site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भैरहवा विमानस्थलबाट धमाधम उडान स्थगित गर्दै विदेशी कम्पनी
तस्बिर : प्रतापबाबु तिवारीकाे फेसबुक ।

काठमाडौं । भैरहवा विमानस्थलमा उडान गरिरहेका तीन कम्पनीले उडान स्थगित गर्ने भएका छन् । जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयरले मौसमको बहाना बनाउँदै तत्काललाई उडान स्थगित गर्ने पत्र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पठाएका हुन् । 

यसअघि कतार एयरले गत मंसिर १५ गतेसम्म रहेको उडान अनुमति नवीकरण गरेको थिएन । भैरहवा विमानस्थलमा उडान र अवतरण गर्दा हुस्सुका कारण समस्या भएको कारण देखाउँदै थप तीन कम्पनीले पनि उडान स्थगित गर्ने पत्र नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)मा पठाएको सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । यसअघि भैरहवाबाट पाँच अन्तर्राष्ट्रिय कम्पनीले उडान गरिरहेका थिए । एकपछि अर्को विमान कम्पनीले उडान स्थगित गर्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट दीर्घकालीन उडानमा समस्या हुने देखिएको छ । 

कुवेतबाट उडान गर्दै आइरहेको जजिरा एयरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाई दुबई र बैंककबाट उडान गरिरहेको थाई एयर एसियाले भैरहवाबाट उडानका निम्ति मौसम बाधक रहेको पत्र पठाएका हुन् । ती कम्पनीले मौसम खराबीलाई कारण देखाए पनि यात्रु पाउनै गाह्रो भएका कारण उडान स्थगित गर्न खोजेको स्रोत बताउँछ । 

यसअघि भैरहवाबाट उड्ने यात्रु नै नपाएपछि कतार एयरले मंसिर १५ सम्म रहेको उडान नवीकरण गरेन । कात्तिक २७ गतेदेखि भैरहवा उडान गरेको कतार एयरवेजले मंसिर १५ सम्म विमान उडाएको थियो । उक्त अवधिमा कतार एयरवेजले जम्मा ९३ यात्रु बोकेको छ । भैरहवाबाट उड्ने यात्रु नै नपाएपछि कतारले भैरहवाको अनुमति नवीकरण नगरेको त्यहाँकै कर्मचारीहरू बताउँछन् ।

मौसम खराबीको कारण देखाउँदै केही समयका निम्ति उडान स्थगनको अपिलसहित पत्र पठाएको भुलले जनाए । बिहानी समयमा भिजिबिलिटी निकै कम हुने भएकाले पनि विमान कम्पनीहरू तत्कालका निम्ति उडान स्थगन गर्ने निर्णयमा पुगेको उनले बताए । 

साना एटीआरदेखि ठूला जेट विमान अवतरणका निम्ति न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । भिजिबिलिटीमा समस्या देखाएर विमान कम्पनीहरूले  भैरहवाबाट उडान स्थगन गर्न अपिल गरे पनि प्राधिकरणले स्वीकृति दिएको छैन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माणका निम्ति १० घण्टा बन्द भएपछि पाँचवटा कम्पनीले भैरहवातर्फ उडान सुरु गरेका थिए । जजिरा, थाई एयर एसिया, कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्स समेत गरी पाँच कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि तीन कम्पनीको उडान स्थगित भएपछि सरकारी ध्वजाबाहक नेपाल वायु सेवा निगमले मात्रै भैरहवा उडान भर्नेछ । 
 
एक महिनाको अवधिमा भैरहवा विमानस्थलबाट जम्मा चार हजार सात सय ७१ यात्रुले सेवा लिएका थिए । जसमा दुई हजार दुई सय ३८ यात्रु विदेश जाँदा दुई हजार पाँच सय ३३ यात्रु अवतरण गरेका थिए । समे अवधिमा कुल एक सय ५६ उडान/अवतरण भएका थिए । एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ । जजिराले तीन हजार ३४, फ्लाई दुबईले एक हजार १३२, थाई एयर एसियाले चार सय ४७, कतारले ९३ र नेपाल एयरलायन्सले ३९ यात्रु बोकेका थिए ।

काठमाडौंको विमानस्थलबाट ३० प्रतिशत उडान कटौती भएपछि त्यसपछिको प्रमुख गन्तव्य भैरहवा हुने गरी सरकारले विभिन्न छुटसहितको कार्ययोजना ल्याएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ल्याएको कार्ययोजना साउन २८ मा मन्त्रिपरिषदले स्वीकृत गर्‍यो । तर, कार्ययोजनामा अन्य मन्त्रालयले असहयोग गरेपछि भैरहवा उडान दीर्घकालीन नहुने देखिएको छ । साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । 

अन्तर्राष्ट्रिय उडानका निम्ति क्यानका तर्फबाट कुनै समस्या नरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावत बताउँछन् । “क्यानको तर्फबाट उडानमा कुनै समस्या छैन । कुनै पनि विमान उडान र अवतरणमा केही समस्या छैन,” उनले भने, “श्रम भिसा सेन्टरलगायत केही कुरा यहाँ भएको खण्डमा दीर्घकालीन उडान हुन्छ ।”

भैरहवाबाट यात्रु नै नपाएपछि कतारले नवीकरणमा चासो नदिएको र अन्य कम्पनीले पनि बहाना खोजेर उडान बन्द गर्ने तयारीमा लागेको विमानस्थल स्रोत बताउँछ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफ्नो कार्यकालमा सुधारका निम्ति ल्याएको २८ बुँदे कार्ययोजनामा अन्य मन्त्रालयले चासो नदिँदा सञ्चालनमा रहेका विमान कम्पनीले समेत उडान निरन्तरता दिने हुन् वा होइनन् भन्ने अन्योल देखिएको छ । 

पाण्डेले तुरुन्त लागू गर्नेदेखि चार वर्षसम्म सुधार गर्न सकिने कार्ययोजना ल्याएका थिए । तर, अन्य मन्त्रालयका कर्मचारीदेखि मन्त्रीसम्मले त्यसमा खासै चासो नदिएपछि सुधारको कार्ययोजना प्रभावकारी रूपमा लागू गर्न समस्या भएको मन्त्रालयका एक कर्मचारी बताउँछन् । 

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाई सेवाशुल्कमा लाग्ने तीन हजार यात्रु सेवाशुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेसन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुटलगायत कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ । यसमा भ्याट छुट, स्वास्थ्य परीक्षण, श्रम स्वीकृतिलगायत योजना कार्यान्वयन भएको छैन । श्रम स्वीकृतिका निम्ति यात्रु काठमाडौं आउनुपर्ने बाध्यता छ । 

महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गौतम बुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको उल्लेख छ । भैरहवाको गौतम बुद्ध विमानस्थल निर्माणका निम्ति ३० अर्ब ९१ करोड र पोखरा विमानस्थलका निम्ति २२ अर्ब रुपैयाँ सुरुवाती लागत भए पनि समय र लागत बढेर खर्च ६१ अर्ब पुगेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्न अर्थ मन्त्रालयले चिनियाँ पक्षलाई पत्र समेत लेखेको छ । पोखरा विमानस्थलका निम्ति सरकारले चीनको एक्जिम बैंकबाट हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (एक अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो ।

गौतमबुद्ध विमानस्थल निर्माण गर्न सरकारले एसियाली विकास बैंक (एडीबी) र ओपेक कोषबाट सहुलियतपूर्ण ऋण र अनुदान गरी ४ अर्ब ९१ करोड लिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro