site stats
बाह्रखरी :: Baahrakhari
देश
नगरप्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्न माग 

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी तथा पेसागत संगठनले महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्न माग गरेका छन् ।
 
आज एक विज्ञप्ति जारी गर्दै उनीहरूले नगर कार्यपालिकासमक्ष ११ बुँदे माग राखेका हुन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंप्रति देखाएको आचारणप्रति आपत्ति जनाउँदै पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग गरेको विज्ञप्तिमा उल्लेख छ । 

“चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादाविपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न तीन दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्,” विज्ञप्तिमा भनिएको छ । 

Argakhachi Cement Island Ad

कानुनविपरीतका र कानुनले नचिनेका समिति, संस्था प्रणालीभन्दा बाहिरका मानिसलाई जागिर खुवाउनका लागि बनाइएका संयन्त्र खारेज गर्न पनि माग गरेका छन् । 

ज्ञापनपत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गरेका छन् ।

गत बिहीबार महानगरका मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो ।
 
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन, २०८० मा महानगर प्रहरी गठन, रेखदेख तथा नियन्त्रणसम्बन्धी व्यवस्था छ ।

“महानगर प्रहरीको परिचालन रेखदेख, नियन्त्रण, र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ,” ऐनमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्