
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद्को बैठक बसेन । प्रधानमन्त्रीको सचिवालयले अचानक सूचनामार्फत मन्त्रिपरिषद् बैठक स्थगित भएको जनायो ।
नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ पनि शुक्रबारकै लागि तय भएको थियो । मन्त्रिपरिषद् बैठकसँगै शपथ पनि स्थगित भयो ।
नवनियुक्त राज्यमन्त्री खर्बुजाले शपथ स्थगित हुनुमा खासै कारण नरहेको बताए । “मन्त्रिपरिषद् बैठक आज नबस्ने भएकाले शपथ सरेको जानकारी आएको छ,” उनले भने, “अरू कारण केही होइन ।”
गर्बुजा बुधबार राज्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसकै सांसद पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेपछि रिक्त पदमा उनले जिम्मेवारी पाएका हुन् ।
मन्त्रिपरिषद् बैठक र शपथ स्थगित भएपछि विभिन्न कोणबाट चर्चा समेत भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने समय अभावका कारण आज बैठक बस्न नसकेको बताए ।
“समय अभावका कारण बैठक नबसेको हो । आज अर्को कार्यक्रम पनि थियो । अरु कुनै विषय होइन,” उनले बाह्रखरीसँग भने,
“बिहान ११ बजे आठौँ राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा, महेन्द्र पुलिस क्लबमा कार्यक्रम थियो । दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ ।”
एक मन्त्रीका अनुसार आजको बैठकको एजेन्डाबारे जानकारी गराइएको थिएन । नीति तथा कार्यक्रम अघिल्लो मन्त्रिपरिषद्बाटै पारित भएकाले आज बस्नै पर्ने जरुरी पनि नभएको उनी बताउँछन् ।
“आजको बैठकको एजेन्डाबारे जानकारी गराइएको थिएन,” ती मन्त्री भन्छन्, “नीति कार्यक्रम अघिल्लो बैठकबाटै पारित भएको थियो । बसिहाल्नुपर्ने विषय नभएर पनि हुन सक्छ ।”
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर भने नियुक्त गरेको छैन ।