काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा भएको विनाशका कारण प्यालेस्टिनीहरूसँग छोड्नुको विकल्प नरहेको बताएका छन् । उनले जोर्डन र इजिप्टले द्वन्द्वपीडित प्यालेस्टिनीलाई आश्रय दिनुपर्ने सुझाव पनि दिएका छन् ।
अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गाजालाई कब्जामा लिएर पुनर्निमाण गर्ने विषयमा सोचिरहेको बताएका छन् ।
ट्रम्पले गाजालाई नियन्त्रणमा लिएर अमेरिकाले गाजामा रहेका खतरनाक बम र अन्य हतियारहरू हटाएर भत्किएका भवन सफा गर्न सक्ने बताएका छन् । अमेरिकाले असीमित रोजगारी र आवास सिर्जना गर्ने आर्थिक विकास गर्न सक्ने उनको भनाइ छ ।
ट्रम्पले गाजालाई नियन्त्रणमा लिएर विकास गर्ने योजनालाई विश्वका शीर्ष नेताहरूले समर्थन गरिरहेको दाबी गरे । जुन मध्यपूर्वमा शान्ति ल्याउने प्रभावकारी योजना रहेको उनको भनाइ छ ।
"म चाँडै इजरायल, गाजा, साउदी अरेबिया र मध्य पूर्वका अन्य ठाउँहरूको भ्रमण गर्नेछु । मध्य पूर्व एउटा अद्भूत ठाउँ हो । तर कमजोर नेतृत्वले धेरै समस्याहरू सिर्जना गरेको छ," उनले भनेका छन् ।
संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहूले ट्रम्पको प्रस्तावलाई 'गाजाका लागि नयाँ भविष्य' भनेर वर्णन गरेका थिए ।
तर, हमासले ट्रम्पको प्रस्तावलाई तुरुन्तै अस्वीकार गरिदिएको छ । हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले अमेरिकी राष्ट्रपतिको भनाइ गाजामा अराजकता र तनाव बढाउने खालको भएको बताएका छन् ।
"हाम्रा जनताले गाजामा यी योजनाहरू कार्यान्वयन हुन दिने छैनन् । महत्त्वपूर्ण कुरा भनेको हाम्रा जनतामाथिको कब्जा र आक्रमण अन्त्य गर्नु हो, उनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्नु होइन," हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
इजिप्ट र जोर्डनले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघमा प्यालेस्टिनी प्रतिनिधिले विश्व नेताहरूले प्यालेस्टिनीहरूको इच्छाको सम्मान गर्नुपर्ने बताएका छन् ।