site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले हवाई आक्रमण गरेयता ४१ सर्वसाधारण मारिए, ८९ जना घाइते

काठमाडौं । भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ । भारत र पाकिस्तानबीचको बढ्दो टकराबले भयानक युद्धको रुप लिनसक्ने आशंका गरिएको छ ।

भारतले मंगलबार राति स्थानीय समयअनुसार १ः०५ देखि १ः३० बजेसम्म पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।

भारतले मंगलबार हवाई आक्रमण सुरु गरेयता दुई देशको आक्रमणमा परी दुवैतर्फ कुल ४१ जना सर्वसाधारण मारिएका छन् । पाकिस्तान र भारतको आक्रमणमा परी यस अवधिमा दुवैतर्फ गरी कुल ८९ जना घाइते भएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बुधबार पत्रकार सम्मेलन गरी भारतीय आक्रमणमा परी पाकिस्तानमा २६ सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको जनाए ।

पाकिस्तानी सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी समेत पत्रकार सम्मेलनमा गरेका थिए ।

समाचार एजेन्सी रोयटर्सले साझा गरेको भिडियोमा पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भनेका छन्, “हालसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमानहरू– जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन खसालिएको छ ।”

भारतीय आक्रमणमा अतिवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएको बताएका छन् ।

जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार विज्ञप्ति जारी गर्दै मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी भारतीय आक्रमणमा परी मारिएको जनाएको छ ।

जैश–ए–मोहम्मदले मसूद अजहरका तीन नजिकका सहयोगीहरू र ती सहयोगीहरूमध्ये एककी आमा पनि आक्रमणमा मारिएको जनाएको छ ।

विज्ञप्तिअनुसार पाकिस्तानको बहावलपुरकोसुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तहरूको मृत्यु भएको हो ।

फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० भारतीय सैनिक मारिएका थिए ।

बुधबार भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बीचमा ‘अपरेसन सिन्दुर’ चलाएको बताएकी थिइन् ।

“यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेसनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको थियो,” उनले भनिन् ।

भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना भारतीय सर्वसाधारणको मृत्यु भएको जनाएको छ । पाकिस्तानले गरेको गोलाबारीमा परी ४३ जना भारतीय घाइते भएका छन् ।

जम्मू कश्मीरको पुंछ र तंगधार क्षेत्रका नागरिकहरू गोलाबारीबाट प्रभावित भएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro