
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणमा भन्दा क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार कोसी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, "लोकतान्त्रिक व्यवस्थामा ३३ प्रतिशत महिलाले प्रतिनिधित्व गरेका छन् । आरक्षणभन्दा क्षमता अभिवृद्धिको अवसर बढाउन पाइयोस् । छोराछोरीलाई राम्रो पढाउन पाइयोस् ।" उनले सरकार यही दिशामा काम गरिराखेको दाबी गरे ।
विश्व जगतमा उपलब्ध साधनहरू नेपालीले समेत उपयोग गर्न पाएको चर्चा गर्दै कोसी प्रदेशले राम्रो कानुन बनाउनेमा विश्वास रहेको बताए । उनले संघीय सरकार सधैँ साथमा रहेको बताउँदै अहिलेको सरकारका लागि चर्को स्वर नचाहिने र जनताको कुरा सुन्ने सरकार भएको बताए । "जनता र जनप्रतिनिधिका कुरा सुन्ने अहिलेको सरकार हो," उनले भने ।
ओलीले आफू समेत विभिन्न रोगको सामना गर्दै बाँचेको बताउँदै उमेरको कुराभन्दा पनि आफू दुख गरेर यो अवस्थामा आएको सुनाए । "मलाई कुनै लफडा र वादविवाद गर्नुछैन । म सबैको कुरा सुन्न तयार छु । म राष्ट्रिय एकताको पक्षमा छु," उनले भने । ओलीले कोसी प्रदेशको उन्नतिमा आफू क्रियाशील रहने बताए ।