
काठमाडौं । लामो समयपछि काठमाडौंका सडकमा फेरि हिंसा मच्चियो । मुलुकमा गणतन्त्र घोषणा भएको करिब १६ वर्षपछि पक्ष र विपक्षमा शुक्रबार काठमाडौंका सडकमा प्रदर्शन भए ।
गणतन्त्रको विकल्प खोज्न र गणतन्त्र जोगाउन एकै दिन सडकमा आए । दुवैथरिका मानिसहरूको उपस्थितिले शुक्रबार काठमाडौंको जनजीवन अत्यन्तै प्रभावित बन्यो ।
एसईई परीक्षा दिँदै गरेका विद्यार्थीहरू अलमलमा परे । एकाबिहानै काठमाडौंका स्कुलहरूले सूचना जारी गरे, ‘आज काठमाडौंमा हुन लागेको प्रदर्शनका कारण विद्यालय बन्द रहनेछ ।’
अस्पताल जाँदै गरेका बिरामी बाटोमै लामो समय अल्झिनुपर्यो । एसईई दिन हिँडेका सयौँ विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्यो । राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको आन्दोलन भने हिंसात्मक बन्यो ।
विवादित व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘हिंसात्मक’ आन्दोलनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरालगायतका नेता उपस्थित थिए ।
जब प्रसाईंले आफैं गाडी हाँकेर निषेधित क्षेत्र तोड्न प्रहरीमाथि नै गाडी चलाउने प्रयास गरे, त्यसपछि आन्दोलनले उग्ररूप लियो ।
‘आइज आइज’सहित अपाच्य शब्द बोल्दै उनी दक्षिण भारतीय फिल्मी शैलीमा आफ्नो गाडी अघि बढाइरहे । तीन तहमा बसेका सुरक्षा निकायले पनि प्रसाईंको गाडी रोक्न सकेनन् । न त उनीहरूले मागेअनुसार ‘माथिको आदेश’ पाए ।
एक सुरक्षा अधिकारीको विश्लेषणमा भिड यसरी अघि बढेको थियो कि कोही कसैको नियन्त्रणमा थिएन । “एक समूह बीआईसीसी हानौँ भन्दै थिए, अर्को समूह विमानस्थलमा आगो लगाउनुपर्छ भन्दै थिए, कोही हामी भाषण सुन्न आएको होइन, यहाँ कोही नेता छैनन् भन्नेहरू थिए,” ती अधिकारीले भने ।
उत्तेजित भिडको उद्देश्य नै लुट्ने खालको भएको बताउँदै उनले भने, “यो उत्तेजित भिड हो । यस्ता उच्छृङ्खल भिडको उद्देश्य एउटै हुँदैन, उनीहरूलाई उचाल्ने व्यक्ति पानीमाथिको ओभानो बनेको देखिन्छ तर उनीहरूले पहिला नै भिडलाई उचालेर आफू सुरक्षित बसेको पाइयो ।”
उनले थपे, “यी आतंककारी र लुटेरा समूह हो भन्ने प्रमाणित भयो । राजनीतिक विचार र सिद्धान्त हुनेहरू ठीक बाटोमा अघि बढेर माग राख्छन् । तर यो समूहको काम हेर्नु त भाटभटेनीमा बियर लुटेर लगे, फलफुल, कपडा, मोबाइल घडी लुटेर लगे ।”
त्यस्तो अवस्थामा पनि प्रहरीले पक्राउ गरेर छाडिदिएको, पर्याप्त प्रहरी नखटाएको, गुहारका लागि घण्टौ अनुरोध गर्दा पनि उद्धार हुन नसकेको आलोचना भएको छ ।
आन्दोलनको भिडियो लिइरहेका एकजना पत्रकारलाई घरभित्रै प्रदर्शनकारीले आगजनी गरिदिए ।
पत्रकारलाई घरभित्रै राखेर आगो लगाइदिएको भनेर पटक–पटक प्रहरीलाई गुहार्दा पनि जान सक्ने अवस्था नभएको ती सुरक्षा अधिकारीको टिप्पणी छ । एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजकको राजावादी आगो लगाएको घरमा जलेर मृत्यु भयो भने अर्का एक युवाले प्रहरीको गोली लागेर ज्यान गुमाउनुपर्यो ।
काठमाडौं कीर्तिपुरकै वर्ष २९ का सविन महर्जन भएको प्रहरीले पुष्टि गरेको छ । कैयौँ घाइते अझै पनि अस्पतालमा छन् भने केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार, नेपाल प्रहरीका ३, सशस्त्र प्रहरी बलका २२, प्रदर्शनकारीतर्फ ३५ जना घाइते भए भने दुई जनाको मृत्यु भयो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नै अदृश्यरूपमा यो शक्तिको नेतृत्व गरेको सरकारको निष्कर्ष छ । निर्मल निवास रहेर नारायणहिटीको यात्रा तय गर्ने मनसायमा ज्ञानेन्द्र शाह रहेका छन् । तर, न त उनी सडकमा निस्किए, न त उनका परिवारका सदस्य !
राजा ल्याउने अभियानमा निरंकुश पञ्चायती व्यवस्था हुँदा अथाह फाइदा लिएका नवराज सुवेदी जस्ता अनुहार बढी देखिए । उनीहरूकै हालिमुहाली देखियो । त्यसमा केही रविन्द्र मिश्रजस्ता ‘नवराप्रपा’ देखिए ।
त्यसबाहेक २०५९ असोज १८ देखि २०६३ साल वैशाख ११ सम्म पूर्वराजा निकट हुँदै राज्यसत्ता दोहन गरेका अनुहार बढी देखिए ।
तर उनीहरूमात्रै होइन केही युवा शक्तिलाई पनि उनीहरूसँगै शुक्रबार सडकमा निकालियो । जब राजावादीहरूको समूहका नेतृत्वकर्ता पनि ज्ञानेन्द्र शाहले २०५९ असोज १८ पछि सरकार फेरेझैँ फेर्न थाले त्यसपछि समस्या आयो ।
राप्रपामा त्यसले विग्रह ल्यायो । राजसंस्थाको पुनःस्थापनाको उद्देश्य बोकेको राप्रपामा स्पष्ट दुई धार देखियो । जुनसुकै आन्दोलनमा सहभागी हुने कि राप्रपाकै नेतृत्वमा आन्दोलन गर्ने ?
रविन्द्र मिश्र, धवलशमशेर राणालगायतका नेताहरू अन्तिम लडाइँको मोर्चाको नेतृत्व जसले गरे पनि सहभागी हुने पक्षमा देखिए । अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष भने राजनीतिक पार्टीले नै अभियानको नेतृत्व लिनुपर्ने पक्षमा उभिए ।
अध्यक्ष लिङ्देनले तीनकुने हिंसाको जिम्मेवारी राप्रपाले नलिने बताएका छन् । उक्त पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने विज्ञप्ति जारी गरेर अघिल्लो दिनमा नै भनेका थिए, “भोलि चैत १५ गते काठमाडौंको तीनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंक्ति र आमजनसमुदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।”
आफूभन्दा करिब १० वर्ष जेठा अर्थात् आफ्ना बुबा महेन्द्र र दाइ वीरेन्द्रले प्रयोग गरेका व्यक्ति नवराज सुवेदीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले कमान्डर बनाएपछि राजावादी समूह नै आरोप प्रत्यारोपमा निस्किए । सुवेदी, पञ्चायतकालको उत्तराद्र्धमा राष्ट्रिय पञ्चायत अध्यक्ष र पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष थिए । उनी २०४६ को प्रजातान्त्रिक आन्दोलन दबाउने महत्वपूर्ण हर्ताकर्ता थिए । सुवेदी आन्दोलन दबाउने चार ‘महामण्डले’ एक थिए ।
यतिखेर तिनै सुवेदी राजावादी आन्दोलन नेतृत्वकर्ता बनिरहँदा राप्रपाभित्र एक मतबाट सुवेदी स्वीकार्य भएनन् । त्यसैले राप्रपा विभाजित अवस्थामा पुग्यो ।
केही दिन शक्ति परीक्षण गरे, निर्मल निवासबाटै । नवराज सुवेदीमा भन्दा दुर्गा प्रसाईंमा शक्ति देखे, निर्मल निवास बोलाउँदै कमान्डर उनलाई तोकिदिए । बिहीबार दिउँसो पूर्वराजालाई भेटेपछि राजावादीहरूले आन्दोलन गर्दै फेरि कमान्डरको जिम्मा प्रसाईंलाई दिए ।
८६ वर्षीय पूर्वमहापञ्च नवराज सुवेदी नेतृत्वको राजा फर्काउने आन्दोलनमा जनपरिचालन कमान्डर तोकिएका प्रसाईंले राजा आफैँ आन्दोलनको अंश भएको हुँदा अब गणतन्त्रवादीहरूका दिन सकिएको बताएका थिए ।
“गणतन्त्रवादी सिध्याउन एक्लो दुर्गा प्रसाईं काफी थियो । म एक्लैले गणतन्त्रवादीलाई आच्छुआच्छु बनाएको तपाईंहरूले देखिसक्नुभएको छ,” प्रसाईंले शुक्रबार अपराह्न बाह्रखरीसँग भने, “अब त यो आन्दोलन दुर्गा प्रसाईं र राजाले संयुक्तरूपमा सुरु गरेको आन्दोलन हो । गणतन्त्रवादीले आफ्नो सुरक्षा खोज्दा हुन्छ ।”
प्रसाईंको स्पष्ट सन्देश थियो– यो आन्दोलनको नेतृत्वमा आफू र पूर्वराजामात्रै छन् । त्यसबाहेक कोही छैन ।
प्रसाईं उनै व्यक्ति हुन्, जो गणतन्त्रका लागि माओवादी युद्धमा होमिए । माओेवादी–एमालेको नेकपामा रहे । नेकपा पार्टी फुटेपछि एमाले केन्द्रीय सदस्य बने । एमाले केन्द्रीय सदस्य बनेकै बेलामा दुई वर्षअघि झापामा प्रसाईंले पूर्वराजालाई एक कार्यक्रममा सहभागी गराएर अभियान सुरु गरेका थिए ।
शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमा पनि ‘तीनकुने हिंसा’मा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाका सन्दर्भमा गम्भीर समीक्षा भएको थियो । एक मन्त्रीले दिएको जानकारीअनुसार, पर्दा पछाडिबाट आन्दोलन सञ्चालन गरेका पूर्व राजा ज्ञानेन्द्रको क्रियाकलापबारे मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल भएको छ । तर कुनै निर्णय चाहिँ भएको छैन ।
“ज्ञानेन्द्र शाहको क्रियाकलापका विषयमा अनेकन् कोणबाट गम्भीर छलफल भयो,” ती मन्त्रीले भने, “तर निर्णय केही भएको छैन । कानुनविपरीतको काम गर्नेलाई कारबाही गर्न कुनै निर्णय गरिरहन परेन । तर ज्ञानेन्द्र शाहको भूमिकाका सन्दर्भमा छलफल चाहिँ भएको छ ।”
उनका अनुसार, पूर्वराजाको सेवा सुविधा खोस्नेदेखि विदेश भ्रमणमा रोक लगाउने सम्बन्धमा छलफल भएको थियो । “गृह मन्त्रालयलाई अध्ययन गरेर सिफारिस गर्न अधिकार दिएको छ,” उनले भने, “सबै अधिकार गृहलाई दिएको छ । अब के के गर्ने भन्ने सिफारिस गृहले गर्ला ।”
सबैजसो मन्त्रीले गम्भीर विषयमा समीक्षा गर्नुपर्ने र सरकारले एउटा ‘एक्सन’ लिनुपर्ने धारणा राखेका थिए । “ज्ञानेन्द्र शाहको गतिविधिलाई सुक्ष्म ढंगले हेरिरहेका छौँ, के गर्ने भन्ने निर्णय भएको छैन,” गृह मन्त्रालय स्रोतले भन्यो,“जुन आपराधिक गतिविधि नियन्त्रण गर्ने र जनताको अधिकारको रक्षा गर्ने कुरा छ त्यसका लागि कुनै निर्णय गर्नुपर्दैन । गृहले गर्ने भनिएको छ, तर के गर्ने भन्ने निर्णय भएको छैन ।”