site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पुनरागमन

“आमा खै बाबा ? भन्नुस् न भन्या, नत्र तपाईंसित पनि बोल्दिनँ के,” मुखाकृति रुन्चे पार्दै ठुस्कियो सरोज । 

“अरू सबैका हुने, मेरोचाहिँ... । जैले पनि भोलि भोलि भन्नुहुन्छ, त्यो पनि फेरि कहिल्यै आउँदैन,” आँखाभरि आँसु देखियो उसको । 

“भन्छु नि, बाबुलाई नभनेर कसलाई भन्नु त ? तर, ऐले हैन । पछि भनौँला । लौ राजा, अहिले निनि गर !,” म्वाइँ खाँदै थुमथुम्यायो विप्रले । तर, छोरोेले पत्याएन । असमट्ठियो, हात पन्छाएर ओछ्यानको पल्लो छेउ पुग्यो । 

सुत्ला कि अनुमान गर्दै ऊ झकायो । बिउँझिँदा त छोरोे रोइरहेको पो रहेछ । फकाउने सारा प्रयत्नहरू निरर्थक बने । अँहँ, मान्दै मानेन ।

अझ पछिल्लो प्रयत्नपछि त डाँको छाडेरै चिच्याउन लाग्यो । सलाई को¥यो । बिँडी सल्काउँदै घडी हे¥यो, रातको दुई बजेको रहेछ । सुइँसुइँ तान्यो । रुवाइको मात्रा बढिरहेको थियो । उसलाई पनि धुवाँसँगै खुसुक्क उड्न मन लाग्यो । 

६ वर्षको भयो छोरोे । आमाचाहिँले छोडेको पनि साढे चार वर्ष बिते । हरेक प्रश्नमा भोलि भोलि भन्दै टारिरहेछ । कहिले के त कहिले के दिँदै चित्त बुझाउँछ । मान्छ पनि । यदाकदा घुमाउन लैजान्छ । मन पराएका खैलौना किनिदिन्छ । छोरोे दंग पर्छ । मेरो बाबा कति जाति भन्दै गम्लङ्ङ अँगालो हाल्छ ।

खेल्ने कुरा ओल्लोपल्लो घरतिर देखाउन दौडन्छ । साइकल आफैँ गुडाएर हिँड्छ । यी परिदृश्यमा आफू छताछुल्ल पोखिन्छ । रमाउँछ । आनन्द उर्लन्छ मनमा । उत्साहभित्र रङमङिन्छ भावना । छरिन्छ । उठाउँछ । फेरि पोखिन्छ । प्रयत्नहरू, अँहँ थाक्दैनन् ।

अनुपा ! उसकी जीवनसँगिनी । सुरुसुरुमा दाम्पत्य सुखमय नै भए पनि केही वर्षपछि खटपटी आरम्भ भयो । उसको हरसहनशीलतालाई कमजोरी ठान्न थालिन् । तथापि, ती सब बिर्सिएर ऊ सुखद दाम्पत्यको कल्पनामा डुब्यो । हरायो । तर, अनुपाले प्रत्येक सुझाव, सल्लाह र परामर्श हाँसेर उडाउने क्रम चलाइन् ।

अझै उसको विरोधमा त्यतिखेर उत्रिइन्, जति बेला स्थानीय गैरसरकारी संस्थामा काम पाइन् । पत्नीको जागिरे जीवनबाट सुखद भविष्यको कल्पना गर्ने उसको अठोटमा तुषारापात भयो । ठिकै छ, बुद्धि एक दिन कसो नफिर्ला ! यस्तो सोचमा डुब्यो र यावत् गल्तीहरूलाई पचाउँदै गयो ।

जानीजानी गरिएका कमजोरीलाई पनि अन्जानमा भएको ठान्यो । फुर्सदमा सम्झाउने कसरत पनि अनगिन्ती भए । सधैँ संयमित रहन र धैर्य धारण गर्न आग्रह गरिरह्यो । अनुपाले सुनेको नसुन्यै गर्दै गइन् ।

सरोज एक वर्ष पुग्यो । प्रतिविम्ब ठान्दै भ्याएसम्म देखभाल र स्याहारसुसारमा जुट्यो । गैरसरकारी संस्थाको काम – बढी खट्नुपर्छ, काममा सकेसम्मको भरथेग गरिदिनु जाती– मान्यता थियोे ऊसँग । छोरोको रेखदेखदेखि घरका सारा कामकाजसम्म सघाउन थाल्यो । सोच्थ्यो– मबाहेक अरू को नै छ र उनको ?

माइती पक्षको इच्छाविरुद्व विवाह बन्धनमा बाँधिएकी उनीहरूको नजरमा अनुपा काँडो थिइन् । आजीवन नफर्के हुन्छ– रिस भरिएको सन्देश सुनिन्थ्यो उताबाट । त्यसो त आमाबाको चित्त दुखाएर मसँग विवाह नगर भन्ने उसका थुप्रै सुझाउ र सल्लाह लत्याएकी थिइन् उनले ।

सामाजिक रूपमा उसको स्तर पुड्को रहेकाले त्यो आग्रह थियो । तर, ऊसँग विवाह नभए आत्मदाह गर्नेसम्मको चेतावनीपूर्ण आग्रहपछि ऊ गलेको थियो ।

जब घर फर्कने समय पाँचबाट छ, सात हुँदै आठसम्म पुग्यो, तब तिमी कर्मचारी मात्र हैनौ, कसैकी पत्नी, आमा र गृहिणी समेत हौ भन्ने चेतवानी दियो । सुझाव पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँसम्म पुग्यो । तर, कुनै परिवर्तन महसुस गर्न सकेन ।

आजित भई एक दिन छोरोलाई पनि ‘साथैमा लानू’ भन्नेसम्मको उर्र्दी दियो । त्यसपछि चार दिनसम्म घरै आइनन् । छोरोेलाई औँला चुसाउँदै रात कटायो उसले ।

जब छोरोे आमाको उपस्थिति खोज्थ्यो, तब ऊ अप्ठेरोमा पर्थ्यो । उसका प्रत्येक आग्रह, अनुरोध एवं अनुनय–विनयलाई कुल्चिनु उनका निम्ति सामान्य कुरा बन्दै गएका थिए । तथापि, ऊ बनिसकेको घर क्षणिक आवेशमा भत्काउन हुन्न भन्ने सोच राख्थ्यो । तर, अनुपा यसकिसिमका आग्रह, बिन्ती र अनुरोधलाई कुनै महत्त्व दिँदैन थिइन् ।

नारीवादी संस्थाको ग्रामीण कार्यकर्ता पदमा नियुक्त भएपछि उनको चुरीफुरी जुरुक्कै उचालिएको थियो । घर व्यवहारका कुरामा त्यही उदाहरण दिन्थिन् । हुँदाहुँदा ऊ शोषक, सामन्त र चुसाहासम्म हुन पुगेको थियो ।

‘शोषणले चरम चुली नाघेपछि छताछुल्ल पोखिन्छ । धैर्यताको बाँध टालटुल गर्न सकिन्न,’ घोचपेच गर्दै उनी भन्थिन् । 

‘तिमीहरूका दिन गए,’ उनको तर्क हुन्थ्यो । ‘नारी उठे पुरुषको अस्तित्व नामेट हुनेछ, तर अहिल्यै त्यसो गर्न चाहन्नौँ,’ बेलाबेलामा उनी कटाक्ष गर्थिन् । चुपचाप लाग्नु नै कल्याण ठान्थ्यो ऊ । 

‘मसँग क्रोध, विरोध र आक्रोशमा छ्यौ, तर सरोजबारे पनि त केही सोच’ भन्ने उसको आग्रहलाई तिरस्कारपूर्ण नजरले हेर्दै भन्थिन्, ‘विप्र, आखिर त्यो पनि त पुरुषै हो ! सानो छ, त्यति फरक हो । त्यसले पनि एक दिन नारीको अस्तित्वमाथि धावा बोल्नेछ । तिमीभन्दा कुनै हालतमा कम हुने छैन । संसारका जुनसुकै कुनाको भए पनि पुरुष पुरुषै हो । उसको रोमरोममा नारीप्रति घृणा, विद्वेष र तिरस्कार हुन्छ । यसर्थ तिमी र सरोजमा कुनै भिन्नता देखिरहेकी छैन मैले ।’

‘कठोर र निर्दयी नबन अनुपा ! भावावेशमा नदगुर । जीवन सोचेजस्तो सरल, सहज र सस्तो छैन । विद्वेषले सीमारेखा कोर्छ । नारीपुरुष दुवै अलग बाटाका सहयात्री हुन् । सोच्दै नसोचे हुन्छ त्यो । एक दिन नबुझी धरै छैन । म अनुरोध गर्छु– यो धर्सोलाई छाड्नु हितकारी हुनेछ । एकको अनुपस्थितिले मात्र अर्कोको जीवन सार्थक बन्न सक्दैन । सत्यको निम्ति सत्यकै विरोध नगर । त्यो विद्वेष फाल्नु नै सुखद हुनेछ ।’ उसको यस्तो प्रत्येक आग्रह हाँसेर उडाउँथिन् उनी ।

‘सरोजविरुद्ध जुन कुभाव पोख्यौ, त्यसले आमालाई कलंकित देखाउँछ । के गरेको छ त्यसले, एकफेर सोच त ! पुरुषप्रति विद्वेष छ भन्दैमा आफ्नै कोखको अठारमहिने शिशुको विपक्षमा जान सुहाउँदैन । आमाले अबोध सन्तानका विरुद्ध यत्रो हुँकार गर्न सक्छे ? तिमीभित्रको मातृत्व खरानी भइसक्यो ? यो विकासको द्योतक होइन, विनाशको चिन्तन हो । अनुपा आऊ ! आफ्नो भुलमा प्रायश्चित गर र फेरि सुखद दाम्पत्यका निम्ति सुन्दर गोरेटो निर्माण गरौँ । समय घर्किसकेको छैन, घिडघिडै भए पनि बाँकी छ । आमा सिर्जनाको मूल हो अनुपा, मूल ! धरती हो । फूलका विरुद्ध धरती नै लाग्छे, म कसरी कल्पना गरूँ ?’ यस्ता अनेकौँ आग्रह गरेको थियो उसले ।

छोरोेलाई दूध चुसाउन अस्वीकार गर्दै उनले भनेकी थिइन्, ‘अब म आमा र पत्नीको साङ्लोबाट मुक्त छु ।’

अनौठो लाग्यो उसलाई । परिवर्तन ! छोरोे उसको काखमा घोप्टेर औँलो चुसिरहेको थियो । घरीघरी आमातिर जाने प्रयत्न गर्थ्यो । उनी बारम्बार पन्छिन्थिन् ।

आँगनमा घरबेटी दिदी, स्कुलका शिक्षकशिक्षिका साथीहरू र उनकै दौँतरीहरूको जमघट थियो । सम्झाउने अनेकौँ प्रयत्नहरू लत्याइरहेकी थिइन् । पिँढीको एक छेउबाट ऊ आक्कलझुक्कल उनको अनुहार हेर्थ्यो । तर, उनीभित्र निर्दयी भावभन्दा बढी केही थिएन ।

कम से कम एकपटक त लाम्टो चुसाइदेऊ भन्ने उसको आग्रहमा बखेडा उब्जाएकी थिइन् । आफूतिर आउन लागेको छोरोलाई भुइँमा लडाएर अर्कोतिर हिँडेपछि उसको रिसको पारो चढेको थियो । रिसमा दुई मुक्का दिएको थियो ।

त्यसपछि जमघट बढ्दै गयो । निर्दयी बन्दै छोरोे र उसको विपक्षमा केके हो केके फलाकेकी थिइन् उनले । ऊ चुपचाप एक छेउबाट सुन्दै थियो ।

त्यसो त उपस्थित महिलाहरूले त्यति निर्दयी नबन्न अनेक आग्रह गरेका थिए । तर, जिद्दीबाट टसको मस भएकी थिइनन् । सबै आश्चर्यचकित थिए । आफूले जन्माएको सन्तानप्रति त्यति निर्दयी कसरी बन्न सक्छे एउटी आमा ? सबैका आँखामा आश्चर्य थियो ।

‘पारपाचुके गर्छु म,’ प्रस्ताव राखेकी थिइन् । घरबेटी दिदीले समेत सहमति जनाइन्, तर ऊ असहमत भयो । मलाई छाड्न र आफूखुसी गर्न दिन तयार छु, तर उनैको निम्ति दस्तखत गर्दिनँ– प्रस्ट पारेको थियो ।

उपस्थित महिलाहरूले ऊतिर कृतज्ञतापूर्ण आँखा लगाउँदै उनलाई सम्झाउने भगीरथ प्रयास गरेका थिए । तथापि, त्यसै दिन आफ्ना सामग्रीसहित कोठा छाडेर हिँडेकी थिइन् ।

त्यति बेलैदेखि अनुपासँगको भेटघाट बन्द छ । सरोज ६ वर्षको भयो । विद्यालयमा नामांकन समेत गरिसकेको छ । कुरा बुझ्छ । भनेको मान्छ । सिक्ने कुरामा सचेत र सजग छ । बानीव्यहोरा र चालचलनदेखि शिक्षक साथीहरू अत्यन्तै प्रभावित छन् ।

जन्म दिने आमाले छाडेको पनि साढे चार वर्ष भइसकेको छ । यसबीचमा एकपटक पनि आइनन् । आमाको हृदय यति कठोर होला ? वा मातृहृदय सन्तानप्रति त्यस्तो निर्दयी बन्न सक्ला ? यदाकदा प्रश्नले छाती छपक्क पुरिन्थ्यो उसको ।

द्वेष ऊसँग थियो । पुरुषविरुद्ध लड्ने दृढता गरेकी थिइन् र उसले पनि त्यो चिन्तनलाई स्वीकारेको थियो । तर, सरोजको के बिराम ? कम से कम भेटघाट त गर्नुपर्थ्यो । कस्तो संसार निमार्णमा डटेकी होलिन् ? सफलता हात पर्ला त ? प्रश्नले उसको छाती घरीघरी घोच्छ । 

के त, जीवनको अर्थ तिनीहरूलाई मात्र थाहा छ ? पति र छोरोेका विरुद्ध विद्धेषको खाडल खन्न उद्यत उनको सुखद संसार कस्तो होला ?

नारी उन्नतिका निम्ति नरको विनाश अनिवार्य छ ? अर्थात्, पुरुषको विपक्षमा प्रलाप नओकली नारीले प्रगतिको शिखरतिर पाइला बढाउन सक्दैनन् ? इतिहासले देखाएको छ, एकको विरुद्ध खनेको खाडलबाट अर्को पनि जोगिएको छैन । यो सत्य अगाडि देखिँदा देखिँदै किन अनुपा अन्धकारको पूजामा तल्लीन छिन् ? 

“बाबा, भन्नुस् न, आज नभने म सुत्दै सुत्दिनँ के ! भोलिदेखि तपाईंसँग बोल्दा पनि बोल्दिनँ र घरमा पनि आउँदिनँ,” सरोजले मुख भुक्क फुलाएर माग राख्यो । शब्दहरू कर्णगोचर भए ।

अझै बेलाबेलामा सुँकसुँँक गर्दै छ । “उठ्नुस् न भन्या बाबा, कति सुति’राको,” पुनः घचघच्यायो ।

घडीले बिहानको चार बजाएको छ । गृहस्थहरू बिहानी कार्यक्रममा जुट्ने तरखरमा होलान्– सोच्छ । छोरोेको घुँक्काले मनको पीडा अझै टाक्सिरहेको छ भन्ने प्रमाण दिइरहेछ ।

“बाबु, अझै निदाएको छैनौ ?,” मुहार सुमसुम्याउँदै काखमा राख्न खोज्छ, तर ऊ मान्दैन । झन् पर सर्छ । बत्तीको उज्यालोमा विप्र छोरोको अनुहार हेर्छ । रुँदारुँदा थाकेका छन् आँखा ।

भररात पोखिएका छौँ र आवश्यक परे अझै सक्छौँ भनिरहेझैँ लाग्छ । बलैलै काखमा तानेर राख्छ । दौराका तुनाहरू फुकेका छन् । अस्वाभाविक पारामा श्वासप्रश्वास बढेको भान हुन्छ । काखमा राखेर शरीर सुमसुम्याउँदै भन्छ, “बाबु, के भयो तिमीलाई ? भन त बाबालाई ।”

छोरोे झन् डाँको छोड्छ । उसका प्रयत्नहरू व्यर्थ बन्छन् । तथापि, प्रयास जारी राख्छ । अन्त्यमा मुख खोल्छ, “किन नभनेको त ! भोलिदेखि तपाईंसँग पनि बोल्दिनँ,” ठुस्कन्छ ।

जिउ रनक्क तातेको छ । ज्वरो नाप्छ । ओहो, एक सय तीन डिग्री पो रहेछ ! अत्यास लाग्छ । सिटामोल ख्वाइदिऊँ कि ? सोच्छ । तर, एक महिनाअघि डाक्टरले भनेको सम्झना आउँछ, ‘विप्रजी, जथाभावी औषधि नख्वाउनु होला । स्नेहको कुण्ठामा खुम्चिएको छ उसको स्वभाव । सक्नुहुन्छ भने चित्त दुख्ने कुनै पनि काम नगर्नु÷नगराउनु बेस ।’

कस्तो कस्तो लाग्छ । ढपक्क ढाक्छ अँगालोले । घुँक्क अझै बन्द भइसकेको छैन । “पानी... । नाईं, भन्नुस् न भन्या, बोल्दिनँ के,” बर्बराउँछ ऊ ।

“पानी ल्याऊँ ?,” छोरोेलाई सोध्छ, तर छोरोे बोल्दैन । काखैमा लुपुक्क निदाउँछ । ओछ्यानमा सुताउन खोज्छ, मान्दैन । “नाइँ बाबा, म पनि तपाईंसँगै जान्छु ।” उठ्न खोज्छ ।

ज्वरो हनहनी आइरहेको छ । अनुहार एक तमासको छ । नकाटी राखेको कपाल अस्तव्यस्त छ । “मलाई छाडेर नजानुस् है बाबा,” पुनः गम्लङ्ङ अँगालो हाल्छ र रुन थाल्छ ।

अनुपाले घर छाडेपछि उसको सरुवा भयो । उसैले पहल गरेको थिएन । घर र नाता कुटुम्बहरूबाट पुनः बिहे गर्ने थुप्रै सल्लाह र सुझाव थिए, तर मन मानेन । ज–जसका प्रस्ताव आउँथे, त्यहाँ ऊ केवल अनुपाको मात्र अनुहार देख्थ्यो ।

जिद्दी, हठ र एकोहोरोपनाले अँगाल्थ्यो । सबै प्रस्ताव अस्वीकार गर्दै गयो । यहाँसम्म कि एकपटक त अनुपाकी आमाले नै सरोजका निम्ति भए पनि विवाह गर्न आग्रह गरेकी थिइन् ।

ऊ तीस वर्षको छ । आपसी सम्बन्धमा तिक्तता आई अलग बस्न लागेको साढे चार वर्ष भयो । तर, विवाहबारे सोच बनाएको छैन । सँगै कार्यरत शिक्षिका साथीहरूले समेत प्रस्ताव राखेका थिए र छन् पनि । प्रत्युत्तर दिएको छैन ।

अनुराधाले त सरोजलाई नै छोरोे सम्झने तथा आफ्नो तर्फबाट कुनै सन्तानको अपेक्षा नराख्ने सर्तसहितको प्रस्ताव पठाएकी थिइन् । 

केही अघि सुन्यो– अनुपाले काम गरेको संस्थाले नारीको पक्षमा अदालतमा मुद्दा दायर ग¥यो । अर्को दिन फेरि सुन्नमा आयो– अन्य एक दर्जन मुद्दाहरू पुनः दर्ता गरिए । मनहरू पक्ष र विपक्षमा विभक्त बने ।

पत्रपत्रिकाले आ–आफ्नो दृष्टान्त दिए । स्थानीय बुद्धिजीवीहरूको सोच पनि बाँडियो । सहकर्मी शिक्षकहरू दुई खेमामा लागे । कोही यो त कोही त्यो पक्षमा ।

विद्यार्थीहरूको मत त पहिल्यै विभाजित थियो । यहाँसम्म कि नारीहरूको पक्षमा हालिएको त्यस मुद्दामा स्वयं नारीहरू पनि विभाजित बने ।

जित कसको होला र त्यसपछिको स्थिति कसरी अगाडि बढ्ला ? उत्सुकताको विषय भयो । चोक, चौतारी, गल्छी, गौँडा र जमघटहरूमा त्यसैले प्राथमिकता पाइरह्यो ।

रमा मिसले एकदिन सुनाउनुभयो– अनुपा काठमाडौंमा भेटिएकी थिइन् । सरोजको सम्झना समेत गरिनन् र विगत जीवनबारे पछुतो गर्दै थिइन् । उहाँलाई पनि आफूजस्तै विद्रोह गर्न उक्साइन् रे ! परिवर्तनको निम्ति नारी स्वयं उठ्नुपर्छ नत्र शताब्दीयौँसम्म दबिएरै बस्नुपर्छ रे !

उसलाई उदेक लागिरह्यो । अनुपाहरू केको पक्षमा आन्दोलनरत छन् ? सबै पुरुषलाई एकै कोटीमा राखेर हेर्न सकिन्न र त्यस्तो स्थिति नारीमा पनि लागु हुन्छ । राम्रो नराम्रो दुवैतिर छन् ।

यसकारण श्रेणी छुट्ट्याएर अगाडि बढ्नु नै हितकर हुन्छ मनुष्य उत्थानका निम्ति, तर अँहँ ध्यान त्यता आकृष्ट हुन सकिरहेको छैन । यही त छ बुझ्नै नसकिने पक्ष । 

“बाबा !,” छोरोले तन्द्रा भंग गरायो । अनुहार एकदम रातो न रातो देख्यो । ज्वरो एक अंश पनि घटेको छैन । एक मनले सोच्यो– अहिल्यै बताऊँ । अर्को मनले भन्यो– नराम्रो असर पर्छ कि ! हुनसक्छ, त्यसले भावी जीवनको मोड बदलियोस् । त्यसैले त अर्को विवाह नगर्ने निर्णय गरेको हो उसले ।

जे जस्तो कसम खाए पनि कालान्तरमा खर्लप्पै भुल्नेहरूबाट पूर्ण परिचित छ ऊ । अनुपा ज्वलन्त उदाहरण हुन्, जो आफू कसैकी पत्नी र आमा बन्नुलाई विगतको ठूलो भुल बताउने गर्छिन् ।

विवाह नगर्ने उसको प्रस्तावलाई नालायक, पानीमरुवा, लाछी र जीवनको मूल्य ठम्याउन नसक्ने व्यक्ति मान्ने उनी आज आफैँदेखि भागिरहेकी छिन् र भेट्टाउने उसका पाइलाहरू थाकिरहेछन् । अर्थ पहिल्याउने प्रयत्नमा आस्थाका डोबहरू मेटिइरहेछन् सदा सर्वदा ।

ऊ केवल भावको सागरमा थियो । कल्पनाको तलाउबाट करुण पुकार स्वीकार्दै बढेको । यति जिद्दीको पछि नलाग्न दाइले गरेको अपिललाई ध्यारधुर च्यातेको थियो । सम्भवतः आज त्यही भोगिरहेको छ ।

विश्वास बग्न हुँदैन भन्ने मान्यताविपरीत आफैँ खाडलमा खसिएको छ । उभिएको धरातल छियाछिया बनाउँदै अनुपा गन्तव्यको खोजीमा छिन् । आत्मविश्वासको निम्ति नै भए पनि धुरीको खर रछ्यानमा फाल्दै कुबाटो रोजिरहेछिन् ।

छापाहरूले लेखे– नारी विजयी भए । गन्तव्य फेला पारे । उसलाई पनि खुसी लाग्यो । विद्यार्थी अवस्थादेखि नै नारीप्रति अति संवेदनशील रहँदै आएको व्यक्ति ऊ । मातृत्व ग्रन्थीबाट प्रभावित उसको मस्तिष्क तिनीहरूप्रति हुने हिंसा, क्रूरता र अन्याय, अत्याचारबाट अत्यन्त पीडित हुने गर्छ । संवेदनशील हुन्छ । सहानुभूति रहन्छ ।

‘यो त आइमाईको पक्षपाती छ, सबै बताउन हुँदैन,’ काका र दाइहरू भन्ने गर्थे । त्यसैकारण अनुपाले पारपाचुके माग्दा समेत छुटकारा दियो, तर सहमत भएन ।

परिवर्तन हुने भयो । उनीहरू अघि लागून् । परम्परादेखि थिचिएकाहरूको हातमा अधिकार आएपछि चिन्तन, सोच अवश्य बदलिन्छन् होला । समानताको व्यवहार हुनेछ– सोच्यो । एक्लै ताली बजायो ।

अनुपाले जे जस्तो ठाने पनि म नारीपुरुष दुवैबिनाको सुखी र समृद्ध समाजको परिकल्पना गर्न सक्दिनँ– सोच्यो । अहिलेसम्म कहिल्यै एकांगी समाजको चित्र मस्तिष्कभित्र उभिएको छैन । ताली फेरि बजायो ।

सोच्यो– अनुपा निकै खुसी होलिन् । तिनीहरूको व्रत पूरा भयो । आराध्यदेवले वरदान दिए । फेरि, अर्को मनले ठान्यो– हैन, मुद्दा जित्नेबित्तिकै बराबर होलान् त ? अनि, सम्पूर्ण पुरुषहरू शिक्षित र अधिकार तथा कर्तव्यप्रति सचेत छन् ?

छैनन् । त्यसो भए आन्दोलनको सार्थकता के ? मथिंगल सोचसागरमा चुर्लुम्म डुब्यो, उत्तरको खोज ग¥यो, तर पाउन सकेन । हाँस्न खोज्यो, रुन पनि खोज्यो । अनि...

“बाबा, सुत्नुस् न तपाईं पनि,” छोरोले कमिजको फेर समातेर तान्यो । ज्वरो अझै थियो । दिउँसो डाक्टरले दिएको औषधिले पनि खासै काम गरेझैँ लागेन । बाह्र घण्टापछि मात्र औषधिले काम गरे÷नगरेको थाहा हुन्छ, नआत्तिनुहोला– सम्झन्छ डाक्टरको बोली । खुइय्य गर्दै छोरोको अनुहारतिर हेर्छ ।

एकपटक  पुनः तरंगित बनायो मन । घरपरिवार, इष्टमित्र, पत्नी, छोरोे र ऊ । जागिर, श्रीमतीको संकल्प र अठोट, पारिवारिक विद्वेष । पारपाचुकेसम्म पुगेर रोकिएको पतिपत्नीको नाता ।

साढे चार वर्षदेखि एकांगी रूपमा बितिरहेको जीवन । नारी अधिकार, स्वतन्त्रता, मूल्य–मान्यता र विश्वासका कुरा । छोरोको निम्ति बिहे नगर्ने उसको सोच र त्यसलाई केवल बहुलट्ठीपन मान्ने आफन्तजन । वर्तमानलाई मात्र हेर्ने मानवीय दृष्टिकोण । अनुपाको सोच तथा अझसम्म कायम रहेको जिद्दी !

औषधिले प्रभाव देखाउन लाग्यो । टाइफाइड भएको रहेछ । तंग्रिन निकै दिन लाग्यो । डाक्टरकै सुझावानुसार उसले ती प्रश्नहरूका उत्तर दिनुपर्ने भयो । ‘तपाईंले छोरोको चित्त नबुझाए बेथा फेरि उल्टिने सम्भावना छ ।’

उसले डाक्टरतिर अन्यमनस्क आँखाले हे¥यो । आत्तिनु पर्दैन– डाक्टरले भने–निको भएपछि भन्दा हुन्छ । यदि, अब पनि टार्ने मात्र काम गरिरहनुभयो भने अपेक्षा नगरेको कुरा पनि हुनसक्छ । ऊ झसंग भयो ।

सत्य जस्ताको तस्तै बताउँदा अप्ठेरो पर्ने त होइन ? आशंकाले ग्रस्त मन द्विविधामा अल्झिरह्यो । तर, आभास हुन दिएन । छोरोे क्रमशः स्वस्थ हुँदै गयोे । ऊ हरेक क्रियाकलापमा सहयोगी बनिरह्यो । खुसीका साथ औषधि खान र खेल्नमा आफूलाई लगाउन थाल्यो ।

उसलाई खुसी लाग्यो । सन्तानको खुसीमा स्वयंलाई समर्पण गर्ने अठोट सँगाल्ने बाबुछोरोेको उत्साहमा नरमाउने कुरै भएन । मन हर्षविभोर बनिरह्यो । खुसीको सागरमा चुर्लुम्म डुब्न खोज्यो ।

छोरोे पूर्ण स्वस्थ बनेपछि जिज्ञासा पूरा गर्छु भन्ने प्रतिज्ञा डाक्टरको अगाडि गरेको उसले सरोजलाई पनि आश्वस्त बनाएको छ । त्यो दिन पनि आयो । यथार्थ छोरोले ध्यानपूवर्क सुन्यो ।

