site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लगातार दोस्रो हारपछि चितवनको यात्रा कठिन

काठमाडौं । राम्रो सुरुआतका बाबजुद एफसी चितवनको लगातार दोस्रो हार व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा प्लेअफ सम्भावना पनि कठिन बनेको छ ।

काठमाडौं रेजर्सले सोमबार १० खेलाडीमा सीमित एफसी चितवनलाई २–० ले हराएको हो । यससँगै काठमाडौंले प्लेअफ सम्भावना जीवितै राख्दा चितवनको भने संकटमा परेको छ । पछिल्ला दुई सिजनमा नै चितवन प्लेअफमा पुग्ने सकेका थिएन । यद्यपि, यस संस्करणमा राम्रो सुरुआत गरे पनि लय जारी राख्न नसक्दा चितवन फेरि संकटमा देखिएको छ ।

काठमाडौंको जितमा बाकारी माने र अमाडौ डियोपले समान एक गोल गरे । प्लेअफ सम्भावना जीवित राख्न काठमाडौंलाई चितवनविरुद्ध जित्नुपर्ने दबाब थियो । त्यसमा काठमाडौंले सफलता पनि पाएको छ । दशरथ रंगशालामा भएको खेलमा चितवनले पनि अवसर गुमाउँदा हार सामना गरेको हो ।

कप्तान अन्जन विष्टले चितवनलाई अग्रता दिलाउन पाएका थिए । तर, उनी ती अवसरमा गोल गर्न सफल भएनन् । २२औँ मिनेटमा भिक्टर मानसारेको कटब्याकमा अन्जनको पहिलो टच पोस्टको माथिबाट बाहिरियो । फेरि अन्जनले अर्को अवसर सदुपयोग गर्न सकेनन् । अन्जनले पेनाल्टीक्षेत्र भित्रबाट गरेको प्रहार काठमाडौंका गोलकिपर चेइख गेयेले उत्कृष्ट बचाउ गरे ।

काठमाडौंले ३२औँ मिनेटमा बाकारिमानेको फ्रिकिक गोलबाट अग्रता लियो । मानेले दोस्रो बार च्याप्दै गरेको फ्रिकिक टप कर्नर हुँदै गोलमा परिणत भयो । यससँगै काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लियो । ४६औँ मिनेटमा पनि काठमाडौंका बुटा टुरेले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

कमल श्रेष्ठको क्रसमा चितवनका डिफेन्डर नोडिर माभलोनोभले हेडरमार्पmत क्लियर गरेको बल टुरेको खुट्टामा पुग्यो । तर, अनमार्क टुरेको प्रहार फितलो रह्यो । चितवन ५६औँ मिनेटमा १० खेलाडीमा सीमित भयो । कर्नरमा बल आउट भएपछि काठमाडौंका अलिजोन अलिजोनोभ र चितवनका युसुफ मलिकबीच विवाद भयो । यस क्रममा रेफ्री प्रज्वल क्षेत्रीले दुवैलाई पहेँलो कार्ड दिए । युसुफले दोहोरो पहेँलो कार्ड सामना गरे ।

५७औँ मिनेटमा टुरेको क्रसमा नजिकैबाट अमाडौको प्रहार चितवनका गोलकिपर अमल नाइटले बचाए । ७१औँ मिनेटमा काठमाडौंले अग्रता दोब्बर बनायो । रोहन कार्कीको प्रहार काठमाडौंका डिफेन्डरले रोके पनि रिबाउण्ड बललाई अमाडौले नजिकैबाट गोल गरे । यससँगै काठमाडौं २–० ले अगाडि बढ्यो ।

त्यसपछि थप गोल हुन सकेन र चितवनले लगातार दोस्रो हार सामना गर्‍यो । लिगमा काठमाडौंको यो दोस्रो जित हो । ६ खेलबाट काठमाडौंले समान दुई जित र बराबरी तथा दुई हारसहित आठ अंक जोडेको छ । प्लेअफ पुग्न अब काठमाडौंले अन्य टोलीको नतिजा पनि सामना गर्नुपर्नेछ ।

पाँचौँ खेल खेलबाट चितवनले लगातार दोस्रो हार व्यहोरेको हो । चितवनले दुई जित र एक बराबरीसहित अंक जोडेको छ । अब चितवनले अन्तिम खेलमा धनगढीसँग खेल्नेछ । त्यसैले बलियो टोली धनगढीविरुद्ध जित निकाल्न चितवनका लागि कठिन बन्नसक्छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro