site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने ट्रम्पको घोषणा, इरानलाई चेतावनी

वासिङडन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गरेका छन् । अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतंकवादी संगठनका रूपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा गरिएको हो ।

“आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतंककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु । उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतंकवादको अनवरत अभियान चलाएका छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेखेका छन् ।

अमेरिकाले हुथी विद्रोहीविरुद्ध ‘अत्यधिक घातक बल’ प्रयोग गर्ने बताउँदै उनले उनीहरूले स्वेज नहर, रेड सी र एडेनको खाडीबाट ढुवानीमा अवरोध पुर्‍याएको आरोप लगाएका छन् ।

Argakhachi Cement Island Ad

उनले भनेका छन्, “अमेरिकी पानीजहाजमा हुथीको आक्रमण सह्य हुने छैन । जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौँ, तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ ।”

राष्ट्रपति ट्रम्पले अगाडि भनेका छन्, “हुथी विद्रोहीले विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गमध्ये एकमा पानीजहाज बन्द गरेका छन्, विश्वव्यापी बजारको विशाल भूभागलाई रोकेका छन् र नेभिगेसनको स्वतन्त्रताको मूल सिद्धान्तमाथि आक्रमण गरेका छन्, जसमा अन्तर्राष्ट्रिय व्यापार र वाणिज्य निर्भर छ ।”

उनले पूर्वराष्ट्रपति जो बाइडेनले हुथीविद्रोहीविरुद्ध दिएको ‘कमजोर’ प्रतिक्रियाको आलोचना गरे । हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले अमेरिका र विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको उनले बताएका छन् ।

चार महिनाअघि लालसागर हुँदै जाने अन्तिम अमेरिकी युद्धपोतमाथि हुथी विद्रोहीले दर्जनभन्दा बढीपटक आक्रमण गरेका थिए । इरानको आर्थिक सहयोगमा हुथी विद्रोहीले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन् । अमेरिकी सैनिक तथा सहयोगीलाई उनीहरूले निसाना बनाएका छन् ।

ट्रम्पले अगाडि भनेका छन्, “कुनै पनि आतंकवादी शक्तिले अमेरिकी व्यापारिक र नौसैनिक जहाजहरूलाई स्वतन्त्र रूपमा विश्वको जलमार्गमा यात्रा गर्नबाट रोक्ने छैन ।”

ट्रम्पले इरानलाई प्रत्यक्ष चेतावनी दिएका छन् । हुथी विद्रोहीलाई दिएको समर्थन अन्त्य गर्न र जारी रहे इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिएका छन् ।

हुथी आतंककारीलाई इरानको समर्थन तुरुन्तै समाप्त हुनुपर्ने अन्यथा उसले पनि यसको नराम्रो प्रतिफल प्राप्त गर्ने उनले चेतावनी दिएका छन् । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्