site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पक्षघात उपचारमा प्रयोग हुने महँगो औषधि निःशुल्क वितरण सुरु

काठमाडौं । नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधि वन हार्ट वर्ल्डवाइडका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । 

Argakhachi Cement Island Ad

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधि सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए । ‘‘निकै महँगो औषधि किनेर दिन गाह्रो परेको थियो,’’ उनले भने, ‘‘कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौँ । अहिले औषधि उपलब्ध भएको छ ।’’

मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधि उपलब्ध गराउन थालिएको बताए । नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने उनले जानकारी दिए । 

मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधि उपलब्ध गराउनेछ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए । 

यस्तो औषधिको बजार मूल्य झन्डै दुई लाख पर्छ । तर, आर्थिक अभावमा महँगो खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधिको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफसँग पहल गरेका थिए । मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधि उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्