बेला न कुबेला म गाउँ पुगिरहन्छु । यसरी गाउँ पुग्नलाई कुनै समय लाग्दैन । मनै त हो, पुग्नलाई बेरै लगाउँदैन । अलिकति पनि केही नयाँ देख्यो कि ‘४० वर्षअघि मैले यसबारेमा केही सोचेकै थिइनँ’ भन्ने मनमा आउँछ । अनि, मन तत्कालै पुग्छ उही आफ्नो रैथाने थातथलोतिर !
साँझ आठ बजेको सिड्नी । सर्वत्र झिलिमिली । अग्लाअग्ला महलहरू । सडकमा गाडीको तुफानी गति । यो परिदृश्यले एकैछिन तिरिमिरी झ्याइँ बनायो । अनि, नजर दौडाइरहेँ घरी यता घरी उता ।
अस्ट्रेलियाको भूमि टेकेको केही समयपछि सिड्नीको सडकमा हृपेश बाबुको गाडीबाट होम बुशतिर हुँइकिँदै गर्दा सम्झना आइरह्यो जलेश्वर, भलुवाही, जनकपुरमा बितेका अनेक पलक्षण ।
पहिलोपटकको विदेश यात्रा । पहिलो समुद्रपारिको यात्रा । त्यस परिस्थितिमा अनेकानेक सम्झना दिमागमा घुमिरहनु सायद अस्वाभाविक थिएन । दिमागमा आइरह्यो, भलुवाहीको मकैबारी धाङेको, जलमग्न जलेश्वरमा बाढीको पानी छिचोल्दै दिसा बस्न अग्लो ठाउँ खोज्दै हिँडेको, लू लाग्ने घाममा बङबङी खेतैखेत सिरहातिर दौडिएको !
त्यस्तो अवस्थामा पनि रमाउँदै आएको म, दक्षिणपूर्वस्थित महादेश अस्ट्रेलियाको सिड्नी सहरको सडकमा गुडिरहेको थिएँ, जसका विषयमा कहिल्यै कुनै सोचाइ नै रहेन । हाम्रा लागि त यात्राको गन्तव्य दरभंगा, सीतामढी, मुजफ्फरपुर, अनि बढीमा वनारससम्मको हुन्थ्यो । किनभने, बाइजी आए मुजफ्फरपुबाट आउँथे, कब्बाल आए वनारसतिरबाट आउँथे । जे देखिन्थ्यो सुनिन्थ्यो, सोच्ने पनि त त्यति मात्रै न हो ।
बस्, यही सम्झनाले ओेठमा हाँसो ल्यायो । फिस्स हाँसे । ओठ बन्द थियो । पछाडि बसेका छोरीहरू श्रेया, रिया र पत्नी सिशमले मेरो हाँसोबारे केही थाहा पाउने कुरै भएन । हृपेश बाबुको नजर व्यस्त सडकमा थियो, मेरो चवन्नी मुस्कानतिर ध्यान पु¥याउने कुरै भएन ।
मेरो मनमा रुमल्लिएको यो पूर्वस्मृति, जसरी आयो त्यसरी नै फर्कियो ।
यद्यपि, यो रमाइलो स्मृतिले मलाई एकफेर गाउँ पु¥यायो । यस्तैयस्तै बेला म गाउँतिर पुगिरहन्छु । त्यसैले पनि मैले भनेको हुँ, मलाई गाउँ जान कुनै समय नै लाग्दैन ।
सिड्नी एयरपोर्टमा ओर्लिएको करिब एक घण्टापछि नै मेरो मन १८ घण्टाको यात्रा अवधि छिचोलेर आएको आफ्नो देशको एउटा देहातमा थिएँ । मनै त हो, जहाँ पनि पुगिरहन्छ ।
त्यही मन बोकेको तन त्यतिखेर अर्थात् ०८१ साल वैशाख २६ गते साँझ छोरीहरू बस्दै आएको देशमा थियो ।
०००
क्याथे प्यासिफिकको हङकङ–सिड्नी उडानमा वाइनको चुस्कीसँगै ध्यान सिटअघिल्तिरको मोनिटरमा गयो । देखाइरहेको थियो, सिड्नी पुग्नलाई बाँकी रहेको समय । फिल्म चलाउन नजानेपछि त्यसमै आँखा गाड्नुको विकल्प थिएन !
आँखाले झप्की लिएको थिएन । जबकि, निदाउँदा म ढेंगसरी लड्ने मान्छे हुँ । ओछ्यान होस् वा चटाइ अथवा गाछी तलको घाँस, छिनमै निदाउँछु । निदाउन मलाई उल्टा पहाडा पढिरहनु पर्दैन—सैया, निनान्बे, अन्ठान्बे, सन्तान्बे, छियान्बे, पन्चान्बे !
सिशम निदाउँदै उठ्दै गरिरहेकी थिइन् । मलाई वाइनले केही भरथेग गर्ला कि निदाउनमा भन्ने लागेको थियो, तर त्यसले आँखा लट्ठ्याउने काम रत्ति पनि गरेन । निद्रा त धेरै परको कुरा भयो ।
त्यसैले घरी मास्तिर हेर्यो घरी समय बताइरहेको स्क्रिनतिर । अनि, कुनैकुनै बेला अरूले घुर्दै निद्राको आनन्द लिएको हेर्यो । आफूले पनि त्यसैगरी घुर्न पाए कति आनन्द आउँथ्यो होला !
घुर्नुलाई नराम्रो मानिन्छ । बाघ घुराइका कारण कतिले सुत्ने कोठै छोडेको प्रसंग मेरो मानसपटलमा अद्यापि छ । जहाजमा बाघे आवाजमा घुर्ने कोही थिएनन् । र पनि सुनिन्थ्यो केहीकेही ।
आफूलाई त बाघे घुराइ सोच्ने विषय मात्रै बन्यो । त्यहाँ त जसोतसो समय काट्नु थियो, काट्न थालेँ । समय बित्दै गयो ।
हवाईजहाजको झ्यालबाट हेरेँ । क्षितिजमा गोधूलिको लालिमा फैलिएको देखेँ । अनुभव भइरहेथ्यो प्लेन टक्क अडिएको छ आकाशमार्गमा । त्यस्तो कहाँ हुन्थ्यो र, त्यो त मनको भ्रम न हो ।
तथापि, कहिलेकाहीँ भ्रममा पनि मन रमाउँछ । यही भ्रममा म रुमल्लिरहेँ लामो समय ।
हामी अस्ट्रेलियाको समयानुसार आठ साढे आठ बजे सिड्नी पुग्दै थियौँ । बाक्लिँदै गएको अँध्यारोले हामीलाई हाम्रा छोरीहरू नजिक पुर्याउँदै थियो । लाग्यो– अब धेरै समय बाँकी छैन हाम्रा लागि नितान्त नौलो यो महादेशीय भूमि टेक्न, छोरीहरूलाई भेट्न ।
यस्तै एक सवा घण्टापछि छोरीहरूसँग भेट हुन्छ भन्ने सोचाइले पनि मनलाई उत्साहित बनाएको थियो ।
त्यसैबीच, एयर होस्टेसले पहेँलो रङको एउटा ‘इनकमिङ पेसेन्जर कार्ड’ भर्न दिइन् । केही प्रश्नहरूको जवाफमा चिह्न लगाउनुपर्ने थियो । त्यो भरेर कमिजको गोजीमा राखेँ । अध्यागमनमा देखाउनुपर्ने रहेछ त्यो कार्ड ।
फेरि झ्यालबाट बाहिर हेरेँ । अब अँध्यारोबाहेक अरू केही देखिइरहेको थिएन । बाहिर हेर्नुको कुनै अर्थ थिएन । केही देखिए न हेर्नु !
वास्तवमा, हवाईजहाजमा समय काट्न एकदमै गाह्रो हुने रहेछ । सँगै घरबुढी भए पनि बोलिरहन नहुने । हामीले कानेखुसी गरेर बोल्दा पनि अरूलाई बाधा पुग्न सक्थ्यो । सबै मौन थिए । आफू मात्रै बोलिरहने कुरा पनि भएन ।
त्यसैले दृष्टि कहिले कता अनि कहिले कता डुलाउनुबाहेक केही गर्न सकिनँ । स्वाभाविक थियो, घरीघरी नजर झ्यालबाहिर जान्थ्यो नै ।
कताकति बत्तीहरूको उज्यालो देखियो । त्यो उज्यालोले हामी गन्तव्यमा ओर्लन लागेको संकेत गरेको थियो । तथापि, स्क्रिनमा १५÷२० मिनेटको समय बाँकी देखाउँदै थियो ।
यति बेला म सम्झिरहेको छु अँध्यारोमा पैदल हिँड्दाको त्यो क्षण । कहिलेकाहीँ गाउँ जाँदा सिरहा बजारमै झमक्क अँध्यारो हुन्थ्यो । त्यहाँबाट हिँडेरै एक कोस परको भलुवाही पुग्नुपर्थ्यो । त्यो पैदल हिँडाइमा महिसोथा र छर्रापट्टीमा बलेको डिबियाको उज्यालोले गाउँ आएको संकेत गर्दथ्यो । खासमा त्यो मिहिन उज्यालोले गाउँ पुगेकै अनुभव गराउँथ्यो । जबकि, घण्टाभर हिँड्न बाँकी नै रहन्थ्यो ।
केही क्षण बिराएर देखिने यस्ता बत्तीहरूले मलाई साँझपख सिरहा–भलुवाही गर्दाको समय स्मरण गरायो ।
अब भने सहरमा बडेमानका अग्लाअग्ला घरहरूमा बलेको झिलिमिली बत्ती देखियो । हवाईजहाज पनि बिस्तारै तलतल ओर्लंदै गएको अनुभव भयो । जहाज जति तलतल ओर्लंदै थियो, त्यतित्यति अग्ला घरहरू र त्यहाँ बलेका बत्तीको चहक देखिँदै थियो ।
अन्ततः क्याथे प्यासिफिकको त्यो विशाल विमानले भूमि टेक्यो । अँध्यारो भएकोले समुद्रीछेउको एयरपोर्ट भएर पनि पानी देखिएन । मात्रै जहाजले भुइँ टेकेको थाहा भयो ।
त्यसको केही समयपछि नै हामी दुई अध्यागमन काउन्टरअघिल्तिर मानिसहरूको लहरमा उभिएका थियौँ ।
हातमा ह्यान्डक्यारी गुडाउँदै लामबद्ध लहरबाट एकएक गर्दै सिड्नी भित्रिएका यात्रु बाहिरिँदै गए । म अध्यागमन काउन्टरको अघिल्तिर उभिएँ । पासपोर्ट र जहाजमा भरेको पहेँलो कागज काउन्टरमा रहेकी महिलालाई जिम्मा लगाएँ ।
पेसेन्जर कार्डमा आफ्नो देशको नाम लेख्नै बिर्सेको रहेछु । तिनले ‘कहाँबाट आउनुभयो ?’ भनेर सोधेपछि ‘नेपाल’ भनेँ । उनले ‘नेपाल किन नलेखेको ?’ भनेपछि अप्ठ्यारो लाग्यो । म पनि कस्तो हुस्सु मानिस, मनमनै आफैँलाई गाली गरेँ ।
‘सरी’ भन्दै लेख्नुपर्ने ठाउँमा नेपाल लेखेँ । उनले पासपोर्ट स्क्यान गरिन् । क्यामेराअघिल्तिर उभिन संकेत गरिन् । केही बेरपछि पासपोर्ट र कार्ड फर्काउँदै अगाडि जाऊ भन्ने इसारा गरिन् । पछिपछि सिशम पनि आइपुगिन् ।
यहाँ एउटा खुड्किलो पार भएको थियो । अब अन्त कताकता केके प्रश्नको जवाफ दिनुपर्ने हो ! यही सोच्दै हामी ब्यागहरू लिने ठाउँमा पुग्यौँ ।
सामान लिन मानिसहरू खडेमान थिए । हामी पुग्नासाथ हाम्रा ब्यागहरू ब्यागेज ह्यान्डलरमा झर्यो र घुम्दै मेरो अघिल्तिर आइपुग्यो ।
म चकित परेँ । यति छिटो त काठमाडौंको आन्तरिक टर्मिनलमा पनि ब्याग फेला पर्दैन, कहिलेकाहीँ त आधा घण्टा पनि कुरेको छु । यहाँ त जो अगाडि आउँछ उसकै अघिल्तिर सामान आइपुग्छ भनेजस्तै लाग्यो मलाई ।
सामान चाँडै आएकोमा दंग पर्दै उठाएर ट्रलीमा राखेँ र अगाडि बढेँ ।
नजिकै रहेकी एक महिला सुरक्षाकर्मीले मसँग भएको पहेँलो कागज मागिन् । कागज हेरिन् र सिधा अगाडि जान संकेत गर्दै बाटो देखाइन् ।
सिशम र म अगाडि बढ्यौँ । केके प्रश्नहरूको सामना गर्नुपर्ने हो भन्ने खुलदुली अझै छँदै थियो । हुन त लत्ताकपडा र दैनिक प्रयोगका औषधिबाहेक अरू केही थिएन । केटाकेटीले अरू केही नल्याउनु भनेकाले हामी पनि ढुक्कै हिँडेका थियौँ ।
हामी हिँडेतिर खासै मानिसहरू गइरहेको देखिनँ । हामी दुई बुढाबुढी मात्रै सँगसँगै हिँडिरहेका थियौँ । अघिपछि कोही देखिनँ । हामीबीच कुराकानी पनि भइरहेको थिएन । मनमा अत्यास लाग्यो, किन हामी मात्रै ! यो बाटोबाट हामीलाई मात्रै किन पठाएको होला ? यो सवालले मलाई रिंग्यायो ।
खैर, जे पर्ला टर्ला ! यही सोच्दै अगाडि लागेँ । दुईतिर फित्ता लगाएर हिँड्ने पाथ बनाइएनजिक अर्का सुरक्षाकर्मी भेटिए । तिनले पनि कार्ड हेरे र दाहिने देखाउँदै ‘जाऊ’ भने । हामी उनले भनेतिर मोडियौँ ।
अलिक पर अग्ला खाइलाग्दा सुरक्षाकर्मी उभिएको देखेँ । अब यिनले त पक्कै केही न केही सोध्नेछन्, मेरो मनले भन्यो । उनको अगाडि पुगेर दुवैको पहेँलो पर्ची थमाएँ । उनले सरसर्ती कागजमा नजर लगाए । अनि सोधे, ‘रेगुलर मेडिसिन लिने गरेको छ ?’
मैले ‘एस’ मात्रै भन्न भ्याएको थिएँ, उनले पर्ची मेरो हातमा थमाउँदै केही पर उभिएका अर्का सुरक्षाकर्मीतिर देखाउँदै भने, ‘प्लीज टक टु हिम ।’
काम सकियो भनेको त झन् लम्बियो भन्ने लाग्यो । एकछिन त अवाक् भएर उनको अनुहारमा हेरिरहेँ । मेरो दाहिने हातमा पर्ची आइसकेको थियो । त्यसैले ‘थ्यांक यु’ भनेर उनले देखाएतिर लागेँ ।
अझै पनि मेरो अगाडि पछाडि कोही देखिरहेको थिइनँ । पर मोडिने ठाउँमा भने कोही ट्रली धकेल्दै आइरहेका देखिए ।
उभिएका ती युवा सुरक्षाकर्मीका सामुन्ने पुगेर रोकिएँ । अग्ला, ज्यान परेका युवा थिए । पहेँलो कागज दिएँ । पासपोर्ट मेरो हातमै थियो । अब यिनले के सोध्ने हुन् ? अत्यास त्यसले थप्यो । कान तातो भएको महसुस गरेँ ।
अघिल्लोसँग खासै बोल्नु परेन । अब यिनले कसको जिम्मा लगाउने हुन् ! त्यही ऊहापोहमा अल्मलिएँ ।
ती युवा अधिकारीले दुवैको कागज हेरे, अनि मलाई सोधे, “औषधि खाने गर्नुभएको छ ?”
हठात् उनले नेपालीमा बोलेको सुनेर म झसंग भएँ । सोच्दै नसोचेको अवस्था सिर्जना हुँदा झनै अलमल हुँदो रहेछ । मेरो वाक्य नै बन्द भयो । के भन्ने के भन्ने भयो । मलाई नेपाली नै बोल्न पनि गाह्रो भयो ।
अत्यधिक खुसीले पनि सायद त्यस्तो हुन्छ । खुसीले के बोल्ने के बोल्ने हुँदो रहेछ । त्यही खुसीले अनुहारको रङ पनि बदलियो, सायद !
त्यो अनौठो परिस्थितिमा तिनको अनुहारमा हेरिरहन सकिएन । विस्फारित नेत्र र अवाक् अवस्थितिको त्यो क्षणमा उनको अनुहारमा गाढा दृष्टि कहाँ दिन सकिन्थ्यो र !
सम्हालिएँ । ओठमा मुस्कान ल्याउने प्रयास गर्दै मैले आफ्नो समस्या बताउँदै नियमित औषधि खाने गरेको बताएँ । उनले सिशमलाई पनि केही सोधे । उनले सवालको जवाफ फर्काइन् ।
ती युवा सुरक्षाकर्मीले थप केही भनेनन् । पहेँलो पर्ची आफैँसँग राखे र ‘जानुस्’ भन्दै दाहिने हातले बाटो देखाए । ‘धन्यवाद’ भन्दै हामी उनले भनेको बाटो पछ्याउन थाल्यौँ ।
यही समय म सोच्न थालेँ– को हुन् यिनी, नेपाली हुन् या नेपाली भाषा सिकेका अस्ट्रेलियन नागरिक ? यो सोच्न मात्रै त सकिने हो, सोध्न सकिने अवस्था थिएन क्यार !
बिस्तारै सामान राखेको ट्रली धकेल्दै मैले मनमनै ती युवालाई कोटीकोटी धन्यवाद दिइरहेँ । अन्ततः केही बेरमै हामी दुई छोरीहरूका अगाडि थियौँ ।