त्यतिखेर सम्पूर्ण मस्तिष्क उहीमाथि खिचिरहेको थियो । जब उसको आखाँबाट आँसु झर्थे, तब ऊ निन्याउरो मुख बनाएर पुछिदिन्थ्यो । उसले ती कुराहरू भनिसक्दा सरोज र डाक्टर उसलाई टुलुटुलु हेरिरहेका थिए ।

“अब कहिल्यै सोद्धिनँ है बाबा,” छोरोले प्रस्ताव राख्यो । ऊ बोल्न सकेन, केवल मुखतिर हेरिरह्यो । आँखा भरियो र मनमा गाँठो प¥यो । बोल्ने प्रयासमा असफल भयो ।

कलिला हातले उसको मुहार सुमसुम्याउँदै फेरि भन्यो, “बाबा, अबदेखि म आमाको बारेमा कुरा पनि गर्दिनँ । आए पनि बोल्दै बोल्दिनँ,” छोरोले मुख कस्तो कस्तो बनाएर भन्यो ।

हाँ नाँ क्यै गर्न सकेन उसले । अनुपा एक दिन बाटो पहिल्याउन यहीँ आउनेछिन् भन्ने सोचमा अझै विश्वस्त थियो । त्यसकारण उनीप्रति छोरोेमा छाप नपरोस् भन्ने चाहेको हो ।

अनि, घृणात्मक धारणा नराखोस् – यतातिर पनि सचेत र सचेष्ट थियो । तर, आज नचाहँदा नचाहँर्दै बताउन बाध्य भयो ।

...टक्क अडियो छोरोे । डाक्टर र ऊ दुवै छोरोको अघिको खुसी र अहिलेको निराशा छामिरहेका थिए ।

अचानक ढोका ढकढकियो । ऊ चुपचाप थियो । पुनः ढकढकियो ।

“को बाबा ?,” उसले प्रश्न राख्यो  । “होला कोही । तिमी बस न, म खोल्छु ।” ऊ उठ्न खोज्दै थियो । फेरि ढकढक ग¥यो । डाक्टरले छेस्किनी तानिदिए । ढोका घ¥याक्क उघ्रियो ।

“अनुपा !...,” छक्क प¥यो ऊ । त्यतिखेरै सरोज पनि ढोकामा आइपुग्यो । उनी बोलिनन् । केवल उसलाई एक टकले हेरिरहिन् मात्र ।

“आऊ अनुपा आऊ । पक्का विश्वास थियोे, तिमी आउनेछ्यौ । क्षणिक आवेशमा घर छाड्यौ । गल्ती महसुस गर्दै फर्कनेछ्यौ– यही सोचेको थिएँ । त्यसैले पारपाचुकेको कागजमा सही नगरेको ।”

उनका आँखा आँसुले टम्म भरिएका थिए । भित्र पस्न हिचकिचाइरहेकी थिइन् ।

“स्वागत छ अनुपा, आऊ । तिमीले आफ्नो अधिकारको निम्ति पुरुष बाधक ठान्यौ, त्यो सोच गलत थियो । तिमीहरूको भुलको परिणतिले समय बिथोल्यो । त्यो सत्य थिएन । सेलायो र गयो । सम्झ अनुपा, तिमी सपनामा थियौ र त्यसैमा रमाउन चाहन्थ्यौ, जुन क्षणिक हुन्छ, अस्थायी हुन्छ । विपना सत्य हो र सत्यको फेरो खोज्दै आइपुगेकी छ्यौ, भैगो ।”

अनुपा बोल्नै सकिनन् । केवल हेरिरहिन् मात्र । सरोजलाई काखमा लिन खोजिन्, तर ऊ भाग्यो । डाक्टर, सरोज र उसले भित्र तथा अनुपाले बाहिरबाट एकार्कालाई खुब हेरे, तर उनको बोली फुट्न सकेन ।

“म त बोल्दिनँ है बाबा,” सरोज बुइँगलबाट भन्दै थियोे । उनको मुखबाट कुनै प्रत्युत्तर निस्किन मानिरहेको थिएन ।

उनी जहाँको तहीँ ठिंग उभिइरहेकी थिइन् ।
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro