site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसी रोकेको अमेरिकाले नेपाली सेनालाई जहाज र हेलिकोप्टर दिन के गर्ला ?
फाइल तस्बिर

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति भएपछि अमेरिकाले दिँदै आएको वैदेशिक सहायता रोकेका छन् । 

उनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत प्रवाहित हुने सहायता मात्र होइन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई उपलब्ध गराउने भनिएको सहायता पनि रोकेका छन् । 

यी घटनापछि प्रश्न उठेको छ– विगतमै निर्णय भएको नेपाली सेनालाई छिट्टै उपलब्ध गराउने भनिएका दुई वटा विमान (स्काई ट्रक) र दुई वटा हेलिकप्टर दिन अमेरिकाले के गर्लान् ? 

“नेपाली सेनालाई दिने भनिएको विमान र हेलिकप्टर सहायता रोकिएको जानकारी हामीले पाएका छैनौं । यसैकारण विमान र हेलिकप्टर नेपाली सेनालाई उपलब्ध गराउने प्रक्रियामै अमेरिका छ भन्ने हाम्रो बुझाई छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बाह्रखरीसँग भने । 

अमेरिकाले काठमाडौंस्थित आफ्नो दूतावासमार्फत यूएसएआईडी  र एमसीसीसले उपलब्ध गराउने आर्थिक सहायता रोकिएको जानकारी नेपाल सरकारलाई दिइसकेको छ । तर, नेपाली सेनालाई उपलब्ध गराउने भनी घोषणा भइसकेका दुई वटा जहाज र दुई वटा हेलिकप्टरबारे कुनै सूचना पठाएको छैन । 

अमेरिकी दूतावासले गत माघ १४ गते अर्थ मन्त्रालयलाई यूएसएआईडीमार्फत उपलब्ध हुँदै आएको सहायता ९० दिनका लागि रोकिएको जानकारी दिएको थियो । यस्तै, यही फागुन २ गते एमसीसीले आफ्नो सहायता ९० दिन स्थगन भएको जानकारी अर्थ मन्त्रालयलाई गराएको थियो । 

“विमान र हेलिकप्टर कहिले आइपुग्छ टुङ्गो छैन, आउँछ भन्ने छ,” सैनिक प्रवक्ता केसीले भने । 

२०८१ साउनको अन्तिम साता नेपाल भ्रमणमा आएका तत्कालीन अमेरिकी व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले नेपाली सेनालाई दुई वटा जहाज (स्काई ट्रक) र दुई वटा वेल हेलिकप्टर दिने सूचना दिएर फर्केका थिए । 

उनले प्रधानमन्त्र केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा ती जहाज र हेलिकप्टर विपद् प्रतिकार्यका लागि अनुदान सहयोगस्वरुप नेपाली सेनालाई उपलब्ध गराउने बताएका थिए । 

वर्मा फर्केपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको विपद् प्रतिकार्य र हवाई क्षमता सुदृढ बनाउन अमेरिका प्रतिवद्ध रहेको उल्लेख गरिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘फरेन मिलिटरी फाइनान्स’अन्तर्गत हवाई क्षमता सुदृढ गर्न नेपाललाई १० करोड अमेरिकी डलर (तत्कालिन विनिमयदर अनुसर १३ अर्ब ३८ करोड रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने जनाएको थियो । विज्ञप्तिमा विमान तथा हेलिकप्टरको संख्या भने उल्लेख गरिएको थिएन ।

परराष्ट्रमन्त्री राणाले नेपालको विपद् व्यवस्थापन प्रयासमा सहयोग पुर्‍याउन दुईवटा विमान (स्काई ट्रक) र दुईवटा वेल हेलिकप्टर उपहारस्वरुप दिन लागेकामा वर्मा र अमेरिकी विदेश मन्त्रालयलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी थिइन् । 

वर्माले नेपाललाई उपलब्ध गराउने भनेको जहाज तथा हेलिकप्टरको जरो सन् २००२ मा जोडिन्छ, जतिबेला माओवादी सशस्त्र संघर्ष देशमा चर्किएको थियो ।

माओवादी सशस्त्र संघर्ष चर्किएपछि सन् २००२ मा माओवादी दबाउन अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक दिने प्रतिबद्धता जनाएको थियो । सन् २००२ मा गरेको प्रतिवद्धता पूरा नगर्दै अमेरिकाले सन् २०१५ मा नेपाललाई थप दुईवटा स्काई ट्रक उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि अमेरिकाले पहिले गरेको प्रतिबद्धतामा दुई जहाज थप गरी ४ वटा स्काई ट्रक नेपाली सेनालाई उपलब्ध गर्ने प्रतिबद्धता जनाएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि विपद् प्रतिकार्य निम्ति स्काई ट्रक दिने प्रतिवद्धता अमेरिकाले गरेको थियो । 

सन् २०१९ को जनवरीमा अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका तत्कालीन कमाण्डर एड्मीरल फिलिप एस. डेभिड्सनले नेपाल भ्रमण गरेका थिए । त्यहीबेला नेपालले १७ बर्ष पुरानो प्रतिबद्धता सम्झाएको थियो । त्यसपछि उनले प्रक्रिया अघि बढाउन मद्दत गरेका थिए ।

प्रक्रिया अघि बढेपछि सन् २०१९ मा अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक उपलब्ध गराएको थियो । 

सन् २०१९ को डिसेम्बरमा नेपाली सेनाले अमेरिकी अनुदान सहयोगमा २ वटा कार्गो जहाज (स्काई ट्रक) प्राप्त गरेको थियो । ती दुई स्काई ट्रकको मुल्य २ करोड २४ लाख ७२ हजार ५ सय ७५ अमेरिकी डलर थियो ।

सन् २०१९ मा नेपाली सेनाले प्राप्त गरेको दुईवटा एम २८ स्काई ट्रक पोल्याण्डमा पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेएल) ले निर्माण गरेको थियो ।

अमेरिकाले सन् २००२ र २०१५ मा प्रतिवद्धता गरेका चारवटा स्काई ट्रकमध्ये नेपाली सेनाले हालसम्म दुईवटा मात्र प्राप्त गरेको छ । दुईवटा प्राप्त गरेको छैन । प्राप्त हुन बाँकी दुईवटा स्काई ट्रक र थप दुईवटा वेल हेलिकप्टर दिने निर्णय अमेरिकाले गतवर्ष गरेको थियो ।

ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेपछि सैन्य खर्च कटौती र विदेश सहायता रोक्ने नीति लिएका छन् । उनले यूएसएआईडी र एमसीसीमार्फत उपलब्ध गराउँदै आएको आर्थिक अनुदान सहायता स्थगित गरिसकेका छन् ।
नेपाली सेनालाई उपलब्ध गराउने सहायताका विषयमा भने कुनै निर्णय गरेका छैनन् । नेपाली सेना भने विमान र हेलिकप्टर प्राप्त हुनेमा आशावादी छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro