केही समयको विश्रामपछि
नदी किनारमा रहेको एउटा डुंगा
नवयात्राको थालनी गर्न थाल्दा
अनन्तकालदेखि किनारमै बसेको
राताम्य एउटा ठूलो ढुंगोले भन्यो–
मलाई पनि लैजा न आफूसँगै
ए काठे डुंगा,
मलाई पनि पारि पुग्ने रहर छ
आइज,
म तँलाई लगिदिन्छु
तेरो रहर पुर्याइदिन्छु–
डुंगाले आह्वान गर्यो
मलाई उचालेर लैजा
म तँजस्तो हलुंगो होइन नि,
म त ईश्वरको शाश्वत प्रतिनिधि पो !
म गह्रुँगो,
देवीदेउताहरूको विकल्प पो !
‘युगौँदेखि अभिशप्त बाँच्न बाध्य
ए ढुंगे,
आफूलाई ईश्वर ठान्छस्
अनि भन्छस्–
म गह्रुँगो छु,
मलाई पानीले पगाल्न सक्दैन
आगोले डढाउन सक्दैन
हावाले उडाउन सक्दैन
तर,
एक पाइला चाल्न नसक्ने अपाहिज
ए ढुंगे,
तेरो यो कस्तो अहम् हँ ?
तँ जति गह्रुँगो भए पनि
अर्काले दलिदिएको अबिरले लतपतिए पनि
आफूलाई ईश्वरको प्रतिनिधि भने पनि
बाँच्न त अपाहिज नै बाँचेको छस्
युगौँयुगौँदेखि
अभिशप्त नै बाँचेको छस् !’