
काठमाडौं । गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनलाई ‘हिंसात्मक र अमानवीय’ भनेका छन् । शुक्रबार (चैत २२) प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले संविधानविपरीत राजावादीले वर्तमान व्यवस्था ध्वस्त पार्न खोजेको आरोप लगाए ।
“तीनकुने कार्यक्रम हिंसात्मक, अमानवीय, उच्छृंखल भयो । यसको मुख्य उद्देश्य नै संविधान उल्ट्याउने, व्यवस्था समाप्त पार्ने थियो । नियोजित रूपमा अराजकता फैलाउने कार्य हो । सुरक्षाकर्मीमाथि गाडी गुडाउने प्रयास क्षम्य हुन सक्दैन,” गृहमन्त्री लेखकले भने ।
शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै राजवादीले कार्यक्रमको अनुमति लिएको उनले जानकारी गराए । सोही आधारमा सभा गर्न अनुमति दिइएको उनले बताए ।
“सुरक्षाकर्मीलाई किच्ने नियतका साथ गाडी गुडाएपछि उत्तेजित बन्यो । मञ्चमा उभिनुभएकोले संसद् कब्जा गर्नुस्, हामी छौँ भनेको भिडियो सुनियो । उत्तेजित भीडले घरमा मानिस छन् भन्ने थाहा पाउँदा पाउँदै आगो लगायो,” उनले भने ।
आफ्ना अगुवाबाट निर्देशन पाएको भीडले सञ्चारगृह र दलका कार्यालयमा आगजनी गरेको उनले बताए । जडीबुटी प्रशोधन केन्द्र पनि राजावादी समूहले आगो लगाएर ध्वस्त बनाएको उनले उल्लेख गरे ।
“भीडको उदण्डता हेर्दा सुरक्षाकर्मीले संयमता अपनाएकाले थप मानवीय क्षति रोक्यो । लोकतन्त्र, संविधान सित्तै आएको होइन । पूर्वजको त्याग, तपस्या छ । हिसांत्मक गतिविधि, उदण्डताका भरमा उल्ट्याउने ?,” उनले प्रश्न गरे ।
लोकतन्त्र र संविधानको रक्षा सरकारको पहिलो प्राथमिकता भएको उनले स्पष्ट पारे ।