
काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई निरन्तर धम्की दिए । ट्रम्पले क्यानडालाई संयुक्त राज्य अमेरिकाको ५१औँ राज्य बनाउने प्रस्ताव राखे, अमेरिका आउने क्यानडाका उत्पादनमा कर बढाउने घोषणा गरे ।
तर, ट्रम्पका गतिविधिले क्यानडाको सत्तामा रहेको ट्रुडोको लिबरल पार्टीलाई ठूलो फाइदा भएको छ । हालै सार्वजनिक भएको चुनावी सर्वेक्षणमा लिबरल पार्टीले विपक्षी कन्जरभेटिभ पार्टीभन्दा बढी लोकप्रियता हासिल गरेको छ । इप्सोसको पछिल्लो सर्वेक्षणमा लिबरलले ३८ प्रतिशत र कन्जरभेटिभले ३६ प्रतिशत समर्थन पाएको छ ।
जबकि, ६ हप्ताअघि कन्जरभेटिभ पार्टीलाई ४६ प्रतिशत र लिबरललाई १२ प्रतिशतको मात्र समर्थन थियो । ६ हप्तामा लिबर पार्टीको लोकप्रियता २६ प्रतिशतले वृद्धि भएको छ ।
ट्रम्पको आक्रमणका बाबजुद ट्रुडोले क्यानडाको आवाज उठाउन कुनै कसर बाँकी नराखेकै कारण लिबरलको लोकप्रियता बढेको बताइन्छ । कन्जरभेटिभहरूले ट्रम्प विरोधी भावना र लिबरल पार्टीको नयाँ नेतृत्वबाट चुनौतीको सामना गरिरहेको इप्सोसको भनाइ छ ।
अन्य दुई सर्वेक्षणहरूमा पनि लिबरल र कन्जरभेटिभको सार्वजनिक समर्थन लगभग बराबर छ । लेजर पोलमा कन्जरभेटिभले ३८ प्रतिशत समर्थन प्राप्त गरेको छ भने लिबरलले ३५ प्रतिशत समर्थन पाएको छ । इकोस पोलको सर्वेक्षणमा ३८ प्रतिशतले लिबरल पार्टीलाई र ३७ प्रतिशतले कन्जरभेटिभ पार्टीलाई समर्थन गरेका छन् ।