site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

लस एन्जलस । लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बुधबार आँधीको गतिको हावाले बढाएको तीन वटा नियन्त्रण बाहिरका जंगली डढेलोले दर्जनौँ घर नष्ट गर्दा लस एन्जलसको उपनगरीय क्षेत्रबाट दशौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् ।

अमेरिकी मिडियाका अनुसार उच्च वर्गीय प्यासिफिक पालिसेड्स छिमेकी क्षेत्र नजिकैको आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन् र केही अन्य मानिस जलेको खबर आएको छ ।

भयानक हावाले आगोलाई फैलाउँदै रातो–तातो झिल्काहरूलाई सयौँ मिटर टाढासम्म उडाउँदै असहाय दमकलकर्मीहरूले निभाउन नसक्ने गरी नयाँ स्थानहरूमा आगो सल्किँदै गएको थियो ।

बिहान हुँदा लस एन्जलसमाथि धुवाँको विशाल पर्दा देखिन्थ्यो र हावामा जलेको गन्ध थियो ।

सहरका मेयर करेन बासले बुधबार बिहान एक्समा पोस्ट गर्दै चेतावनी दिए, “आँधी बिहानभर झन् खराब हुने अपेक्षा गरिएको छ ।”

लस एन्जलस टाइम्सका अनुसार पालिसेड्समा केही दमकलकर्मीले हाइड्रेन्टमा पानीको कमी सामना गरिरहेका छन् । त्यहाँको आगोले अहिलेसम्म लगभग तीन हजार एकड (१,२०० हेक्टर) भूमि जलाइसकेको छ ।

लस एन्जलसको उत्तरमा अल्टाडेना वरपर दुई हजार दुई सय एकडमा भएको इटोन आगलागीमा एएफपीका एक पत्रकारले आपत्कालीन कामदारहरूले वृद्ध बिरामीहरूलाई उनीहरूको हेरचाह सुविधाबाट ह्विलचेयरमा बाहिर निकाल्दै गरेको देखे ।

तेस्रो आगो सान्ता क्लारिटाको वरिपरि लागिरहेको थियो । प्यासिफिक पालिसेड्सको आगलागीले क्यालिफोर्नियाको सबैभन्दा मनपर्ने स्थानहरू मध्ये एकमा दर्जनौँ घर नष्ट गरिसकेको छ । त्यहाँ हलिउडका सेलिब्रेटीहरू करोडौँ डलरको घरमा बस्नेहरूमध्ये छन् ।

एमी पुरस्कार विजेता अभिनेता जेम्स वुड्सले आफ्नो घर खाली गर्न तयार हुँदै गर्दा आफ्नो घर नजिकैका रूख र झाडीहरूमा आगो लागेको भिडियो पोस्ट गरे र सबै आगोका अलार्म बजिरहेको बताए ।

“हाम्रो पहाडको प्यारो सानो घर यति लामो टिक्यो भन्ने मलाई विश्वास लाग्दैन । यो कुनै प्रियजनलाई गुमाए जस्तो महसुस भइरहेको छ,” उनले भने ।

मंगलबार साँझ जेनिफर लोपेजको नयाँ फिल्म ‘अनस्टपेबल’ को रेड–कार्पेट प्रिमियरसहित क्षेत्रभरका कार्यक्रमहरू रद्द गरियो भने स्क्रिन एक्टर्स गिल्ड अवार्डले बुधबारको व्यक्तिगत नामांकन समारोहलाई प्रेस विज्ञप्तिले प्रतिस्थापन गर्ने बताएको छ ।

राष्ट्रपति जो बाइडेनले मंगलबार राति आफूलाई ‘डढेलो बारेमा बारम्बार जानकारी दिइरहेको’ र आवश्यक परेमा संघीय सहयोगको प्रस्ताव गरेको बताए । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्