site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालको दिगो विकासमा सहयोग विस्तार गर्ने क्यानडाको घोषणा

काठमाडौं । क्यानडाली दूतावासले नेपालको दिगो विकासमा क्यानडाको समर्थन कायमै रहने जनाएको छ । नेपाल–क्यानडा कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठका अवसरमा सोमबार आयोजित विशेष समारोहमा बोल्दै क्यानडाली दूतावासका प्रथम सेक्रेटेरी इयान राइट्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

क्यानेडियन फन्ड फर लोकल इनिसियटिभ्स कार्यक्रममार्फत क्यानडाले नेपालमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । कार्यक्रम व्यवस्थापक जसविन्दर कौरले कार्यक्रमले नेपालको सीमान्तकृत समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको बताइन् । 

Argakhachi Cement Island Ad

उनले जसअन्तर्गत फेयर ट्रेड ग्रुप नेपालले १४५ जना कफी किसान र १०० महिला हस्तकला व्यवसायीलाई दिगो हस्तकला र उद्यमशीलताको तालिम प्रदान गरेको जनाइन् । 

त्यस्तै, हस्पिटल एन्ड रिह्याबिलिटेसन सेन्टर फर डिसएबल्ड चिल्ड्रेनले २५० जना अपांगता भएका बालबालिकालाई स्वास्थ्य शिविर, शल्यक्रिया तथा सहायक उपकरण प्रदान गरेको छ भने तीन सय समुदाय सदस्यलाई अपांगता व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको छ ।  

माइती नेपालले धनुषा जिल्लामा बालविवाहमा १० प्रतिशत कमी ल्याउन सफल भएको छ । ४० जना महिलालाई जीवन उपयोगी सीप तालिम प्रदान गर्ने तथा ३० जना महिला तथा बालबालिकालाई लैंगिक हिंसाबाट जोगाउने काम पनि सफलतामूलक सम्पन्न भएको छ । 

त्यस्तै, मिडिया एड्भोकेसी ग्रुपले ८१ जना महिला पत्रकारलाई राजनीतिक रिपोर्टिङबारे प्रशिक्षण दिएको थियो । दृष्टीविहीन महिलाको क्षेत्रमा काम गर्ने प्रयत्न नेपाल, अपांगता भएका यौनिक अल्पसंख्यकको संस्था (रेन्बो डिसएबिलिटी नेपाल), समान्तकृत समुदायका लागि काम गर्ने साथलगायत विभिन्न सामाजिक संस्थालाई क्यानेडियन फन्ड फर लोकल इनिसियटिभ्सले सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्