site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ‘ब्ल्याक बक्स’को रेकर्डिङ रोकिएको खुलासा 
तस्बिर : एपी ।

सियोल । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ‘ब्ल्याक बक्स’ले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ ।

गएको डिसेम्बर २९ मा उक्त बोइङ ७३७–८०० विमान थाइल्यान्डबाट दक्षिण कोरियाको मुआनका निम्ति उडेको थियो । मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो । दुईजनालाई जीवितै उद्धार गरिएको थियो । दक्षिण कोरियाली भूमिमा यो हालसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना हो ।

“विश्लेषणले सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेटपहिलेको अवधिमा रेकर्ड नगरिएको देखाएको छ,” यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक अनुसन्धानले विमान अवतरणमा मद्दत गर्ने वा ‘ब्लाइन्ड ल्यान्डिङ’मा प्रयोग हुने रेडियो ट्रान्समिटर (लोकलाइजर)लाई दुर्घटनाको गम्भीरता बढाउनका निम्ति दोषी ठहर्‍याएको छ ।

क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरलाई दक्षिण कोरियाली अधिकारीले डाटा निष्कर्षका निम्ति अप्राप्य भनेका थिए । यसलाई अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा विश्लेषणका निम्ति संयुक्त राज्य अमेरिका पठाइएको थियो ।

उडानको अन्तिम क्षणको जानकारी रेकर्ड गर्ने बक्सहरूमा तथ्यांक नष्ट भएको पाइएको र यो किन र कसरी भयो भन्ने विषय खोजी भइरहेको अधिकारीहरूले बताए । “जारी दुर्घटना अनुसन्धानका क्रममा तथ्यांक हराउनुको कारण पत्ता लगाउने प्रयास जारी छ,” मन्त्रालयले भनेको छ ।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकर्ताले ती बक्सहरू अनुसन्धानका निम्ति महत्त्वपूर्ण रहेको बताउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहने बताए ।

“विभिन्न तथ्यांकको परीक्षण र विश्लेषण गरेर अनुसन्धान गरिनेछ । दुर्घटनाको कारण पत्ता लगाउन समिति सक्दो प्रयास गर्न प्रतिबद्ध छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानकर्ताले चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याका रूपमा औँल्याएका छन् ।

चालकले पहिलो अवतरण प्रयासअघि नै चराको आक्रमण (चरासँग ठक्कर) हुन सक्ने चेतावनी दिएका थिए । त्यसपछि दोस्रो अवतरण प्रयासमा ल्यान्डिङ गियरले काम गरेको थिएन ।

यसै हप्ता प्रमुख अनुसन्धानकर्ता ली सेउङ–योलले पत्रकारसँग घटनास्थलमा रहेको विमानकोे एउटा इन्जिनमा ‘प्वाँखहरू फेला परेको’ बताएका थिए ।

अधिकारीहरूले मुआन विमानस्थल, दक्षिणपश्चिमी सहरमा रहेको क्षेत्रीय उड्डयन कार्यालय र राजधानी सियोलस्थित जेजु एयरको कार्यालयमा छापा मारेका छन् । उनीहरुले जेजु एयरका प्रमुख कार्यकारीलाई पनि देश छोडी बाहिर जान रोक लगाएका छन् ।

विपक्षी दलले दुर्घटनाको छानबिनका निम्ति संयुक्त कार्यदल गठन गरेका थिए भने यातायातमन्त्री पार्क साङ–वुले यसै साता राजीनामा दिएका थिए ।

राजीनामाको घोषणा गर्दै उनले भनेका थिए, “उड्डयन सुरक्षाको जिम्मेवारीमा रहेको मन्त्रीको हैसियतले मैले यस त्रासदीप्रति ठूलो जिम्मेवारी महसुस गरेको छु र स्वतन्त्र अनुसन्धानका निम्ति मार्गप्रशस्त गरेको छु ।” रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro