
मकवानपुर । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्रि सडकखण्डमा यात्रुवाहक सवारीसाधन दुर्घटना हुँदा नौजना घाइते भएका छन् । ६ जनाको अवस्था गम्भीर छ ।
मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको सवारीसाधन आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ ।
घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ । रासस