो र सम्मानित देशका प्रतिनिधिसँगको महत्त्वपूर्ण व्यापार सम्झौतासम्बन्धी हो । यो अब हुने धेरै सम्झौतामध्ये पहिलो हो ।”
यद्यपि, ट्रम्पले आयात कर नभनेर व्यापार सम्झौता भन्ने शब्द प्रयोग गरेका छन् । तर, यो सम्झौता त्यत्तिको विस्तृत नभई केही खास वस्तुमा आयात कर घटाउनेमा सीमित हुने बीबीसीले जनाएको छ ।
बेलायती पक्षले विशेष गरी बेलायती इस्पात र कारहरूमा लाग्ने आयात कर घटाउन चाहेको जनाइएको छ । अमेरिकी पक्षले भने फार्मास्युटिकल र प्रविधिको क्षेत्रमा केही प्राप्त गर्न चाहेको छ ।