site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यादेशको ‘कन्टेन्ट’मा होइन, प्रक्रियामा प्रश्न उठाइएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै ल्याएको अध्यादेशका अन्तरवस्तुमा नभएर प्रक्रियामा प्रश्न उठाइएको बताएका छन् । सरकारले नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर अध्यादेश ल्याएको उनले जिकिर गरे ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले विशेष हुटहुटीले नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा भएको बताए । त्यसैले संसद्को अधिवेशन आउँछ, त्यसपछि काम गरौँला भनेर कुर्ने अवस्था नभएकाले अध्यादेश ल्याउनुपरेको उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

“काम ढिलो भयो, समयमा उपलब्धि हासिल हुन सकेन भन्ने सार्वजनिक गुनासो सम्बोधनका लागि नै अध्यादेश ल्याइएको हो,” उनले भने, “सुधारको हुटहुटीले दुई ठूला दल एक ठाउँ आएका छौँ । संसद्को अधिवेशन आउँदै छ भनेर कुर्ने अवस्था नरहेकाले नै अध्यादेश ल्याउनुपरेको हो ।”

राजनीति दलहरूको लाभहानि नभएर नागरिकका सेवा सुविधाका विषय भएको भन्दै उनले त्यसलाई नै प्राथमिकतामा राखेर अध्यादेश जारी भएको बताए । “अहिले अध्यादेशका कन्टेन्टमा नभएर प्रक्रियामा मात्र प्रश्न उठिरहेको छ । प्रक्रिया विकासको बाधक बन्नु हुन्न,” प्रधानमन्त्री ओलीले भने, “संविधानले नै संसद् नचलेको बेला अध्यादेश ल्याउने व्यवस्था गरिदिएको छ, अहिले सरकारले त्यही गरेको होइन र ?”

अध्यादेश यहाँ पेस गरेसँगै अब संसद्को सम्पत्ति भएको भन्दै उनले त्यसलाई फिर्ता पठाउने वा पारित गरेर कार्यान्वयनमा लैजाने निर्णय गर्न आग्रह पनि गरे । “अध्यादेश पेस गरेसँगै अब संसद्को सम्पत्ति भएको छ,” उनले भने, “यसलाई अस्वीकार गर्ने वा छिटो पारित गरेर जनताको सुविधामा प्रयोग गर्ने अधिकार संसद्लाई रहेको छ ।”

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्