
काठमाडौं । सेयर कारोबारमा ज्ञान नहुँदा धेरैले पैसा गुमाउँछन् । अरूको भरमा सेयर बजार प्रवेश गर्दा सेयर बजारबाट कमाउनेभन्दा पैसा गुमाउने बढी हुन्छन् ।
कम सेयर संख्या भएका कम्पनीमा खेलाडीहरूले सहजै खेल्ने सम्भावना हुँदा यस्ता कम्पनीमा धेरैले पैसा गुमाउँछन् ।
कम्पनीबारे सामान्य जानकारी राख्ने र लगानी गरेको पैसाबाट थप पैसा बनाउन जान्नेहरूले यस्ता कम्पनीबाट पनि नाफा कमाउन सक्छन् । तर, पछिल्ला दिनहरूमा चलखेल गर्न जान्नेले कमाउने र तिनको पछि लाग्नेहरूले गुमाउने प्रवृत्ति बढ्दै गएको छ ।
वित्तीय अवस्था राम्रो भएका कम्पनीहरूको मूल्य कम हुने र वित्तीय अवस्था खराब भएका कम्पनीको मूल्य बढ्दै गएको छ । यसको उदाहरण कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र कर्पाेरेट डेभलपमेन्ट बैंकलाई लिन सकिन्छ ।
प्रतिशेयर नेटवर्थ, खराब कर्जाको अवस्था तथा नाफालाई हेर्दा यी बैंकहरूको सेयर मूल्य यसरी बढ्नुपर्ने थिएन । तर, कम सेयर संख्या भएकै कारण यी बैंकहरूका वित्तीय अवस्थालाई सर्वसाधारणले ख्याल गरेनन् । यिनै कम्पनीको सेयर मूल्य अत्यधिक बढ्दै गयो । एक विन्दुमा पुगेर पुनः तल झर्न थाल्यो ।
कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा ४० प्रतिशतभन्दा बढी भएको र पुँजीकोष अनुपात पनि तोकिएबमोजिम नभएपछि पुस १० गते राष्ट्र बैंकले समस्याग्रस्त घोषण गर्यो । समस्याग्रस्त घोषणापछि नेपाल राष्ट्र बैंकले पुस ११ गतेदेखि व्यवस्थापन जिम्मा लिएको छ ।
समस्याग्रस्त घोषणा हुनुभन्दा केही दिनअघिबाट यो बैंकको सेयर मूल्य अत्यधिक बढेको थियो । ४०० रुपैयाँभन्दा कम मूल्य भएको यो बैंकको सेयर मूल्य एकाएक बढेर ८७० रुपैयाँसम्म पुगेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खराब कर्जा ४.७४ प्रतिशत देखाएको बैंकको राष्ट्र बैंकको बाह्य अडिटपछि खराब कर्जा अनुपात ४०.८५ प्रतिशत देखियो ।
बैंकहरूले आफ्नो खराब कर्जा एउटा देखाए पनि आन्तरिक रूपमा बढी हुने कर्णाली डेभलपमेन्ट बैंकको उदाहरणले पनि देखाउँछ । तर, विकास बैंकको हालको अवस्था र सेयर मूल्य अमिल्दो छ । नारायणी डेभलपमेन्टको सेयर मूल्य हाल १६ सयभन्दा बढी छ ।
तर, यो बैंकले प्रकाशन गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा ४३.६९ प्रतिशत खराब कर्जा छ । राष्ट्र बैंकले कुन बेला समस्याग्रस्त घोषणा गर्ने हो, थाहा छैन । त्यही पनि यो बैंकको सेयर मूल्य ‘रकेट स्पिट’मा बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ९३ पैसा छ । यसको अर्थ बैंक केही गरी बन्द हुन पुग्यो भने सेयरधनीले २० रुपैयाँ मात्र फिर्ता पाउँछन्, त्यो पनि कम्पनीको दायित्व घटाएर । यस्ता बैंकमा लगानीकर्ताहरू आकर्षित हुनु उनीहरूमा सेयर बजारको ज्ञान कम र अरूको भनाइमा लगेको देखिन्छ ।
त्यसैगरी कमजोर वित्तीय अवस्था सप्तकोसी विकास बैंक, सिन्धु विकास बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको देखिएको छ । यी बैंकको सेयर मूल्य ६०० देखि १७ सय रुपैयाँसम्म छ । यिनै बैंकको सेयर मूल्य पछिल्लो एक वर्षमा २८ सयसम्म पुगेको थियो ।
माघसम्मको वित्तीय विवरण हेर्दा एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक घाटामा छन् । यी बैंकहरूले सेयरधनीलाई लामो समयदेखि लाभांश वितरण गरेका छैनन् ।
सेयरमा लगानी गर्दा कम्पनीको सञ्चालक समिति, लाभांश क्षमता, नाफा, प्रतिसयर नेटवर्थ, प्रतिसेयर आम्दानीलाई ध्यान दिनुपर्छ ।
तर, नेपाली सेयर बजारमा यी सिद्धान्तले काम गरेका छैनन् । वित्तीय अवस्था जस्तो भए पनि कम पुँजी भएपछि ती कम्पनीको मूल्य अकासिएको देखिन्छ । हकप्रद सेयर जारी गर्ने हल्लाकै बीचमा राष्ट्र बैंकको निर्देशनअनुसार चुक्ता पुँजी कायम नभएका बैंकहरूमा लगानीकर्ताले हकप्रदको आश गरेको देखिन्छ ।
तर, हकप्रद सेयर जारी हुनु भनेको बैंकको सेयर संख्या बढेर बजारमा बढी आउनु हो । हकप्रद सेयर जारी गर्ने भएपछि सेयर मूल्य समायोजन हुन्छ, मूल्य घट्छ ।
बोनस नदिएर हकप्रद सेयर जारी गर्नु भनेको तत्काललाई सेयरधनीलाई नै घाटा हुनु हो । भविश्यमा कम्पनीले नाफा आर्जन गरेन र लाभांश वितरण गरेन भने सेयरधनीले घाटा व्यहोर्नुपर्ने हुन्छ ।