
काठमाडौंं । नेकपा (एमाले)ले तीनकुने घटनाका दोषीलाई कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले राजावादीका नाममा भएको तोडफोडको भर्त्सना गरेको हो ।
“मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गर्दछ,” पार्टीका महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्व उभिने संकल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनता लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरूद्ध गोलबन्द हुन आह्वान पनि गरेको छ ।