
काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् ।
दुवै देशका प्रधानमन्त्रीले शुक्रबार भएको भेटवार्तालाई ‘सकारात्मक टोन’मा प्रतिक्रिया जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा नेपाली, हिन्दी र अंग्रेजी गरी तीनवटा भाषामा सन्देश पोस्ट गरेका छन् । भारतीय प्रधानमन्त्रीले पनि नेपाली र अंग्रेजी गरी दुई भाषामा भेटवार्तामा भएका उपलब्धि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले भेटवार्तालाई ‘सार्थक र सकारात्मक’ बताएका छन् भने मोदीले ‘फलदायी’ भएको जनाएका छन् । प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई ‘मेरो प्रिय मित्र’ भनी सम्बोधन गरेका छन् ।
“मेरो प्रिय मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु ।”
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको जनाएका छन् । “बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,” भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
भेटमा भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रमा छलफल भएको मोदीले उल्लेख गरेका छन् ।
“हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौँ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनको साइडलाइनमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो ।
यस वर्ष ओली र मोदीबीच भएको यो दोस्रो भेटवार्ता हो ।यसअघि गत असोज महिनामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा उनीहरूबीच भेटवार्ता भएको थियो ।