-1718627794.jpg)
काठमाडौं । देशका विभिन्न स्थानमा आइतबार (वैशाख १४)देखि वर्षाको पूर्वानुमान छ । कोसीदेखि गण्डकी प्रदेशसम्म वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान बदली (आकाशमा बादल) हुनेछ । दिउँसो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् । “भोलि (आइतबार)देखि वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भनिन्, “भोलिभन्दा पर्सि (सोमबार) वर्षाको सम्भावना बढी छ ।”
मध्यमसम्म वर्षाको सम्भावना
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइतबारदेखि नेपाल भित्रन लागेको उनले जानकारी दिइन् । त्योसँगै पश्चिमी र स्थानीय वायुको प्रभावले हावाहुरी, मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना उनले बताइन् ।
उनका अनुसार, देशका धेरै ठाउँमा वर्षाको सम्भावना आइतबारभन्दा सोमबार बढी छ । “भोलि हल्का वर्षाको सम्भावना छ भने पर्सि मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ,” उनले भनिन् ।
गण्डकीदेखि पश्मिचतर्फ पनि केही स्थानमा वर्षाको सम्भावना छ । तर, त्यहाँ कोसीदेखि गण्डकीसम्मको तुलनामा कम सम्भावना रहेको उनले स्पष्ट पारिन् ।
हाल प्रिमनसुन अवधि हो । यो बेला विशेष गरी पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा दिउँसो/अपराह्नको समयमा वर्षाको सम्भावना हुन्छ । असिना पनि पर्न सक्छ ।
काठमाडौंमा पनि पानी पर्ने
काठमाडौं पनि पानी पर्ने महाशाखाको पूर्वानुमान छ । काठमाडौंमा आइतबार खण्डित वर्षाको सम्भावना छ । “काठमाडौंमा पनि वर्षा हुने देखिन्छ । भोलिभन्दा तुलनात्मक रूपमा पर्सि बढी सम्भावना छ,” उनले भनिन्, “भोलि खण्डित वर्षाको सम्भावना छ ।
कस्तो हुन्छ वर्षा ?
यही वैशाख पहिलो साता देशका धेरै स्थानमा वर्षा भएको थियो । त्यति बेला पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासहितको पानी पार्ने प्रणालीको प्रभाव थियो । पश्चिमी वायु सक्रिय थियो । प्रिमनसुनमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहने नै भयो । यसपटक पनि त्यस्तै स्थिति छ ।
“यसअघिको जस्तैजस्तै वर्षाको सम्भावना छ । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आउन लागेको छ । पश्चिमी वायु सक्रिय हुने र स्थानीय वायुको प्रभाव रहँदा वर्षा हुने देखिन्छ,” मौसमविद् महर्जनले भनिन् ।
यो बेला मनसुनको जस्तो झरी पर्ने सम्भावना हुँदैन । तर, ठ्याक्कै समय भन्न नसकिने उनले स्पष्ट पारिन् । “मनसुनको जस्तो धेरै बेर वर्षा हुने त हुँदैन, प्रणाली आउने/जाने भइरहने हुन्छ । दुई/तीन घण्टासम्म रहने (वर्षा) हुन्छ,” उनले भनिन्, “उताको जलवाष्पयुक्त हावा र यताको प्रणाली सक्रिय हुँदा पर्ने/रोकिने हुनसक्छ ।”
वर्षासँगै तापक्रम केही घट्ने मौसमविद्को भनाइ छ । केही दिनयता देशभर प्रचण्ड गर्मी छ ।