site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी

सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । शुक्रबार (माघ १८) बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानस्थित हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो । 

विद्युत् ‘सर्ट’ भएर एक्कासि लागेको आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घर पूर्ण रूपमा नष्ट भएको छ । छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

चन्द्रनगर गाउँपालिका–४, पोखरिया टोल निवासी रामछविला साहले कार्कीको घर भाडामा लिएर उद्योग सञ्चालन गरेका थिए । आगलागीबाट उद्योगका सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा सात करोड ५० लाख रुपैयाँ बढीको क्षति भएको सञ्चालक साहले दाबी गरे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, हरिवन र मलंगवा नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा साढे दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट चार करोड रुपैयाँ बढीको क्षति भएको प्रहरीको अनुमान छ । तर, क्षति र घटनास्थलको मुचुल्का संकलनको कार्य भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । रासस 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro