site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इजिप्टका विदेशमन्त्रीले भने– विपीनको रिहाइका निम्ति वार्ताकारलाई विशेष निर्देशन दिन्छु
विपीन जोशी ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इजिप्टका विदेशमन्त्री डा. बद्र अब्देल–अतीबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच सोमबार दिउँसो टेलिफोन वार्तामा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका विषयमा कुराकानी भएको थियो ।

“डा. बद्र अब्देल–अतीले ७ अक्टोबर २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको रिहाइलाई प्राथमिकता दिन गाजामा रहेका आफ्ना वार्ताकारहरूलाई विशेष निर्देशन दिने बताउनुभयो,” टेलिफोन वार्ताबारे परराष्ट्रमन्त्री राणाले भनिन्, “हामीलाई आशा छ, जोशी चाँडै रिहा हुनेछन् ।”

Argakhachi Cement Island Ad

फोनवार्तामा गाजामा युद्धविरामका निम्ति इजिप्टले खेलेको सफल भूमिकाका बारेमा पनि छलफल भएको उनले बताइन् ।

परराष्ट्रमन्त्री राणाले यसअघि विपीनको रिहाइका निम्ति माघ १ गते इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गरेकी थिइन् ।

विपीनको रिहाइका निम्ति परराष्ट्रमन्त्री राणाले माघ १ गते नै कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी थिइन् ।

इजरायल र हमासबीच १५ महिना लामो युद्ध रोकी युद्धविराम गराउन कतार र इजिप्टले मध्यस्तकर्ताको भूमिका खेलेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्