साहित्य
रातिको समय
झ्याउँकिरीको एकोहोरो आवाज
पर कतै दियो बल्छ
अनि पातपातमा,
बुट्यानबुट्यानमा
विश्राम गरिराखेका,
तन्द्रामा पल्टिएका,
सपनामा हराइरहेका पुतलीहरू
उड्न थाल्छन् दियोतिर ।
सम्मोहित पुतलीहरू
झन्झन् उज्यालोको चाहनामा
झन्झन् न्यानोको आसमा
सकिन्छन् एकएक गरी
दियोको रापमा परी ।
तिनले बिर्सिए,
दियो पनि त आखिरमा आगो नै हो
तिनले बिर्सिए,
त्यो दियोको परिधिभन्दा बाहिर पनि
अनन्त एउटा संसार छ
त्यो छोपिएको मात्र हो रातभरिलाई
भोलिको बिहानीसँगै
उज्यालो आइपुग्ने थियो, छरिने थियो
तिनकै पातपातमा,
बुट्यानबुट्यानमा ।
(बर्लिन, जर्मनी)
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ ११:५७
प्रतिक्रिया दिनुहोस्