
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रविरुद्ध आवाज उठाउन थालिएको भन्दै यसका पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले नेताहरूले मात्र लोकतन्त्र नजोगाउने टिप्पणी गरे ।
लोकतन्त्र दिवसका अवसरमा बिहीबार (वैशाख ११) काठमाडौंमा चियापान आयोजना गर्दै उनले नेपालको विकास विकेन्द्रीकरणबाट हुने भन्दै नेताहरूको केन्द्रीकृत सोच बाधक बनिरहेको बताए ।
“संघीय लोकतान्त्रिक गणतन्त्र लागु भएपछि पनि नेताहरूको दिमागबाट केन्द्रीकृत सोच निकाल्न सकिएन । त्यसैले अहिले नागरिकमा निराशा देखिँदै छ,” डा. शशांकले भने, “सातवटा प्रदेश बनेका छन्, तर प्रदेशलाई आफ्नै ढंगले चल्न कानुन र स्रोतसाधन दिन सकिएको छैन । हुनुपर्ने विकास भएको छैन ।”
कांग्रेस संस्थापन पक्षका सात नेतालाई साथमा राखेर कार्यकर्तासँग उनले ‘लोकतन्त्र जोगाउनुपर्छ कि पर्दैन ?’ भन्दै प्रश्न गरे ।
कार्यकर्ताले एक स्वरमा भने, “जोगाउनुपर्छ, जोगाउनुपर्छ ।”
“हो, लोकतन्त्र जोगाउनुपर्छ । त्यसका लागि हामी एकजुट भएर लोकतन्त्रका पक्षमा आवाज उठाउनुपर्छ,” उनले भने, “मैले यही सन्देश दिनका लागि र नयाँ वर्षसँगै लोकतन्त्र दिवसको शुभकामना दिनका लागि तपाईंहरूलाई यहाँ बोलाएको हुँ । धन्यवाद !”
उनले वर्तमान व्यवस्थाका पक्षमा जनमत बनाउन नेताहरूले सोच बदल्नुपर्ने बताए । कार्यकर्ताले पनि नेताकेन्द्रित हुन छोड्नुपर्नेमा उनले जोड दिए ।
चियापानमा कांग्रेस संस्थापन पक्षका प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशरण महतसहित नेता–कार्यकर्ताको उपस्थिति थियो ।