site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लस एन्जलस डढेलोको कहरमा मच्चियो लुटपाट

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्र यतिखेर भयानक डढेलोको चपेटामा परेको छ । डढेलोबाट १६ जनाको मृत्यु भइसकेको छ भन लाखौँ मान्छे घरबारविहीन भएका छन् । बीबीसीका अनुसार डढेलोमो अझै १३ जना मान्छे हराइरहेका छन् ।

यही संकटकाबीच डढेलो प्रभावित क्षेत्रमा लुटपाट पनि मच्चिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार डढेलोको जोखिमले खाली गराइएका बस्तीमा लुटेराहरू छिरेका छन् । लस एन्जलस प्रहरी प्रमुख माइक लोरेन्टका अनुसार डढेलोप्रभावित क्षेत्रमा लुटपाट ठूलो समस्या भएको छ । लुटपाटबाट आफ्नो सम्पत्ति जोगाउन स्थानीयवासीले निजी सुरक्षा गार्ड राख्न थालेका छन् ।

डढेलोको जोखिमले खाली गरिएका बस्ती र खाली गर्न निर्देशन दिइएका क्षेत्रमा लुटपाट रोक्नका लागि भनेर कर्फ्यु लगाइएको छ । लुटपाट रोक्नका लागि भनेर चार सयजना प्रहरी खटाइएको छ । डढेलो प्रभावित इटन क्षेत्रमा स्थानीय समयअनुसार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कर्फ्यु लगाइएको छ । लुटेराको आशंकामा २० जना मानिस पक्राउ परेका छन् ।

लस एन्जलस क्षेत्रमा एक हप्ताअघिदेखि सुरु भएको डढेलो अझै नियन्त्रणमा आएको छैन । लस एन्जलस क्षेत्रका पेलिसेड्स, इटन, हर्स्ट, केनिथ, लिडिया र आर्चर क्षेत्रमा सल्केको डढेलो अझै नियन्त्रणमा आएको छैन । हिउँदको सुक्खा मौसम र तीव्र हावाका कारण आगो नियन्णत्र गर्न मुस्किल भइरहेको छ ।

डढेलेको धुवाँ र धुलोले वायुमण्डल छोपेका कारण लस एन्जलस क्षेत्रको वायु प्रदूषण समेत बढेको छ । यही कारण लस एन्जलस क्षेत्रमा स्वास्थ्य आपतकाल घोषणा गरिएको छ । यसबाहेक पेलिसेड्स क्षेत्रको पिउने पानी पनि प्रदूषित भएको छ । यस क्षेत्रमा धारामा आउने पानी नपिउन निर्देशन जारी गरिएको छ ।

अगो निभाउनका निम्ति हेलिकोप्टर र हवाईजहाज पनि प्रयोग गरिएको छ । तर, ११० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाका कारण आगो निभाउन सकिएको छैन । डढेलो सुरु भएदेखि करिब साढे तीन लाख मान्छेलाई स्थानान्तरण गरिएको छ । एक लाख ६६ हजार मान्छेलाई जतिखेर पनि घर छाडेर जानका लागि तयार भएर बस्न निर्देशन दिइएको छ ।

आगलागीप्रभावित इटन सहरको १५ प्रतिशत क्षेत्र जलेको छ । हस्र्ट सहरको ७६ र केनेथको ९० प्रतिशत हिस्सा जलेको छ । पेलिसेड्स सहरको ११ प्रतिशत हिस्सा आगलागीमा परेको छ । तीव्र हावा नरोकिए डढेलो अझै फैलिने सम्भावना छ । यस क्षेत्रमा हावाको गति अझै बढ्ने आकलन गरिएको छ ।

आगो फैलाउने हावा

लस एन्जलसमा यतिखेर ‘सान्टा एना’ नामको हावा चलिरहेको छ । ‘सान्टा एना’ हावा हिउँदमा चल्ने हावा हो । यो हावा ९५ देखि १३० किलोमिटर प्रतिघन्टाको गतिसम्म चल्ने गर्छ ।

हिउँदमा चल्ने यो हावालाई ‘सान्टा एना’ नाम कसले दियो र किन दियो भन्ने कुरा यकिन छैन । यो हावा दक्षिणी क्यालिफोर्नियाको ओरेन्ज काउन्टीमा रहेको सान्टा एना खोंचबाट आएर समुद्रतर्फ जाने गर्छ । यो हावालाई ‘दानवी हावा’ ‘रातो हावा’ पनि भन्ने गरिन्छ ।

‘सान्टा एना’ हावा सेप्टेम्बरको अन्तदेखि मे महिनासम्म चल्ने गर्छ । यो अवधिमा यो हावा कहिलेकाहीँ वा बढीमा एक हप्तासम्म निरन्तर चल्ने गर्छ । यो हावा पश्चिमी अमेरिकाको ठूलो क्षेत्रमा हावाको दबाब उच्च भएपछि सिर्जना हुन्छ । सुक्खा क्षेत्रमा सिर्जना हुने दबाबका कारण चल्ने यो हावामा आर्द्धता हुँदैन ।

लस एन्जलस क्षेत्रमा डढेलोलाई भयानक बनाउन यही हावाको भूमिका छ । यो हावाको गति कम नभएसम्म डढेलो रोक्न मुस्किल हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro