site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक दशकअघि नै देखिएको थियो नेपालमा एचएमपीभी, विज्ञ भन्छन्– त्रसित नहोऔँ 

काठमाडौं । चीनमा संक्रमण फैलाइरहेको भनिएको ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी) नेपाल भित्रिने त्रास अहिले जनसमुदायमा देखिएको छ । भारतमा सोमबार तीनजनामा यो भाइरस पुष्टि भएसँगै नेपालमा पनि संक्रमण फैलिने जोखिमबारे चासो छ । 

यद्यपि, चीन सरकारले हालसम्म एचएमपीभीकै नयाँ प्रजाति फैलिएको भन्ने पुष्टि गरिसकेको छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भने कर्नाटक राज्यका दुई बालबालिकामा एचएमपीभी पुष्टि भएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएको छ । 

एचएमपीभीको परिवर्तित भेरियन्टले उत्तरी चीनमा श्वासप्रश्वासम्बन्धी विभिन्न संक्रमण फैलाइरहेको भनिए पनि यसबारे पुष्टि नभएसम्म संक्रमणबारे थप केही भन्न नसकिने नेपाली विज्ञहरू बताउँछन् । विश्वका लागि एचएमपीभी नयाँ भाइरस भने होइन । यो सन् २००१ मा चीनबाट नै पहिलोपटक पुष्टि भएको आरएनए भाइरस हो । 

Dabur Nepal
NIC Asia

नेपालमा सन् २०११ मा नै देखिएको थियो एचएमपीभी 

नेपालका लागि पनि एचएमपीभी नयाँ भाइरस भने होइन । नेपालका विभिन्न ग्रामीण क्षेत्रमा सन् २०११ देखि २०१४ सम्म गरिएको एक अध्ययनमा एचएमपीभीका कारण श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिएको पुष्टि भएको थियो । 

सन् २०११ देखि २०१४ सम्म विभिन्न अस्पतालबाट संकलन गरिएका तीन हजार ५२८ शिशुको नमुनामा पाँच प्रतिशतमा एचएमपीभी पहिचान भएको थियो । ती शिशुलाई श्वासप्रश्वाससँग सम्बन्धित विभिन्न समस्या लिएर अस्पताल पुर्‍याइएको थियो । 

उनीहरूमा आरटी पीसीआर विधिबाट परीक्षण गरी सिक्वेसिन्सङ गर्दा तीनवटा जिनोटाइप पाइएको थियो : ए२, बी१, र बी२ । यी तीनले मध्यम स्तरको खोकीको अवधि बढाएको र श्वासप्रश्वासको प्रक्रियामा अवरोध गरेको देखिएको थियो । 

एचएमपीभीकै कारण मृत्यु भएको तथ्यांक सो रिपोर्टमा उल्लेख छैन ।

१० जना अमेरिकी विज्ञहरूले गरेको अध्ययन रिपोर्टबारे अर्टिकल सन् २०२१ अप्रिल ३० मा नेसनल लाइब्रेरी अफ मेडिसिन’ले प्रकाशन गरेको थियो । भारत, बंगलादेश, युकेलगायत मुलुकमा पनि एचएमपीभी आमसंक्रमणक रूपमा यसअघि नै फैलिइसकेको विभिन्न रिपोर्टहरूले देखाएका छन् । 

कोरोनाजस्तै घातक हुन्छ ?

एचएमपीभीको संक्रमण श्वासप्रश्वास, संक्रमितले प्रयोग गरेका सामान, खोक्दा हाछ्युँ गर्दा खकार वा सिँगानको माध्यमबाट सर्छ । संक्रमणको तीनदेखि ६ दिनमा लक्षण देखिने र अधिकांशमा मध्यम लक्षण मात्रै देखिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । 

कडा लक्षण भएमा निमोनिया हुनसक्ने डब्लुएचओको भनाइ छ । डब्लुएचओले हालसम्म यसलाई विश्वव्यापी आपतकालीन अवस्था भने घोषणा गरेको छैन । तर, केस बढ्दै गएकाले कडा नियमनका लागि भने सम्बन्धित निकायहरूलाई सतर्क गराइरहेको छ ।
 
चीनमा हाल १४ वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, र रोगप्रतिरोधी क्षमता कम भएकाहरूमा कडा निमोनिया एचएमपीभी संक्रमणले सताइरहेको खबर बाहिरिएका छन् । 
एचएमपीभीमा कोभिडजस्तै रुघाखोकी, ज्वरो, थकान महसुस हुनेजस्ता लक्षण देखिने गर्छन् । हालसम्म यसका निम्ति कुनै खोप बनेको छैन ।

चीनमा एचएमपीभी फैलिएकोबारे अपुष्ट समाचारकै भरमा त्रसित हुने अवस्था भने नरहेको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
 
“चीनमा अहिले संक्रमण फैलाइरहेको यदि एचएमपीभी नै देखिएको हो र यसको परिवर्तित रूप भए सतर्कता अपनाउनु्पर्छ । तर कोभिडजस्तो महामारी फैलिएला, भयावह अवस्था होला भनेर त्रसित हुन आवश्यक छैन, अहिलेको अवस्थामा,” उनी भन्छन् । 

एचएमपीभीको परिवर्तित रूप आएको भए या त पहिलेभन्दा घातक या कमजोर भएर आउने भएकाले घातक हुनसक्नेबारे सतर्क भने हुनुपर्ने उनको भनाइ छ ।  श्वासप्रश्वासजन्य संक्रमण जाडोयाममा धेरै फैलिने भएकाले यसै पनि रुघाखोकीबाट बच्नुपर्ने उनी बताउँछन् । 

“यदि आधिकारिक निकायले एचएमपीभी नयाँ म्युटेन्ट भएर तहल्का मच्चाएको भन्ने पुष्टि गरे तदारुकता देखाउनु आवश्यक छ, तर आममानिसले प्यानिक हुने अवस्था छैन,” डा. पुनले थपे । 

नेपालमा हालसम्म शंकास्पद केस छैन 

एचएमपीभीको शंकास्पद केस अहिलेसम्म नदेखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले हालसम्म कुनै पनि नाकाबाट शंकास्पद केस परीक्षणका लागि नआएको पुष्टि गरे । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म चीनमा एचएमपीभी पुष्टि भएको कुनै जानकारी नपाएको जनाएको छ । 

“चीनमा नयाँ भाइरस फैलिएकोबारे हामीकहाँ अहिलेसम्म आधिकारिक रिपोर्टिङ भएको छैन, हामीले अहिले यसको चेकजाँच वा निगरानीलाई लिएर कुनै गाइडलाइन बनाएका छैनौँ,” महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बाह्रखरीसित भने । 

यद्यपि, संक्रमणजन्य रोगहरूलाई लिएर नेपाल भित्रिने यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न विधिबाट निगरानीमा राखिएको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro