site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
बीपीलाई सम्झिँदै इजरायलका राष्ट्रपतिले भने– विपीनलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध छाैँ 

काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशीलाई सकुशल फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएको शिष्टाचार भेटमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 

तेल अभिभस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार राजदूत पण्डितले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति हर्जोगसमक्ष बुझाएका थिए । त्यसपछि राजदूत पण्डितले इजरायली राजदूतसँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

“राष्ट्रपति हर्जोगले मारिएका १० जना, घाइते भएका चारजना र बन्धक बनाइएका एकजना नेपाली नागरिकप्रति दुःख व्यक्त गर्नुभयो,” नेपाली दूतवासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हर्जोगले विशेष गरी इजरायल सरकार विपीन जोशीसँगै सबै बन्धकहरूलाई फिर्ता ल्याउन पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।”

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी चरमपन्थी समूह हमासले दक्षिण इजरायलमा अचानक आक्रमण गरेको थियो । उक्त आक्रमणमा १० नेपालीसहित एक हजार २०० जना मारिएका थिए । 

हमासको आक्रमणमा परी चारजना नेपाली घाइते भएका थिए । एकजना नेपाली युवा विद्यार्थी विपीन जोशीसहित २५१ जनालाई हमासले बन्धक बनाई लगेका थिए । विपीन जोशी हालसम्म पनि रिहा भएका छैनन् । राजदूत पण्डितसँगको भेटवार्तामा इजरायली राष्ट्रपति हर्जोगले सोही प्रसंग उठाएका थिए । 

भेटमा राष्ट्रपति हर्जोगले नेपाली कांग्रेसका नेता बीपी कोइरालाको स्मरण गरेका थिए । “राष्ट्रपति हर्जोगले नेपाल र इजरायलबीचको ऐतिहासिक मित्रता र सम्बन्ध नेपालका पूर्वप्रधानमन्त्री बीपी कोइरालाले इजरायललाई मान्यता दिएदेखि सुरु भएको बताउनुभयो,” नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

इजरायली राष्ट्रपतिले नेपालसँगको मित्रतालाई इजरायलले महत्त्व दिएको बताए । भेटमा राजदूत पण्डितले विपीनको रिहाइका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका बारेमा जानकारी गराएका थिए । उनले द्विपक्षीय सहयोग प्रदान गर्दै आएकोमा इजरायललाई धन्यवाद दिएका थिए । 

राजदूत पण्डितले भेटमा नेपाल–इजरायल द्विपक्षीय सहयोगसहित पाइपलाइनमा रहेका सबै सम्झौतापत्रहरूको कार्यान्वयनमा जोड दिएका थिए । जवाफमा इजरायली राष्ट्रपतिले नेपालको आवश्यकताअनुसार सहयोग विस्तार गर्ने आश्वासन दिएका थिए । 

भेटमा राजदूत पण्डितले इजरायलका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro