
काठमाडौं । प्यालिस्टिनको गाजा पट्टीमा गत २४ घण्टामा इजरायली हवाई आक्रमणमा ५१ जना प्यालिस्टिनीहरू मृत्यु भएको छ । अस्पतालहरूबाट २४ घण्टामा ५१ प्यालिस्टिनीहरूको शव फेला परेको स्थानीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै १८ महिने इजरायल–हमास युद्धमा ५२ हजार २४३ प्यालिस्टिनीहरूको मृत्यु भएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।
इजरायले गत मार्च १८ मा हमाससँगको युद्धविराम सम्झौता तोडेर आकस्मिक बमबारी सुरू गरेपछि दैनिक हवाई हमला गरिरहेको छ । इजरायली सेनाले गाजा क्षेत्रमा बफर जोन विस्तार गर्दै दक्षिणी सहर राफाहलाई घेराबन्दीमा लिएको छ । हाल गाजा क्षेत्रको करिब ५० प्रतिशत भूभाग इजरायलले नियन्त्रणमा राखेको छ ।
इजरायले गाजाका २० लाख प्यालिस्टिनीहरूलाई खाद्यान्न, औषधिलगायत सबै प्रकारका अत्यावश्यक सामानहरूको आयात करिब ६० दिनदेखि अवरुद्ध गरिरहेको छ ।
आपतकालीन सहायता समूहहरूले अत्यावश्यक सामानहरूको आपूर्ति चाँडै सकिने अवस्थामा रहेको बताएका छन् । हजारौँ बालबालिका कुपोषणको सिकार भएको समाचारमा उल्लेख छ ।