
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले शिक्षक आन्दोलनमा सरकारले दमन गरेको भन्दै भर्त्सना गरेका छन् । सोमबार (वैशाख १५) प्रतिनिधिसभा बैठकमा उनले शिक्षकका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाएका हुन् ।
“शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो । आन्दोलन गरिरहेका शिक्षकहरूमाथि पानीको फोहोरा हान्दा दर्जनौँ शिक्षकहरू घाइते हुनुभएको छ । र, आज अस्पतालमा उपचार गरिरहनुभएको छ,” उनले भने ।
पुराना ऐन–कानुनका कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उनले उल्लेख गरे । सरकारले शिक्षकलाई धोका दिइरहेको उनले टिप्पणी गरे ।
शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल