site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कंगोको युद्ध रोक्न राष्ट्रसंघका प्रमुखको आग्रह

इथियोपिया । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले रुवान्डासमर्थित लडाकुहरूले डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को दोस्रो प्रान्तीय राजधानी कब्जा गरेको भोलिपल्ट अफ्रिकी शिखर सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कंगोको ‘क्षेत्रीय अखण्डता’को सम्मान गर्न र क्षेत्रीय युद्धबाट जोगिन आग्रह गरेका छन् । 

पूर्वी कंगोमा जारी द्वन्द्व रोक्न रुवान्डामाथि अन्तर्राष्ट्रिय दबाब बढेसँगै अदिस अबाबामा सुरु भएको अफ्रिकी युनियनको शिखर सम्मेलनमा द्वन्द्वले चर्चा पाउने निश्चित थियो ।

रुवान्डाका राष्ट्रपति पल कगामे उक्त भेलामा सहभागी भए पनि डिआर कंगोका राष्ट्रपति फेलिक्स सिसेकेदी आफ्नो देशमा एम–२३ भनिने मार्च २०२३ अभियान अघि बढेपछि उक्त भेलामा अनुपस्थित भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत महिना उत्तरी किवुको प्रमुख प्रान्तीय राजधानी गोमा कब्जा गर्न कंगोली सेनालाई परास्त गरेपछि रुवान्डा समर्थित सशस्त्र समूहले छिमेकी दक्षिण किवुमा आक्रमण गरेको थियो ।

सुरक्षा तथा मानवीय स्रोतका अनुसार शुक्रबार अर्को महत्त्वपूर्ण सहर बुकावुमा अनियन्त्रित रुपमा प्रवेश गर्नुअघि त्यहाँको एक महत्त्वपूर्ण विमानस्थललाई विद्रोहीले कब्जामा लिएका थिए । 

‘एम–२३ आन्दोलनको निरन्तरताका कारण दक्षिण किवुमा जारी द्वन्द्वले पूरै क्षेत्रलाई नै धरापमा पार्ने खतरा छ,” गुटेरेसले रुवान्डाको नाम उल्लेख नगरिकन शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेताहरूसँग भने । 

“क्षेत्रीय तनावलाई कुनै पनि हालतमा रोक्नुपर्छ,’’ उनले भने, “वार्ता सुरु हुनैपर्छ । डीआरसीको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नैपर्छ।”

पूर्वी डीआरसीमा क्षेत्रीय द्वन्द्व बढ्दै जाँदा अफ्रिकी संघ (एयू)को डरपोकपूर्ण दृष्टिकोणको आलोचना भएको छ र पर्यवेक्षकहरूले थप निर्णायक कदम चाल्न उससँग माग गरेका छन्।

युरोपेली संघ (ईयू) ले शनिबार बुकावुको समाचारपछि सबै विकल्पमा तत्काल विचार गरिरहेको बताएको छ ।

“डीआरसीको क्षेत्रीय अखण्डताको निरन्तर उल्लंघन अनुत्तरित हुनेछैन,” विज्ञप्तिमा भनिएको छ।

पूर्वी र दक्षिणी अफ्रिकी नेताहरूले फेब्रुअरी ८ मा पाँच दिनभित्र ‘तत्काल र विनासर्त’ युद्धविराम गर्न आह्वान गरेका थिए।

एयू आयोगका निवर्तमान अध्यक्ष मौसा फाकी महमतले शुक्रबार एएफपीसँग कुरा गर्दै ‘युद्धविरामको पालना गर्नैपर्छ’ भन्दै अफ्रिकी राष्ट्रहरूबीच झडप रोक्न ‘सामान्य जनशक्ति परिचालन’ भइरहेको बताए । 

सम्मेलनका आयोजक इथियोपियाका प्रधानमन्त्री अबी अहमदले द्वन्द्व समाधान, कूटनीति र शान्ति स्थापना आफूहरूको प्रयासको केन्द्रविन्दुमा रहनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार साँझसम्म चलेको द्वन्द्वप्रति समर्पित एयूको शान्ति तथा सुरक्षा परिषद्को बैठकमा कागामे र सिसेकेडी सहभागी भएका छैनन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्