site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अमेरिकामा टिकटक राजनीति प्रतिबन्ध कि खुला ?

काठमाडौं । अमेरिकामा यतिखेर टिकटक प्रतिबन्धित हुन्छ कि हुँदैन भन्ने चासो बढेको छ । पछिल्लोसमय विश्वभरको राजनीतिमा कतै न कतै टिकटकको नाम आउँछ । छोटा भिडियो सेयर गर्ने यो प्लेटफर्मले हाल अमेरिकी राजनीति तात्तिएको छ ।
 
अमेरिकी सरकारले टिकटक गैरचिनियाँ कम्पनीलाई बिक्री नगरेमा अमेरिकामा टिकटक प्रतिबन्धित हुने कानुन बनाएको छ ।  अमेरिकी सरकारको यो कानुनविरुद्ध टिकटक अमेरिकाको सर्वोच्च अदालतमा गुहार्न पुगेको छ । सर्वोच्च अदालतले यस विषयमा १० जनवरीमा सुनुवाइ गर्ने मिति तोकेको छ ।
 
तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतलाई निवेदन लेख्दै टिकटकमाथि लगाउने भनिएको प्रतिबन्ध तत्कालका लागि रोक्का गर्न आग्रह गरेका छन् । ट्रम्पले टिकटकमाथि लाग्ने सम्भावित प्रतिबन्ध रोक्का गरेमा आफूले टिकटकसँग वार्ता गर्ने बताएका छन् ।
 
तर, डोनाल्ड ट्रम्पले नै टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्छ भनेको धेरै भएको छैन । चार वर्ष अगाडि डोनाल्ड ट्रम्प टिकटकलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा’माथिको गंभिर खतरा मान्थे । तर, अहिले उनी टिकटकलाई ‘अभिव्यक्ति स्वतन्त्रताको युनिक माध्यम’ भनिरहेकाछन् ।
 
टिकटकमाथि अमेरिकाले आफ्नो प्रयोगकर्ताको डेटा संकलन गरेर चीन सरकारलाई दिने गरेको आरोप लगाउँदै आएको छ । यहीकारण टिकटक अमेरिकी सुरक्षाका लागि खतरा भएको बुझाइ छ ।
 
कुनै समय प्रतिबन्धित हुनुपर्छ भन्ने ट्रम्प आजभोलि आफैँ टिकटकमा सक्रिय छन् । टिकटकमा ट्रम्पका १४.७ मिलियनभन्दा बढी फलोअर छन् ।
 
डोनाल्ड ट्रम्पले सन् २०२० मा पहिलोपटक टिकटक प्रतिबन्धित हुनुपर्छ भनेका थिए । त्यतिखेर उनले आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै टिकटमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएका थिए । तर, उनको निर्देशन कार्यान्वयन नभए पनि अमेरिकामा टिकटक प्रतिबन्धको बहस भने खुल्ला गर्दियो ।
 
ट्रम्पले यसअघिको चुनाव हारेपछि जो बाइडेन राष्ट्रपति भए । राष्ट्रपति भएपछि बाइडेलने ट्रम्पले टिकटक प्रतिबन्ध लगाउन दिएको निर्देशन फिर्ता लिए ।  तर, टिकटकले अमेरिकी सुरक्षामा खतरा पुर्‍याएको बहस चर्किदै गएपछि सन् २०२२ मा अमेरिकाका सरकारी कार्यालयमा टिकटक नचल्ने बनाइयो ।
 
त्यसपछि यही वर्षको अप्रिलमा जो बाइडेन प्रशासनले एउटा कानुन बनायो ।  उक्त कानुनअनुसार टिकटक गैरचिनियाँ कम्पनीलाई बिक्री गरेमा मात्र अमेरिकामा चल्ने, नभए प्रतिबन्ध लगाउने व्यवस्था गरियो । यो कानुन सन् २०२५ को जनवरी १९ बाट लागु हुनेछ । 

डोनाल्ड ट्रम्पले २० जनवरीमा राष्ट्रपति पद सम्हाल्नेछन् । आफूले राष्ट्रपति पद सम्हालेपछि टिकटकसँग वार्ता गर्ने बताउँदै ट्रम्पले तत्कालका लागि जो बाइडेन प्रशासनले बनाएको कानुन लागु नगर्न अदालतमा निवेदन दिएका हुन् ।
 
चार वर्ष पहिले आफैँले प्रतिबन्ध गर्नुपर्छ भनेको टिकटकको पक्षमा उभिए ट्रम्प । ट्रम्पले आफ्नो चुनावी अभियानको एउटा एजेन्डा बनाएका थिए, टिकटकलाई । 

सन् २०२४ को मार्चमा ट्रम्पले टिकटक प्रतिबन्धित गरेमा अमेरिकी युवालाई नोक्सान हुने दाबी गरेका थिए ।  टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाएमा फेसबुकलाई फाइदा हुने उनको दाबी थियो । फेसबुकलाई ट्रम्प ‘जनताको दुश्मन’ भन्ने गर्छन् ।
 
यस वर्षको चुनावी अभियानभर उनले टिकटक चलाए । टिकटकमार्फत उनले भोट मागे । चुनावी अभियानका क्रममा सेप्टेम्बर महिनामा उनले टिकटकमा एउटा भिडियो पोष्ट गर्दै भनेका थिए, “अब म टिकटकमा ठूलो स्टार भए । हामी टिकटकलाई केही गर्दैनौँ तर, अर्को पक्षले यसलाई बन्द गर्दैछ । त्यसकारण तपाईंलाई टिकटक मनपर्छ भने ट्रम्पलाई भोट हाल्नुहोस् ।”
 
अब अमेरिकामा टिकटक चल्ने कि प्रतिबन्धित हुने अदालतको हातमा छ । अदालतले अमेरिकी सरकारले बनाएको कानुनअनुसार नै टिकटक गैरचिनियाँको हुनुपर्ने भनेमा त्यहाँ टिकटक बन्द हुनेछ । ट्रम्पको निवेदनअनुसार अदालतले टिकटक र अमेरिकी सरकारलाई वार्ताका लागि केही समय पनि दिन सक्छ । 

अथवा, जो बाइडेन प्रशासनले बनाएको कानुन नै गलत ठहर गरेर टिकटक प्रतिबन्धको बाटो रोक्का गर्न सक्छ ।  अमेरिकाका ३० वर्षमुनिका ५९ प्रतिशत युवाले टिकटक प्रयोग गर्ने गर्छन् ।


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro