
काठमाडौं । साविक विजेतासमेत रहेको स्पेनिस क्लब रियाल मड्रिडले युरोपियन च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनलविरुद्ध ३–० को हार व्यहोरेको छ ।
घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा आर्सनललाई जित दिलाउन डेक्लान राइसले दुई र मिकेल मेरिनोले एक गोल गरे । आर्सनलले तीनै गोल दोस्रो हाफमा गरेको हो ।
आर्सनलको इमिरेट्स मैदानमा ६० हजार समर्थकमाझ ५६औँ मिनेटमा राइसले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखे । ७०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । ७५औं मिनेटमा मेरिनोले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
खेलको इन्जुरी समयमा एडुर्डो कामाभिंगाले रातो कार्डको दर्शन गरेपछि रियाल १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो ।
१५ पटकको च्याम्पियन रियाल भने खेलमा फर्किन सकेन । अब यी दुई टिमबीचको दोस्रो लेग अप्रिल १७ मा रियाल मड्रिडको मैदानमा हुनेछ ।