
बेइजिङ । चीनमा शनिबार (अप्रिल १२) चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न सहरमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीयस्थलहरू बन्द गरिएको छ । केही रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ ।
चीनको मौसम विज्ञान विभागले जनाएअनुसार, यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो । त्यो पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर गरिरहेको छ ।
“अप्रिल १२ को दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानमा वायु गति सन् १९५१ यताकै रेकर्ड नाघ्न सक्नेछ,” मौसम विभागले भनेको छ ।
बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्चस्तरको हावाहुरी सतर्कता जारी गरेको छ । शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडान रद्द भएका छन् ।
विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्र गतिको रेल सेवा पनि स्थगन गरिएको छ ।
समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना र युनिभर्सल स्टुडियोज पार्कजस्ता पर्यटकीयस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ ।
बेइजिङ सहरमा करिब ३०० रुख ढलेका छन् । १९ गाडीमा क्षति पुगेको छ । तर, हालसम्म कुनै मानवीय क्षतिको खबर छैन ।
जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमका घटना चीनमा बारम्बार देखिन थालेको छ । गत वर्ष बाढीका कारण दर्जनौँ नागरिकको मृत्यु भएको थियो र हजारौँ विस्थापित भएका थिए ।
यसैगरी, गएको मे महिनामा लगातारको वर्षाले दक्षिणी चीनको एउटा सडक भासिँदा ४८ जनाको मृत्यु भएको थियो । रासस/एएफपी