
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै मंगलबार (चैत २६) कारोबार रकम पनि घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक ३.४४ अंकले घटेको छ ।
यस दिन पाँच अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार (चैत २५) पाँच अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
कारोबारमा आएका १३ मध्ये फाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
१२१ कम्पनीको सेयर मूल्य बढेको छ । १२३ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु) र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ५.८५ प्रतिशतले घटेको छ ।