
काठमाडौं । विगत नौ वर्षदेखि विभिन्न स्थानमा पदयात्रा गर्दै आएको स्रष्टाको समूह स्रष्टा पदयात्रा नेपालले आफ्नो वार्षिकोत्सव मनाउँदै दुई सर्जकलाई सम्मान गरेको छ । शनिबार (वैशाख ६) गोकर्णेश्वर नगरपालिका–५, जम्बुडाँडा क्षेत्रमा आयोजित कार्यक्रममा गोकर्णेश्वरका प्रमुख दीपकप्रसाद रिसालले स्रष्टाद्वय खोलाघरे साहिँलो र विदुर तामाङ लामालाई सम्मान गरे ।
कार्यक्रममा चिरञ्जीवी देवकोटाको हाइकुसंग्रह ‘उज्यालो आशा’ र शान्ता देवकोटाको मुक्तककृति ‘अभ्यागत’ लोकार्पण पनि गरियो ।
मेयर रिसालले साहित्यिक कार्यक्रममा सहभागी हुँदा आफूलाई खुसी लाग्ने गरेको बताए । नगरपालिकाले नेपाली साहित्य क्षेत्रमा गर्दै आएको कार्यबारे उनले चर्चा गरे । उनले भने, “नेपाली भाषासाहित्य र कलाको संरक्षणका लागि हामीले सक्दो काम गर्दै आएका छौँ ।”
पदयात्राका अध्यक्ष साहित्यकार शीतल गिरीले नौ वर्षमा ९३ विभिन्न स्थानका पैदलयात्रा गरिएको जानकारी गराए ।
कार्यक्रममा कविहरूले कवितावाचन पनि गरेका थिए ।