site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्टिने प्रावधानमा सहमति
फाइल तस्बिर ।

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात वर्षपछि छुट्टिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा सो सहमति भएको हो ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा कानुन बनेको सात वर्षपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्टिने प्रावधानमा सहमति भएको हो । समिति सभापति विमला सुवेदीले विधेयकको दफा ४४ को सन्दर्भमा विधेयकमा भएको व्यवस्था अनुसार प्रतिष्ठान र वीर अस्पताल सात वर्षपछि छुट्टिने प्रस्ताव पारित भएको जानकारी दिइन् । 

Argakhachi Cement Island Ad

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सात वर्षको अवधिमा प्रतिष्ठानले आवश्यक पूर्वाधार तयार गर्न नसकेको खण्डमा आपसी समझदारीमा केही समय थप गर्ने व्यवस्था विधेयकमा नै उल्लेख गर्नुपर्ने बताए । 

त्यस्तै, बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि उत्पादनलाई व्यवस्थित गर्न औषधिसम्बन्धी ऐनको मस्यौदा निर्माण काम अन्तिम चरणमा पुगेको र संसदको आगामी अधिवेशनमा पेस गर्ने गरी तयारी भएको बताए । 

मन्त्री पौडेलले औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र र प्रमाणपत्रको नवीकरण हरेक वर्ष गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि प्रमाणपत्रको म्याद बढाउने प्रस्ताव ल्याइएको समेत जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्