
काठमाडौं । अमेरिकी स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकले भारतमा एयरटेल र जियोसँग इन्टरनेट सेवा विस्तार गर्न सम्झौता गरेको छ ।
स्टारलिंकले भारतको दोस्रो ठूलो टेलिकम भारतीय एयरटेलसँग मंगलबार सम्झौता गरेको थियो । एकदिनपछि बुधबार जियोले पनि सम्झौता भएको घोषणा गरेको हो ।
अमेरिकी अर्बपति उद्यमी एलन मस्कको स्टारलिंक र भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स जियोबीच सम्झौता भएको हो ।
भारतमा स्टारलिंकलाई कसरी 'स्पेक्ट्रम' दिने भन्ने महिनौँको अन्योलपछि प्रमुख ठूला कम्पनीसँग सम्झौता भएको हो ।
भारतको सबैभन्दा ठूलो टेलिकम अपरेटर जियो र दोस्रो ठूलो एयरटेलका स्टोरहरूमा स्टारलिंकका उपकरण उपलब्ध हुने भएका छन् । यसले भारतका हजारौँ स्टोरमा सजिलै एलन मस्कको स्टारलिंक इन्टरनेट जोड्ने सुविधा मिल्नेछ ।
स्याटेलाइट इन्टरनेटका लागि कसरी 'स्पेक्ट्रम' तोक्ने भन्ने विषयमा मस्क र अम्बानी पक्ष टकराब भएको थियो । भारतले अन्ततः मस्ककै लबिङअनुसार निर्णय गरेको बताइएको छ ।
स्टारलिंकले विश्वका १२५ भन्दा बढी देशमा सेवा विस्तार गरिसकेको छ । ठूलो बजारका कारण मस्कले भारतलाई प्राथमिकतामा राखेका छन् । केहीअघि उनले भारतमा टेस्लाका गाडी बिक्री गर्न पहिलो सोरुम खोल्न सम्झौता गरेका थिए । आयातित गाडीमा शतप्रतिशत कर भएका कारण मस्कले त्यसको विरोध गर्छन् ।
रोयटर्सबाट ।