site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
परिवार कुरिरहेका घर 

पोखरा । ‘सडक तिमी अब गाउँ आयौ
सारा गाउँवासी सहर चलिसके 
सडक फिस्स मुस्कुरायो 
अरे भाइ, तिमी कति सोझो छौ,
ढुंगा, काठ अनि खनिज त अझै छ नि, हैन !’

महेशचन्द्र पुनेठाले लेखेको यो कविताले नेपाली गाउँको वास्तविकता भन्छ । यो कथा होइन, यथार्थ हो – हाम्रै्र जनगणनाले देखाएको बसाइँसराइको तथ्यांकले प्रमाणित गर्छ ।

हो, सुरुमा गाउँमा मानिस थिए, उनीहरूले सडक कुरे । गाउँमा सडक पुग्यो, तर मानिस छैनन् । सडक मानिस कुरिरहेछ । केही वर्षपहिला यो पंक्तिकारले बेलायतको कोलवर्न सिटीका तत्कालीन मेयर जगन्नाथ शर्मालाई प्रश्न गरेको थियो, ‘गाउँ किन रित्ता हुँदै छन् ?’

Dabur Nepal
NIC Asia

पर्वतको विहादी गाउँपालिका–३ मा जन्मेका उनको घर पनि खण्डहरजस्तै छ । उनी जन्मेको घर ०७२ को विनाशकारी भूकम्पमा पूर्ण रूपमा क्षति भयो । उक्त घरमा कोही छैनन् । त्यसो त सद्दे घर हुनेहरू पनि गाउँमा छैनन् । गाउँका रित्ता घर बाँदरलाई बिगबिगी मच्चाउने थलो बनेका छन् ।

विहादीबाट बसाइँ सरी बेलायती राजनीतिमा पुगेका शर्माले भनेका थिए, ‘अझै पनि गाउँमा हुनुपर्ने विकास भएको छैन, समयानुसारको मात्रै भएको छ । पहिले र हालका मानिसका अपेक्षा पनि निकै बढी छ । मानिसले सूचना सहजै पाएका छन् । स्वतन्त्रता पनि पाएका छन् । दुःख नगरी धनी बन्ने मानिसको चाहना पनि भयो ।’

गाउँमा खेतीपातीबाहेक रोजगारीको अवसर छैन । शिक्षा राम्रो छैन । सहरका बोर्डिङमा पढाएपछि रामो शिक्षा पाइन्छ भन्ने लाग्छ ।

‘मेरो त जन्म गाउँ, त्यहाँबाट हुर्केको हुनाले गाउँमा कति दुःख छ, कति मिहिनेती छन् – मलाई थाहा छ । शिक्षा छैन, आर्थिक स्थिति कमजोर छ, जग्गाको भाउ पनि छैन । अवसर पाएका छैनन्,’ उनले भनेका थिए ।

युवाविहीन गाउँ

के गाउँ रित्ता हुनुमा असमान विकास मात्रै हो त ? दिवंगत नेता प्रदीप गिरिले बजेट वक्तव्यमा प्रयुक्त वाक्यांश फेर्न सुझाएका थिए ।

बजेटमा अर्थमन्त्री उल्लेखित वाक्यांश थियो, ‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त सहर भएको तथा मुलुकको विकासको स्वरूप सहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासतर्फ कार्यक्रम प्रस्ताव गरेको छु ।’

गिरिले त्यो वाक्य फेर्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए । उनको भनाइ थियो, ‘म सरकारलाई भन्न चाहन्छु– यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने यो बजेट म पूर्णतया स्वीकार गर्छु । आधुनिक सभ्यताको मानक सुविधायुक्त सहर हो त ? काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन ? यसलाई तपाईं ढाँटले लेख्न सक्नुहुन्छ, आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ बनाएर गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन ?’

उनले सहरको सट्टा गाउँ लेख्न भनेका थिए । उनले भनेका थिए, ‘मेरो बिन्ती छ, प्रार्थना छ– सहरलाई गाउँ गरिदिनुस् ।’

तर, सरकार त्यसरी अघि बढेन । राष्ट्रिय जनगणना २०७८ का अनुसार, गण्डकी प्रदेशमा परिवार संख्या सबैभन्दा कम अर्थात् ३.६६ छ । १० वर्षअघि यहाँ एक परिवारमा ४.१६ जना रहन्थे ।

मानव जनशक्तिलाई विश्वभर देश विकासको ठूलो स्रोत मानिन्छ । युवा वा सक्रिय उमेर समूहका मानिस घट्ने र वृद्धवृद्धाको संख्या बढ्नु भनेको श्रमशक्तिको अभाव हुनु हो ।  औसत आयु बढी भएको जापानले पनि श्रमशक्तिको समस्या भोगिरहेको छ । ऊ बाह्य स्रोतबाट जनशक्ति आपूर्ति गर्नुपर्ने बाध्यतामा परेको छ ।

यही गतिले जनसंख्या वृद्धि घट्दा भोलि नेपालको नियति पनि त्यही हुने हो । यो तथ्यलाई गण्डकीको स्थितिपत्रमा औँल्याउँदै भनिएको छ, ‘केही दशकपछि मुलुकमा ज्येष्ठ नागरिकहरूको संख्या बढ्दै जानेछ, युवाहरूको संख्यामा कमी आउनेछ । यसको मतलब, अरूमा आश्रितहरू बढ्नेछन्, सक्रिय रूपमा काम गर्नेहरू घट्नेछन् । र, राज्यले सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेछ ।’

२०६८ सालको जनगणनाअनुसार, गण्डकीबाट विदेशिनेको संख्या तीन लाख २२ हजार थियो । २०७८ मा भने ४९ हजार ४५० महिलासहित दुई लाख ८७ हजार ४५० जना बाहिरिएको तथ्यांक छ ।

गण्डकीमा रोजगारका क्षेत्रको विकास नहुनुले पनि विदेशिनेको संख्या बढेको हो । गण्डकीको श्रमबजारले तीन लाख ३२ हजार ३७२ जनालाई रोजगारी दिएको तथ्यांक छ । सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने ५१ हजार पुरुषको संख्या जोड्दा पनि प्रदेशले सबैलाई रोजगारी दिन सकेको देखिँदैन ।

नेपाल मानव विकास सूचकांक २०१२ का अनुसार, गण्डकी प्रदेशमा १५ देखि ५९ वर्षको काम गर्ने सक्रिय उमेर समूहमा १३ लाख ६७ हजार ७३८ जनसंख्या थियो । त्यसमध्ये १० लाख ७३ हजार ८५८ (७८.५ प्रतिशत) आर्थिक रूपले सक्रिय थिए । हाल यो संख्या बढेको गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गिरिधारी शर्माको भनाइ छ ।

सडक पुग्यो, अवसर पुगेन

नेपालमा विकासको योजना कहिलेदेखि कोरियो ? यसको धेरै लामो इतिहास छैन । वि.सं. २००० देखि आर्थिक, सामाजिक, राजनीतिक अवस्थाको योजनाबद्ध तयारीको प्रारम्भकाल मानिन्छ ।

यो ८० वर्ष वरपरबाट मानिसको बसाइँसराइ पहिलेभन्दा बढी भएको देखिन्छ । बसाइँसराइका लागि विकास कारक बन्छ । विकास कहाँ हुनुपर्ने भन्ने विषयमा बीपी कोइरालाले उदाहरणसहित चिन्तन गरेका थिए ।

बीपीले ०३८ साल पुस १६ गते काठमाडौंको खुलामञ्चमा आफ्नो अन्तिम भाषणमा विकास आँकडामा देखिएर नहुने औँल्याएका थिए । ‘विकास कहाँ हुनुपर्ने हो ?’ उदाहरण पेस गर्दै उनले भनेका थिए, ‘एक–दुईवटा उदाहरण दिएर मेरो कुरा प्रस्ट पार्छु । अस्ति म एउटा समारोहबाट फर्किंदै थिएँ, त्यो समारोहभित्रको वातावरण र बाहिर अड्याएका ठूला–ठूला महँगा मोटरगाडीहरू देख्ने जोसुकैले पनि भन्ने थियो, नेपालमा ठूलो विकास भएछ र यहाँका मानिस धेरै धनी भएछन् ।’

