site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मह आयात रोक्न माग

घोराही । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक संघ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले यसमा लागेका किसान घट्दै जान थालेको बताए ।  

घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा चुन्वाङ एपिकल्चर मौरीफार्ममार्फत व्यावसायिक मौरीपालन गर्दै आएका ओलीले चरन अभाव र विदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको बताए । 

उनले भने, “बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ ।” विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादिका कारण, जलवायु परिवर्तन, तोरीको उत्पादनमा कमी आउँछ भन्ने गलत धारणालगायत कारणले पनि किसान समस्यामा पर्ने गरेका छन् ।  

उनले भने, “किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव त छँदै थियो । तर, अहिले बजारीकरणको समस्या झन् बढी भयो । आयातित महले नेपाली बजार भरिएको छ । विभिन्न ब्राण्डका नाममा विदेशी मह बिक्री हुने गरेको छ ।” यसलाई रोक्न सकियो भने बल्ल यहाँका मौरीपालक किसानलाई सहज हुने उनको भनाइ छ । 

मौरीपालक किसान ओली विगत १५ वर्षदेखी मौरीपालन व्यवसायमा छन् । उनले १० घारबाट सुरु गरेको अहिले ८० घारसम्म पुगेको छ । उनको कुनै समय १५० घारसम्म थियो । 

पछिल्लो समय विभिन्न समस्याले गर्दा केही घटाएको उनी बताउँछन् । बाहिरबाट सस्तो मूल्यमा मह आउने भएकाले पनि यहाँको महले उचित मूल्य पाउन नसकेको उनी बताउँछन् । 

यो वर्षको पनि केही मह अझै बिक्री गर्न बाँकी रहेको छ । सरकारीस्तरबाट पनि मौरीपालक किसानले भोग्दै आएको समस्या समाधानका लागि पहल गरिदिए सहज हुने उनको भनाइ छ ।

तोरीको स्रोतमा अत्यधिक विषादी प्रयोग गर्ने भएकाले मौरी मर्ने समस्या रहेको उनले बताए ।

अहिले दाङमा मौरी व्यावसायिक रूपमा पालन गर्नेको संख्या आठ सयभन्दा बढी छ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro