काठमाडौं । नेपालमा आयोजना हुन लागेको बुद्धिज्मसम्बन्धी कार्यक्रममा सहभागी हुन चीनका धर्मगुरु पञ्चेन लामा नेपाल आउन लागेको चर्चा छ । तर, अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल भने पञ्चेन लामा नाम गरेका व्यक्ति अहिलेसम्म नेपाल नआएको बताउँछन् ।
उनले बाह्रखरीसँग भने, “पञ्चेन लामा नेपाल आएको हाम्रो नोटिसमा छैन । उहाँ अरू कसैको पासपोर्टमा आएको भए हामीलाई थाहा हुँदैन । तर उहाँको जे नाम छ, त्यो नाममा नेपाल आएको देखिँदैन ।”
पञ्चेन लामा व्यक्ति नभई पद हो । तिब्बती बौद्ध धर्मावलम्बीले मान्ने उच्च पदमध्ये एक हो, पञ्चेन लामा । पञ्चेन लामा दलाई लामापछिको महत्त्वपूर्ण पद हो । नेपाल आउन लागेका पञ्चेन लामाको खास नाम ग्यात्सेन नोर्बु हो । तिब्बती भाषामा उनलाई चोकी ग्याल्पो पनि भन्ने गरिन्छ ।
कसलाई पञ्चेन बनाउने भन्ने निर्णय दलाई लामाले गर्छन् । तर, नेपाल आउने चर्चा भएका पञ्चेन लामा भने दलाई लामाले नभई चीन सरकारले नियुक्त गरेका पञ्चेन हुन् ।
१५ मे सन् १९९५ मा भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाले गेन्डुन चोकी न्युमालाई ११औँ पञ्चेन लामा नियुक्त गरे । दलाई लामाले गेन्डुनलाई पञ्चेन लामा नियुक्त गरेको दुई दिनपछि चिनियाँ अधिकारीले उनलाई तिब्बतबाट उठाएर लगे । त्यसयता उनको अत्तोपत्तो छैन ।
तिब्बती अभियन्ताहरूका अनुसार उनलाई अहिलेसम्म चीन सरकारले कैदी बनाएर राखेको छ । दलाई लामाले उनलाई पञ्चेन लामा नियुक्त गर्दा उनी ६ वर्षका थिए ।
दलाई लामाले नियुक्त गरेका पञ्चेनलाई अपहरण गरेको ६ महिनापछि चीन सरकारले अर्का एक व्यक्तिलाई पञ्चेन लामा नियुक्त गरेको घोषणा गर्यो । तिब्बती मूलका भए पनि चीनको राजधानी बेइजिङमा पढे/हुर्केका ग्यात्सेन नोर्बुलाइ चीन सरकारले नयाँ पञ्चेन लामा नियुक्त गर्यो ।
सन् २०२० मा दलाई लामाले नियुक्त गरेका पञ्चेन लामा कलेज पढ्दै जागिर गरिरहेका छन् भन्ने दाबी गरेको थियो चीनले । उनलाई सार्वजनिक गरेको उनको निजी जीवनमा खलल नपु¥याउने दाबी गरेको थियो, चीनले ।
चीन सरकारले नै नियुक्त गरेका लामालाई तिब्बती अभियन्ताहरू भने ‘पञ्चेन’ मान्न अस्वीकार गर्छन् । उनीहरू चीनले नियुक्त गरेका पञ्चेन लामालाई, ‘नक्कली पञ्चेन’ ‘पन्जेन जुना’ अर्थात् ‘गलत पञ्चेन’ भनेर आलोचना गर्छन् । तिब्बतीको मानव अधिकारका लागि संघर्ष गरेको दाबी गर्ने चीनले पनि चिनियाँ सरकारले नियुक्त गरेका पञ्चेनलाई अस्वीकार गर्दै आएको छ । १७ मे २०२४ मा चीनस्थित अमेरिकी दूतावासले विज्ञप्ति नै निकालेर उनलाई रिहा गर्न भनेको थियो ।
तिब्बती बौद्ध धर्मावलम्बीको चर्को विरोधका कारण चीन सरकारले आफूले नियुक्त गरेको पञ्चेनको भ्रमण निकै ध्यानपूर्वक गर्ने गर्छ । उनको भ्रमणमा विश्वको जुनसुकै ठाउँमा भए पनि चीन सरकारले सुरक्षा दिन्छ । उनको साथमा चिनियाँ सुरक्षाकर्मी हरदम हुन्छन् ।
चीन सरकारले नियुक्त गरेका पञ्चेन लामा अर्थात् ग्यासियन/ग्याल्टसेन नोर्बु १३ फेब्रुअरी १९९० मा जन्मिएका हुन् । उनी चीनको बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष पनि हुन् । उनी चीन सरकारको सल्लाहकार समितिका पनि सदस्य हुन् ।
विश्वमा धेरैले आलोचना गरे पनि पञ्चेन लामा र चिनियाँ सरकारबीचको घनिष्टतामा अचम्म मान्नुपर्दैन । पञ्चेन लामा चिनियाँ सरकारको पक्षधर भएको यो पहिलोपटक होइन । यसअघिका नवौँ र दशौँ पञ्चेन लामा पनि चिनियाँ सरकारका पक्षधर थिए । तर, यसपटक भने चीन सरकारले नै पञ्चेन लामा नियुक्त गरेका कारण चिनियाँ सरकार उनको वैधताका लागि हरसम्भव प्रयास गरिरहेको छ ।
आफूले नियुक्त गरेका पञ्चेनलाई विश्व समुदायले मान्यता नदेला भन्ने डरले चीनले उच्च तहका बैठकहरूमा पञ्चेन लामालाई पनि सामेल गराउँछ । राष्ट्रिय राजनीतिक सम्मेलनहरूमा मुख्य व्यक्तिका रूपमा आमन्त्रित गर्ने गर्छ । यति मात्र होइन, आन्तरिक र कूटनीतिक मामिलामा पनि चीन सरकारले पञ्चेन लामालाई अगाडि सार्ने गर्छ ।
सन् २०१० मा पञ्चेन लामाले सिंगापुरका विदेशमन्त्री जर्ज येओलाई चीनमा स्वागत गरे । १० जुन २०१५ मा चिनियाँ कम्युनिस्ट पार्टी र चीनको केन्द्रीय सरकार दुवैको मुख्यालयका रूपमा काम गर्ने दरबार झोङनानहाइमा तिब्बतका पञ्चेन लामाको ‘व्याख्यान’ आयोजना गरिएको थियो । उक्त व्याख्यानमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष तथा चीनका राष्ट्रपति सी जिङ पिङ समेत श्रोताका रूपमा सहभागी थिए ।
पञ्चेन लामाहरू र दलाई लामाहरूले एक–अर्कालाई ‘आध्यात्मिक मित्र’ मान्दछन् । तर, तिब्बती बौद्ध धर्मावलम्बीका दुई प्रमुख व्यक्तिबीचको सम्बन्ध भने सुमधुर छैन । अहिलेका पञ्चेन लामालाई दलाई लामाले अस्वीकार गरेझैँ यसअघिका दलाई लामाले पनि १०औँ पञ्चेन लामालाई अस्वीकार गरेका थिए ।
पञ्चेन लामालाई दलाई लामाले अस्वीकार गरेको थाहा पाएपछि नै चीन सरकारले पञ्चेन लामालाई आफ्नो साथमा लियो । र, त्यसयता पञ्चेन लामा चीन सरकारको इसाराअनुसार काम गर्छन् ।
विश्लेषकहरूले अब नयाँ दलाई लामा पनि चीनले नै नियुक्त गर्न सक्ने आकलन गरिरहेका छन् । भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाको मृत्युपछि चीन सरकारले नै दलाई लामा नियुक्त गर्ने सम्भावना छ ।
चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टका अनुसार पञ्चेन लामाको नेपाल भ्रमण पुष्टि भइनसके पनि भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाले आफ्नो उत्तराधिकारी घोषणा गर्न लागेको पूर्वसन्ध्यामा पञ्चेनको भ्रमण हुनु महत्त्वपूर्ण हो । पञ्चेन तिब्बत भ्रमण सकेर नेपाल आउनेबारे साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।