दोस्रो उदाहरणमा बीपीले भनेका थिए, ‘म पहाडतिरबाट यहाँ (काठमाडौं) आएर डेरा गरी बस्ने केही विद्यार्थीहरूको कोठामा गएँ । उनीहरू चार–पाँचजना एउटै कोठामा बसेका थिए, जसमा सुकुल बिछ्याइएको थियो । त्यसलाई मैलो तन्नाले ढाकेको र तकिया पनि त्यस्तै मैलो थियो । उनीहरू त्यस्तैमा सुत्दा रहेछन् । बगलमा एउटा फोहोर होटेल थियो, जहाँ उनीहरू खान्थे । होटेलको अवस्था हेर्दा थाहा हुन्थ्यो, त्यहाँ सफा र स्वस्थ्यकर भोजन दिइँदैन । ती दुई अनुभवले मलाई के लाग्यो भने यहाँ दुईवटा नेपाल रहेछ । एउटा महँगा मोटर गाडी चढ्ने नेपाल र अर्को गाउँको गरिब नेपाल ।”

बीपीको यो भनाइले के प्रस्ट पार्छ भने नेपालको विकास मोडेलमा उति बेलादेखि नै समस्या थियो । केही ठूला सहर, फराकिला बाटोलाई मात्रै विकास भन्न सकिन्न । त्यो फराकिलो सडक, ठूला सहरका गगनचुम्बी भवनहरू उत्पादनसँग जोडिन सक्यो कि सकेन भन्ने विषयले विकास भए/नभएको निर्धारण गर्छ ।

जब सडक गाउँमा पुग्यो, मानिसले सुविधा पाए । सुविधाका लागि अवसर अनिवार्य हुनुपर्‍यो । तर, गाउँमा अवसर जुरेन । विकासले अवसर नजुराएपछि अवसरका लागि गाउँबाट मानिस सहर झरे । अनि, गाउँ रित्तियो ।

गाउँ कहाँ छ त ? मूलतः मध्यपहाडी लोकमार्ग दायाँबायाँ नै ठूला गाउँका नमुना हुन् । मध्यपहाडी लोकमार्गसँगै लोकमार्गको दक्षिणउत्तरका गाउँमा बाटाहरू पुगेका छन् । साना बजारहरू विस्तार भएका छन् । यद्यपि, लोकमार्गले छोएको २६ मध्ये २० जिल्लामा जनसंख्याको वृद्धिदर नकारात्मक देखिएको छ ।

मध्यपहाडीले नछुँदासम्म ती जिल्लामा जनसंख्याको वृद्धिदर सकारात्मक थियो । राष्ट्रिय जनगणना २०५८ अनुसार, मध्यपहाडीले छोएका जनसंख्या जिल्लाको कुल जनसंख्या ५५ लाख ८० हजार ३६८ थियो । 

२०६८ सालमा यो संख्यामा ०.६३ प्रतिशतले वृद्धि भएर ५९ लाख ४३ हजार १४६ पुग्यो । तर, २०७८ को जनगणनाको तथ्यांकानुसार अघिल्लो दशकको भन्दा पछिल्लोपटक घटेको छ । त्यसानुसार जनसंख्या वृद्धिदर –०.२८ प्रतिशत घटेर ५७ लाख ७८ हजार ९०५ रह्यो । यहाँ एक दशकमा एक लाख ६४ हजार १६१ जनाले जनसंख्या घटेको देखिन्छ ।

राष्ट्रिय जनगणनाको तीनपटकको उल्लेखित तथ्यांक केलाउँदा गाउँमा जब विकास पुग्यो, अर्थात् राजधानी, सदरमुकाम बाटोले नजिक गरायो, जनसंख्या वृद्धिमा नकारात्मक देखिनु ‘गाउँ पुगेको विकास’ले जनतालाई त्यहाँ अड्याउन सकेन भन्ने पुष्टि हो ।

नारामा सीमित समृद्धि 
विकासको उच्चरूप समृद्धि हो । नारा समृद्धिको छ । तर, त्यो नारामा मात्रै सीमित देखिन्छ ।

अन्तिम राणाकालीन प्रधानमन्त्री मोहनशमशेरले पहिलोपटक योजनाबद्ध विकासको घोषणा गरेका थिए । २००५ भदौ ११ गते मोहनशमशेरले आफ्नो भाषणमा भनेका थिए, ‘मैदान, झरना, ताल, जंगल, खोला अनगिन्ती भएका, कस्तुरी, गैँडा, कुट, सुर्ती, धान, उन, कपास, सनपाट, सिसा, तामा, आँप, सुन्तला जताततै पाइने हिमाल–मधेस जोडिएको सर्दी–गर्मी मिलेको यस्तो देशको सेवा गरी सिँगार्न–सपार्न कसलाई इच्छा नहोला ? नेपालको आर्थिक अवस्थाको उन्नति गराउन उपर्युक्त प्राकृतिक धनको सदुपयोग हुनुपर्छ । त्यसैले यो आर्थिक योजना समिति खडा गर्नुपरेको हो ।’

त्यसपछि योजनामा विकासे भाषा फेरबदलसहित विकासे योजना बनेका छन् । त्यसको दीर्घकालीन योजना कहिल्यै बनेन ।

यो तीन दशकमा गाउँ किन खाली भयो ? जनसंख्या वृद्धिदर किन नकारात्मक देखियो ? यसको उत्तर सहजै छ । कृषिमा आधुनिकीकरण नहुनु, उत्पादित सामानले बजार नपाउनु, उत्पादन लागत बढ्नु ।

उत्पादित वस्तु बेचबिखनबाट जीविकोपार्जन नहुने देखेपछि बसाइँसराइले तीव्रता पायो । उत्पादन निर्वाहमुखी मात्रै देखिन्छ । विकास पुगेपछि गाउँको उत्पादन सहरमा पुगोस् भन्ने हो । तर, सहरका सस्ता वस्तु गाउँमा पुगे । गाउँमा उत्पादन हुन छाड्यो ।

औद्योगिकीकरण, उत्पादित वस्तुको बहुउपयोगी उत्पादन गरे मात्रै गाउँमा रोजगारीको सिर्जना र अवसर प्राप्त हुने हो । तब मात्रै बसाइँसराइ रोकिन्छ ।

कीर्तिनाथ पौडेलको आँगनछेवैमा मोटरबाटो, बिजुली, पानी, विद्यालय पनि नजिकै । असुविधा खासै थिएन । गाउँको विकास अझै बढी कसरी गर्ने र बसाइँसराइ कसरी रोक्न सकिन्छ होला भन्ने सोचिरहन्थे । सोच्दासोच्दै गाउँ पातलिन थाल्यो ।

बागलुङ–कुश्मिसेरा सडकका कारण जैमिनी नगरपालिका–१, टुनिबोटका पौडेलको घरछेउमै पहिरो खस्यो । छिमेकी दुईजनाले ज्यान गुमाए । आधा दर्जन घर पहिरोमा बगे । त्यसपछि पौडेलको सोच बदलियो ।

०७८ जेठ ३ गते जन्मथलो छाडेर उनी चितवन झरे । हाल चितवनको रत्ननगर नगरपालिका–१२, घेगौली टोलमा बस्छन् । “पहिरो नियन्त्रण भएर घरबस्ती जोगिने छाँट देखिनँ,” उनले भने, “नपुग्ने भन्ने केही थिएन, तर पनि नियतिले गाउँ छाड्नुपर्दा मनमा सन्तोष कहाँ हुनु र ?”

बागलुङकै काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका २२१ सदस्य बसाइँ सरे । काठेखोला–५, बिहुँ गाउँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ सदस्यले गाउँ छाडेको तथ्यांक गाउँपालिकासँग छ ।

गाउँपालिकाबाट बसाइँसराइपत्रसहित हिँड्नेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेको संख्या पनि उच्च छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको काठेखोला–५ र ६ सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुई सामुदायिक क्याम्पस, विद्यालयहरू, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायत संरचना छन् । तर, गाउँ रित्तिन छाडेको छैन ।

उता, बसाइँसराइ बढेपछि पर्वतमा त अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग नै बन्द भयो । तत्कालीन पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी गाउँपालिका–३, देउरालीस्थित घुरुंगामा भूमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग खोलिएको थियो ।

०७४ फागुनदेखि सञ्चालित उद्योग ०७८ सालमा बन्द भयो । तत्कालीन समयमा झन्डै २० लाख रुपैयाँको लागतमा उद्योग सञ्चालन गरिएको थियो ।

यता, स्याङ्जाको वालिङमा बसाइँ सरी आउनेको तुलनामा बाहिरिने तेब्बर छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनानुसार, वालिङमा पछिल्ला दुई आर्थिक वर्षमा एक हजार ४१७ जना बसाइँ सरेर गएका छन् । ४८१ जना बसाइँ सर्दै आएका छन् । वालिङ स्याङ्जाकै सुविधासम्पन्न नगरपालिका पनि हो ।

आन्तरिक बसाइँसराइ बुझ्न यी दृष्टान्त काफी छन् । सुविधा भए पनि प्राकृतिक विपत्ति र अर्कोतर्फ सेवा–सुविधाविहीन भएका कारण अवसर खोज्दै गाउँबाट बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ ।

सडक सञ्जाल राम्रो छ । कलेज, बैंक, स्वास्थ्यचौकी, खानेपानीको राम्रो प्रबन्ध, केबल टीभी, इन्टरनेटजस्ता सुविधा गाउँमा पछिल्लो समय थपिइरहेका छन् । तर, यसले मात्र सर्वसाधारणको आवश्यकता पूर्ति गर्न सकेको छैन ।

गाउँमा आम्दानी र उद्यमशीलता वृद्धि हुन सकेको छैन । अनि, अवसर खोज्दै स्थानीय अन्यत्र जाने क्रम रोकिएको छैन । कोही आफ्नै जिल्लाको सदरमुकाम पुगेका छन् । कोही अलि ठूलो बजार त केही तराईतिर झरिरहेका छन् । काठमाडौं पुगेर त्यहीँबाट विदेश हानिनेको संख्या पनि कम छैन ।

‘संकथन मन्थनमाला, २०८०’ पुस्तकमा ‘गाउँसहर चिन्तन’ शीर्षकमा राजनीतिशास्त्री पिताम्बर शर्माले लेखेका छन्, “सहरको चिया पसल वा रेस्टुरेन्टमा नहुने विश्वव्यापी कुरा गाउँमा हुन्छन् । बाहिरी जगत्मा देखेको परिवर्तन आफ्नो गाउँठाउँसँग तुलना गर्छन् । अनि, केही गरूँगरू भन्ने भावना जागृत भएर गाउँ छाड्छन् ।”

शर्माका अनुसार, नयाँ पुस्ता सीमित अवसर भएको ठाउँमा बस्न चाहँदैन । धेरैलाई धन कमाउने इच्छा हुन्छ ।

परिवारको जीवनयापन सुविधाजनक बनाउने चाहना हुन्छ । यो स्वाभाविक र आवश्यक पनि हो । फेरि, सञ्चारमाध्यमले बढाएको चेतनाले गाउँमा उपभोक्तावादले डेरा जमाएको छ । त्यसैले केही सुविधा बढे पनि रोजगारी र उद्यम संकुचित भएकाले गाउँमा टिक्न गाह्रो भएको हो  । 

एक अध्ययनानुसार, गण्डकी प्रदेशमा ६० प्रतिशत परिवारका जमिन बाँझो छ । ५५ प्रतिशत किसानलाई वर्षभरि खान पुग्दैन । आय सीमित छ । पहाडबाट बसाइँ सर्नुको मुख्य कारण खान नपुग्नु हो ।

सरकारले पहाडी कृषिको पूर्वाधार विस्तार, सिँचाइ र उत्पादकत्व बढाउने कामै गरेन । भएको उत्पादनले खान पुग्दैन । अनि, गाउँ छाड्नुको विकल्प हुँदैन । 

शासकीयवृत्तले सोच्ने हो कि !
बीपी कोइराला प्रधानमन्त्री हुँदा भनेका थिए, ‘सिंहदरबारको कार्यालयका भित्तामा किसानले हलो जोतिरहेको फोटो राख्नू ।’

यो सम्झिन कि विकास र योजनाको सार्थकता किसानको जीवनमा देखिनुपर्छ । तर, किसानलाई भित्ताकै फोटोमा सीमित गरियो । सत्ताले किसानलाई सधैँ भित्तामा पुर्‍यायो ।

संविधान र व्यवस्था बदलिए । तर, किसानको दुःख घटेन । अवस्था नबदलिएपछि बसाइँ सर्नुको विकल्प छैन ।

त्यसो त नेपालको इतिहास हेर्ने हो भने अधिकांश कहीँ न कहीँबाट बसाइँ सरेर आएको देखिन्छ । यो आफैँमा नराम्रो होइन ।

अवसरको खोजीमा बसाइँसराइ गरिन्छ । कहाँ गएर आकांक्षा पूर्ति होला, रोजगारी मिल्ला, छोराछोरी हुर्काउन होस् या पढाउन सकिएला, परिवार र बुढेसकाल राम्रोसँग बित्ला भन्ने चिन्ताले नै बसाइसराइप्रति उत्प्रेरित गर्ने हो ।

योजनाविद् स्व. डा. हर्क गुरुङले बसाइँसराइका विषयमा भनेका थिए, ‘भित्तामा वा काठमा ठोकिएको काँटी जबसम्म हल्लेको हँुदैन, चुम्बकले जति ताने पनि त्यो निस्किँदैन । त्यसैले बसाइँसराइमा तान्ने कुरा मात्र हुँदैन, धकेल्ने कुरा पनि हुन्छ । तान्ने र धकेल्ने दुवैभन्दा फरक ऊ हल्लिने पनि हुनुपर्छ ।’

बसाइँसराइले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत क्षेत्रमा प्रभाव पनि पारिरहेको हुन्छ ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. शर्मा ग्रामीण क्षेत्रबाट बसाइँसराइ रोक्न चार क्षेत्रमा राज्यले काम गर्नुपर्ने औँल्याउँछन् ।

पहिलो, कक्षा–८ देखि नै विद्यालय तहमा उद्यमशीलतासम्बन्धी शिक्षा प्रदान गर्ने र स्थानीय तहमा भएका उद्यमसम्बन्धी अवसर खोजी गरी स्वरोजगार बन्न राज्यबाट प्रविधि, पूँजी र सीप प्रदान गरिनुपर्छ ।

स्थानीय उत्पादनको उपभोग बढाउन ‘हाम्रा उत्पादन हाम्रै उपभोग’को अभियान सञ्चालन गरी आयात प्रतिस्थापन गरिनुपर्ने उनी सुझाव दिन्छन् । कृषिलाई नाफायोग्य पेसा बनाउन सके बसाइँसराइ रोकिने उनको विश्वास छ ।

आर्थिक असमानता, रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको कमीले नेपाली समाजको संरचनामा ठूलो परिवर्तन ल्याएको छ । र, देशको भविष्यका लागि चुनौतीपूर्ण स्थिति उत्पन्न गरेको छ ।

गाउँहरू खाली हुँदै जाँदा कृषि क्षेत्रमा ठूलो असर परेको छ । कृषि उत्पादन घटेको छ, जसले देशको खाद्य सुरक्षामा समस्या उत्पन्न गरेको छ ।

गाउँमा बाँकी रहेका बुढापाका मात्रै कृषि कार्य गर्न बाध्य भएका छन् । संस्कृति र परम्परा गाउँकेन्द्रित छन् । गाउँहरू खाली हुँदै जाँदा संस्कृति र परम्परा लोप हुँदै छन् । यसले नेपाली समाजको सांस्कृतिक पहिचानमा संकट उत्पन्न गरेको छ ।

नेपालका गाउँहरू खाली हुँदै जानु केवल जनसांख्यिकीय परिवर्तन मात्र होइन, यो देशको सामाजिक, आर्थिक र सांस्कृतिक संरचनामा ठूलो परिवर्तन ल्याउने विषय हो । यसलाई समयमै नियन्त्रण गर्न नसके भविष्यमा गम्भीर समस्या उत्पन्न हुनसक्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro