
काठमाडौं । पश्चिमी भेगमा सुरु भएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो । त्यसपछिको लगातार झरीले खुला आकाशमुनि तयार पारिएको नेपथ्यको मञ्च र त्यहाँ भित्रका विद्युतीय संयन्त्रलाई जोगाउने चुनौती थपियो । अब, साँझको कन्सर्ट के होला ? यो चिन्ता र चाँसोकै बीच बेलुकीको ओभानोमा गोकर्णेश्वर कन्सर्ट निर्धारित समयमै सुरु भएर भव्य रूपमा सम्पन्न भएको छ ।
अष्ट्रेलियाको एक महिना लामो यात्रा सकेर अनि सिड्नीमा साढे पाँच हजार दर्शक अटाउने हलको सम्पूर्ण टिकट ‘सोल्ड आउट’ भएपछि त्यसै हलमा फेरि भरिएका दर्शकहरूमाझ दोस्रो शो गरेर फर्केको नेपथ्य यसरी मौसमी प्रतिकूलताकै बीच पनि स्वदेशका दर्शकहरूमाझ उत्तिकै बलियो उपस्थिति दर्शाउन सफल भएको छ ।
अनलाइन र स्थानीय टिकट बुथबाट अग्रिम टिकट काटेका दर्शकको उपस्थितिलाई मध्यनजर गर्दै शनिबारको कन्सर्ट सुरु हुनुभन्दा दुई घन्टाअगावै अर्थात् बेलुकी साढे ४ बजे प्रवेशद्वारहरू खुला गरिएका थिए । त्यसपछि नेपथ्यको परम्परालाई निरन्तरता दिँदै निर्धारित समयमै अर्थात् घडीले ठीक साढे ६ बजाउनेबित्तिकै कन्सर्ट सुरु भएको थियो ।
ब्यान्ड मञ्चमा उभिनासाथ ‘कोसीको पानी’बाट सुरु भएको गीतहरूको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाहरूबाट अघि बढ्दै गयो ।
“नेपथ्य मेरो सिंगै पुस्ताको प्रतिनिधित्व गर्ने ब्यान्ड हो,” दर्शकमध्ये चर्चित उपन्यासकार सुविन भट्टराईको प्रतिक्रिया थियो, “यसका गीतहरू सुनिरहँदा म आफ्नो युवा र किशोर कालमा पुगेको महसुस गर्छु । नेपथ्यको बारेमा लेखिएको पुस्तक पढिसकेर पनि होला कन्सर्टले तानेको ।”
ब्यान्डको १२औँ प्रस्तुति ‘गाउँ गाउँबाट उठ’ देखि भने कार्यक्रम तीव्रगतिका गीतहरूमा प्रवेश गर्यो ।
“यसरी हजारौँ दर्शक, श्रोताहरूका बीचमा उभिएर नाच्दै, चिच्याउँदै कन्सर्टको मज्जा लिँदा बेग्लै रमाइलो हुँदोरहेछ,” यसअघि बन्द कोठाभित्र बजेका नेपथ्य गीतहरू मात्र सुनेको अनुभव बोकेका र पहिलोपटक सपरिवार कन्सर्टमा उपस्थित भएका उपन्यासकार भट्टराईको भनाइ थियो, “नभएको उर्जा पनि आफूमा सञ्चार भएको महसुस गरेँ ।”
उता इलामका इन्जिनियर सन्तोष श्रेष्ठ भने तन्नेरी लयमा साथीहरूसँग बसेर क्यासेट प्लेयर बजाउँदै नेपथ्यको गीत सुनेको क्षण सम्झना गर्दैथिए ।
“नेपथ्यका गीतमा सँगै बसेर रमाउने ती साथीहरू अहिले कता गए थाहा छैन,” सन्तोष थपिरहेका थिए, “तर, कन्सर्ट हेरिरहँदा भने एकैछिन भए पनि त्यो समय फर्केर आएको महसुस हुँदोरहेछ ।”
कन्सर्ट हेर्नकै लागि उपत्यकाको उत्तरपूर्वी कुनासम्म पुगेका दर्शकहरूको भिडमा विदेशी अनुहार पनि उत्तिकै देखिन्थ्यो । तिनैमध्ये एक वैवाहिक समारोहमा सरिक हुन इस्टोनियाबाट आएकी मारिया इभानोभो पनि थिइन् ।
“मलाई मौलिक पहिचान बोकेका संगीतहरूमा असाध्यै रुची छ,” उनले भनिन्, “त्यसबाहेक यो कन्सर्टमा गाइएका गीतहरू भित्रि मनैबाट निस्केका आवाज जस्तो लागिरहेको छ ।”
अष्ट्रेलियाबाट अध्यनको लागि आएका जेम्स स्मिथ भने साथीहरूले यो कन्सर्टका बारेमा उल्लेख गरेपछि हेर्न आएको सुनाइरहेका थिए ।
कन्सर्टमा मुख्य गायक अमृत गुरुङले सँधैजस्तै नेपालको सुन्दरताको बयान गर्दै स्वदेशको भ्रमण गर्न दर्शकहरूलाई प्रोत्साहित गरेका थिए । त्यसक्रममा उनले आफ्ना गीतहरू यात्राकै क्रममा संकलन गरिएको जानकारी पनि दिएका थिए ।
“बिहानैदेखि झरीले गर्दा यत्रो ठूलो आयोजना अब के होला भनेर एकछिन आँत्तिएका थियौँ,” स्थानीय आयोजक संस्था ‘ग्राउन्ड अफ इभेन्ट्स’का श्याम श्रेष्ठ भन्छन्, “तर, नेपथ्यसँगको हाम्रो पहिलो सहकार्य चिताएको भन्दा पनि भव्य प्रस्तुति र उपस्थितिका साथ सम्पन्न भएको छ ।”
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए ।