
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।
यही चैत २२ गते उच्च अदालत तुलसीपुरको इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उच्च अदालतले थुनाबाहिर राखेर मुद्दा लड्न दिँदा ठगीमा संलग्नहरूको मनोबल बढ्ने र पीडितलाई थप पीडा हुने कारण देखाएको थियो ।
उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल र लामिछाने स्वयंले गरेको पुनरावेदनमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश बदर गरिदिएको हो ।