
अहिले अधिकांश नागरिकमा ‘फ्रस्टेसन’ छ । त्यो फ्रस्टेसन मान्छेले कतै न कतै पोख्छ । परिवार, साथीभाइ अथवा डिजिटल प्लेटफर्ममार्फत भए पनि फ्रस्टेसन पोखिन्छ ।
केही व्यक्ति यस्ता हुन्छन्, जो आफ्नो ‘स्ट्रेस’, गुनासा र फ्रस्टेसन पोख्दा अलि बढी चर्चा र धेरैको ध्यान कसरी तान्न सकिन्छ भन्नेतर्फ ध्यान दिन्छन् ।
मान्छेले आफ्नो फ्रस्टेसन सार्वजनिक रूपमा पोख्नुको कारण सकेसम्म धेरैभन्दा धेरैमा पुगोस्, सरोकारवालापक्षले सुनोस् र आफूले भनेको कुरा लागु होस् भनेर हो । सम्बन्धित व्यक्ति र संस्थाले भित्री तहसम्म आफ्नो गुनासो पुगोस् भनेर पोख्ने काम गरिरहेको हुन्छ ।
आफ्नो गुनासो सुनाउन सबैभन्दा सजिलो तरिका ‘पब्लिक फिगर’ – विशेष गरी कलाकारलाई लक्षित गर्दा हुन्छ भन्ने सोचले काम गरिरहेको देखिएको छ । जो प्रत्यक्ष रूपमा त्यो विषयमा संलग्न हुनु हुन्न, अप्रत्यक्ष रूपमा आफ्नो अभिव्यक्ति राख्दा मात्र पनि अनेक किसिमका गालीगलौज गर्ने काम भइरहेको छ ।
तल्लोस्तरमा उत्रिएर खराब कुरा लेखिरहेको देखिन्छ । यसले नागरिकमा कुन तहमा निराशा छ भन्ने देखिन्छ । सुरक्षा पन्तलाई गाली गरिनुको मुख्य आधार पनि यही नै हो ।
नागरिकको गुम्सिएको आक्रोश
सुरक्षालाई गाली गर्नुको कारण उहाँले हृदयेन्द्र शाहलाई चलचित्र उद्योगमा स्वागत छ, फिल्म खेल्न आउनुस् भनेर भनेकै कारण हो भन्ने मलाई लाग्दैन । यो फ्रस्टेसन नागरिकमा धेरै पहिलादेखि नै विकास भएर गुम्सिएर बसिरहेको थियो । अहिले बाहिर आउनुको यो त निहुँ मात्रै हो । उसले जेसुकै भनेको भए पनि गाली आउँथ्यो नै । यो त बहाना मात्रै भयो ।
सुरक्षाले कसैविरुद्ध अभ्रद्र कुरा गरेको छैन । अपाच्य कुरा पनि गरेको छैन । आफ्नो विचार राखेको छ । मिठोसँग कला क्षेत्रमा स्वागत छ भनेर भनेको मात्रै छ । नागरिकमा रहेको फ्रस्टेसन जम्मा भइरहेको थियो, त्यो अहिले बाहिर आएको मात्रै हो ।
अहिले नाम लियो भने मात्रै पनि गाली खाने अवस्था छ । अहिले हामी नाम लिन पनि नसक्ने अवस्थामा छौँ । कलाकारलाई गाली गर्दा धेरैको ध्यान खिचिन्छ र ‘अटेन्सन’ पाइन्छ भन्ने मनोविज्ञानअनुसार गाली गरिरहेको जस्तो लाग्छ ।
कला क्षेत्रमा स्वागत छ भनेर भनेकाले मात्रै यो कुरा भइरहेको होइन । यो नभएर अरू नै केही बोलेको भए पनि यस्तै गाली आउँथ्यो ।
भारतमा सैफ अली खान पूर्वराजपरिवारका सदस्य हुन् । तर, उनी बलिउड सिनेमामा आए । अभिनेता भए । अहिले संसारभर उनको नाम र इज्जत छ । बलिउडमा त झनै उनको ठूलो इज्जत छ ।
पूर्वराजपरिवारमा कला मोह
यदि, पूर्वराजपरिवारका कुनै पनि सदस्यमा सिनेमामा आउने रहर छ भने के नराम्रो हो र ? यो त झन् राम्रो कुरा हो । अझ नियालेर हेर्ने हो भने पूर्वराजादेखि पूर्वरानीसम्मले नेपाली कलासाहित्यमा कलम चलाएको देखिन्छ ।
पूर्वराजा महेन्द्र शाहले ‘मबीबी शाह’को साहित्यिक नामबाट थुप्रै कविता र गीत लेख्नुभएको थियो । रानी ऐश्वर्यका ‘चाँदनी शाह’को साहित्यिक नामबाट कति गीत लोकप्रिय छन् । ज्ञानेन्द्र शाहले ‘जी शाह’को नामबाट गीत लेख्नुभएको छ ।
यसरी गीत र कविता लेख्नु भनेको प्रत्यक्ष/परोक्ष रूपमा कला क्षेत्रप्रति ठूलो सम्मान हो । उहाँहरूले यो क्षेत्रलाई कति उच्च स्थानमा राख्नुहुन्छ भन्ने कुरा दर्साउँछ । कला भनेको सबैले गर्न सक्ने काम होइन भनेर वक्तव्य नै आउँथे । उहाँहरूको व्यवस्थामा कलाकारलाई सम्मान नै थियो ।
तर, अहिले कसैलाई सिनेमा उद्योगमा स्वागत छ भनेकै भरमा भन्दा पनि समग्रमा अहिलेको व्यवस्था हामीलाई स्वीकार्य छैन भन्ने मनोविज्ञानबाट विकास भएजस्तो लाग्छ । अहिले व्यवस्थालाई नरुचाउनेहरूले अलि बढी गाली गरेजस्तो लाग्छ ।
उहाँले हृदयेन्द्रलाई त म डक्टरजस्तो देख्छु, त्यो खुबी छ कि भनेको भए पनि सायद गाली नै खानुपर्ने अवस्था आउँथ्यो होला । त्यसैले यसमा व्यवस्थाविरुद्धको आक्रोश हो जस्तो लाग्छ ।
व्यक्ति स्वयं जो पूर्वराजा हो, पूर्वराजकुमार हो – उसलाई चासो छैन । तर, उनीहरूका समर्थकले बिनाकारण गाली गरिरहेका छन् ।
अहिले हामी रोजगारी र अवसर मात्रै होइन, त्योभन्दा अगाडि न्यूनतम आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य अथवा गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकताकै लागि संघर्ष गरिरहनुपरेको छ । रोजगारी त धेरैपछिको कुरा हो । सवारीदेखि स्वास्थ्य, आर्थिक असुरक्षाजस्ता कुराबाट भएको फ्रस्टेसन कहाँ पोखौँ भन्ने भइरहेको हुँदो रहेछ । मेरो अवस्था यस्तो छ, अब आउँदो पुस्ताको भविष्य के होला भन्ने त्रास नागरिकमा छ । नयाँ अवसर पाइयोस्, देशभित्रै आर्थिक र सामाजिक सुरक्षा होस् भन्ने कुराको खोजी गर्दा नपाएपछि जम्मा भएको आक्रोश हो यो ।
राज्यले यो आक्रोश कहाँबाट कसरी विकास भइरहेको छ भनेर खोजेर समस्याको समाधान गर्न आवश्यक छ । यो प्रवृत्तिलाई कम गर्न कसरी सकिन्छ, उहाँहरूको माग के हो भनेर राज्यले गम्भीर भएर सोच्नुपर्छ । जनताको आक्रोश कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर राज्यले गम्भीरता देखाउनुपर्छ ।
अहिले जे भइरहेको छ, यसलाई नजिकबाट बुझ्ने अवसर पनि हो राज्यका लागि ।
मानसिक तनाव
अनाहकमा यसरी आउने तल्लोस्तरको गालीबाट कलाकारले भोग्ने मानसिक तनाव वर्णन गर्नै नसक्नेस्तरको हुन्छ । हामी प्रायः हरेक कलाकार कुनै न कुनै समयमा कुनै न कुनै तहको यस्तो गाली र तनाव सहँदै र भोग्दै आएका छौँ । अहिले भएजस्तै कुनै समय ‘एक्सिट्रम’ तहमा होला, कुनै समय केही ‘मिडल वे’मा त कहिले सामान्य होला । तर, कलाकारले यसरी गाली खाइरहेका हुन्छन् ।
जुन स्तरको गाली आउँछ, उसले भोग्ने तनाव पनि त्यही तहको हुन्छ । बाहिरबाट देख्नेलाई एक दिन, दुई दिन, तीन दिन आउने गाली त हो भन्नेजस्तो हुन्छ । केही दिन गाली आयो, सकियो भन्ने हुन्छ ।
तर, यथार्थमा जो पीडित हो उसले भोग्ने ‘ट्रमा’ यसरी बल्झिन्छ, त्यो सोच्नै नसकिने खालको हुुन्छ । जबजब यस्ता घटना घट्छन्, त्यो ट्रमा बल्झिन्छ र कलाकारले तनाव झेल्नुपर्छ ।
अहिले कतिजनाले ‘खोइ त कला क्षेत्रबाटै समर्थनमा आवाज उठेको छैन, कसैले केही लेखेन/बोलेन’ भनेको मैले देखिरहेको छु । जो यो अवस्थाबाट गुज्रिएको छ, उसलाई त्यति सजिलो छैन, कसैलाई पर्दा बोलिहाल्न । यति गहिरोसँग यो तनावबाट गुज्रिएर आएको हुन्छ कि, मैले केही बोलेँ भने फेरि मैले पहिला भोगेको समस्या झेल्नुपर्छ भन्ने कुराले सताउँछ ।
मैले पहिला पनि यस्तै समस्या झेलेको थिएँ, मलाई कसैले साथ दिएको थिएन, फेरि त्यस्तै अवस्था आउँछ भन्ने डरले पटकपटक झम्टिन्छ ।
सबै मान्छेको एकैखालको ‘स्ट्रेन्थ’ हुँदैन । सबैको सोच्ने र सामना गरिरहेको समस्यालाई ‘हेन्डलिङ’ गर्ने एकैखालको क्षमता हुँदैन । सबै व्यक्ति यस्तो अवस्थाबाट गुज्रिएपछि फेरि काम गर्न सक्छ भन्ने पनि हुँदैन । सबैमा समस्यालाई ‘ट्याकल’ गर्ने तरिका र क्षमता एकै हुँदैन ।
यस्तो अवस्थामा सबै मान्छे फेरि पुरानै अवस्थामा जस्तो नर्मल नभइदिन पनि सक्छ । तनावबाट गुज्रिरहेको मान्छेले जस्तोसुकै कदम चाल्न पनि सक्छ ।
त्यसैले हामीले केही टीकाटिप्पणी गर्दा, आफ्नो विचार राख्दा, सामाजिक सञ्जालमा कमेन्ट गर्दा वा कुनै व्यक्तिलाई प्रहार गर्दा १० पटक विचार गर्नुपर्छ । ‘पब्लिक प्लेटफर्म’मा आफ्नो विचार वा टिप्पणी राख्दा म को हुँ, मेरो धरातल के हो, म के सोच्छु र कस्तो परिवार, सोच, शिक्षा र संस्कारबाट आएको छु भन्ने कुरा देखाइरहेको हुन्छ भन्ने कुरा पनि भुल्न हुँदैन ।
यसले हामी कस्तो समाजमा छौँ, हामीभन्दा पछिल्लो पुस्ताले के सिक्ने र आउँदो पुस्ता हामी कस्तो तयार पार्दै छौँ भन्ने कुरा पनि प्रस्ट पार्ने भएकाले यसमा हेक्का राख्नुपर्छ । हाम्रो आउँदो पुस्ता कस्तो हुने यसले निर्धारण गर्ने भएकाले आफ्नो विचार राख्दा र कमेन्ट गर्दा सोचविचार पुर्याउनुपर्छ ।
सबैभन्दा माथिको क्षेत्र
कला क्षेत्र सबैभन्दा माथिको क्षेत्र हो । म डा. भोला रिजालले भनेको कुरा सम्झिन्छु । एउटा अन्तर्वार्तामा उहाँले भन्नुभएको थियो– यो देशमा कसैलाई सबैभन्दा माथि राख्न मिल्छ भने त्यो म पनि होइन, डाक्टर, इन्जिनियर वा अरू कुनै पनि पेसा वा व्यवसाय होइन । कलाकार, चलचित्रकर्मी अथवा कलाक्षेत्रमा आफ्नो जीवन समर्पित गर्नेहरू हुन् । मेरो नजरमा कलाकार सबैभन्दा माथिल्लो दर्जामा आउँछन् भनेर भन्नुभएको थियो । उहाँको त्यो भनाइले मेरो जीवनमा ठूलो प्रभाव पारेको छ ।
त्योभन्दा अगाडि म कला क्षेत्रमा छु, चलचित्र खेल्छु भन्दा ‘प्राउड फिल’ नहुने अवस्थाबाट गुज्रिरहेको थिएँ । त्यसपछि– ए होइन, चलचित्रकर्मलाई प्राइड (उत्सव)का रूपमा लिनुपर्छ भनेर अनुभव गरेर अगाडि बढेको मान्छे हुँ ।
डा. भोला रिजालको शब्द सापटी लिएर म भन्न चाहन्छु– यो सबैभन्दा माथिल्लो दर्जाको काम हो । जोकोही कलाकार भएर जन्मिदैन । जो कसैले त्यो उपहार लिएर आएको हुँदैन ।
कला क्षेत्र आफैँमा सम्मानित र पूजित क्षेत्र हो । संसारमा आफ्नो देश र संस्कृति चिनाउने माध्यम हो । त्यसैले यो क्षेत्रमा लाग्न ‘बेस्ट’ र ‘गिफ्टेड’ मान्छेले मात्रै अवसर पाउँछ । जसको भाग्यमा लेखेको हुन्छ, त्यो व्यक्ति मात्रै चलचित्र कर्म गर्न आइपुग्छ ।
(अभिनेत्री सुरक्षा पन्तमाथि सामाजिक सञ्जालमा गरिएको नकारात्मक टिप्पणीका विषयमा अर्की अभिनेत्री केकी अधिकारीसँगको कुराकानीमा आधारित)