
पुर्खाको रगत र पसिनाले सिर्जिएको
स्वाधीन अस्तित्वको महान् धरोहर हो
एकताको प्रतीक र विश्वासको आकाश हो
सबैले खेल्नुपर्छ धक फुकाएर
बाँच्ने र हाँस्ने खेल
निर्माण र विकासको खेल
साँच्चै, भ्वाङ पार्न पाइँदैन
स्वाभिमानमा कुठराघात गरी
लेण्डुप दोर्जे हुन पाइँदैन
किनकि, यसकै सुवासमा
जिउँदाहरूको प्रतिविम्ब र
पुर्खाको अवशेष फैलिन्छ
प्रजातन्त्र र स्वतन्त्रताको नाममा
आफ्नै आमाको हुर्मत लिन पाइँदैन
अग्रगमन र छलाङको नाममा पनि
राष्ट्रिय स्वाधीनताको विरुद्ध
धावा बोल्न पाइँदैन
मानेभन्ज्याङ र सुस्ता मिचिँदा होस्
वा खुर्दलोटनले नेपाली भूमि डुब्दा होस्
अग्रगमन र छलाङको शंखनाद गर्नेहरू
नलोलाउनुपर्ने हो ।
देशै नरहे
छलाङ मार्ने पाइतालाले
कहाँ टेक्ने हो ?
प्रजातन्त्र र स्वतन्त्रताको फूलहरू
कहाँ फुल्ने हुन् ?
तर, जयगानमा मात्र
राष्ट्रियताको धरोहर देख्नेहरूको संसारमा
आँधी आउनैपर्छ
निःसहाय र निर्धाहरूको आवाजलाई
कुल्चँदै हाँसेर
जहानियाँका सन्तति र ढोकेहरूलाई मात्र
अब्बल दर्जाको नागरिक देख्ने
पुरानो चस्मालाई फाल्नैपर्छ
किनकि, देश हाँस्नलाई
आँसु बहने आँखाहरूमा पनि
मुस्कान नाच्नुपर्छ
प्रत्येक नागरिकले एक जीवन
निर्धक्क बाँच्नुपर्छ
तब अनुभूति हुनेछ
पसिनाका थोपाहरूलाई
कलेटी परेका ओठहरूलाई
चरचरी फुटेका पाइतालाहरूलाई
हर्कबहादुर, रामबहादुर र दिलमायाका छातीहरूलाई
वास्तवमा
एकमुट्ठी माटोमा पनि
पुर्खाको गर्विलो अवशेष हुन्छ
एक चपरी माटोमा पनि सन्तति बाँच्ने परित्राण हुन्छ
त्यसैले त बुझ्नुपर्छ
रोग, भोक र अशिक्षाले सताइएका
उत्पीडित मुटुहरूमा पनि
स्वाधीनता र स्वाभिमानको सगरमाथा हुन्छ
निर्मल पसिनाका थोपाहरूमा नै
सुखद भविष्यको देदीप्यमान ज्योति हुन्छ
सुखद भविष्यको देदीप्यमान ज्योति हुन्छ ।